अमेरिकाकी महिला क्रिकेटर वाघेला निलम्बित
काठमाडौं / अमेरिकी महिला क्रिकेट टोलीकी सिम बलर इसानी वाघेलालाई अन्तर्राष्ट्रिय क्रिकेटमा बलिङ गर्न तत्काल प्रभावबाट निलम्बन गरिएको छ।
आईसीसीको इभेन्ट प्यानलले वाघेलाको बलिङ एक्सन अवैध रहेको पुष्टि गरेपछि यो निर्णय लिइएको हो।
आईसीसी महिला टी–२० विश्वकप छनोट २०२६ अन्तर्गत नेपालमा सम्पन्न आयरल्यान्डविरुद्धको खेलपछि खेल अधिकारीहरूले वाघेलाको बलिङ एक्सनमाथि रिपोर्ट गरेका थिए।
त्यसपछि इभेन्ट प्यानलले वाघेलाको पछिल्लो खेलको भिडियो फुटेजको समीक्षा गर्दै उनको बलिङ एक्सन आईसीसी नियमअनुसार अवैध भएको निष्कर्ष निकालेको हो। त्यसअनुसार नियमावलीको धारा ६.७ बमोजिम उनलाई अन्तर्राष्ट्रिय क्रिकेटमा बलिङ गर्न निलम्बन गरिएको छ।
आईसीसीले जनाएको अनुसार वाघेलाले आफ्नो बलिङ एक्सनको पुनः परीक्षण (री–असेस्मेन्ट) गराएर अवैध एक्सन प्रयोग नगरी बलिङ गर्न सक्ने पुष्टि नभएसम्म यो निलम्बन कायम रहनेछ।














