राष्ट्रिय लिगः त्रिभूवन आर्मी र प्लानिङ ब्वाइज युनाइटेडलाई तेस्रो जित
काठमाडौं / गोलकिपर योगेश धिमालको उत्कृष्ट प्रदर्शनमा प्लानिङ ब्वाइज युनाइटेडले आईतवार काक्रे बिहारलाई हराउँदै राष्ट्रिय लिगमा तेस्रो जित निकालेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा प्लानिङले आईतवार काक्रे बिहारमाथि ३–० को नतिजा निकाल्दै जारी लिगमा तेस्रो जित आत्मसात गरेको हो ।
प्लानिङको जितमा गोलकिपर योगेशले उत्कृष्ट प्रदर्शन गरे । प्लानिङलाई जित दिलाउन बबिन बोहरा, रोमन भुजेल र हेमन लिम्बूले गोल गरे । लिगमा प्लानिङको यो तेस्रो जित हो । यो नतिजासँगै पाँच खेलबाट १० अंक जोड्दै प्लानिङले दुई स्थान सुधार गर्यो ।
समान खेल खेलेको काँक्रे बिहारले सबै खेलमा नतिजा सुम्पिएको छ । प्लानिङ ब्वाइजले पहिलो हाफमा दुई गोल र दोस्रो हाफमा एक गोल गरेको हो ।
खेलको पाँचौं मिनेटमा नै प्लानिङ ब्वाइजले अग्रता लिएको थियो । बबिनले गोल गरेका हुन् । १२औं मिनेटमा नै प्लानिङ ब्वाइजले अग्रता दोब्बर बनायो । रोमनले गोल गर्दै प्लानिङ ब्वाइजलाई २–० ले अगाडि बढाएका हुन् । त्यसपछि पहिलो हाफमा थप गोल हुन सकेन ।
दोस्रो हाफमा पनि प्लानिङ ब्वाइजले एक गोल थप्यो । काक्रे बिहारले दोस्रो हाफमा सुधारिएको प्रदर्शन गर्यो । खेलको इन्जुरी समयमा हेमनले गोल गर्दै प्लानिङ ब्वाइजको ३–० को जित दिलाए ।
नवयुग श्रेष्ठको दुई गोल प्रेरणमा विभागीय टोली त्रिभुवन आर्मी क्लवले राष्ट्रिय लिगमा तेस्रो जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमवार भएको खेलमा आर्मीले श्री भगवती क्लवलाई ३–१ गोलअन्तरले पराजित गर्दै लिगमा चौथो जित निकालेको हो । आर्मीको जितमा नवयुग श्रेष्ठले दुई गोल र जिलेस्पीजंग कार्कीले एक गोल गरे । श्री भगवतीले अग्रता जोगाउन नसक्दा हार बेहोरेको हो । श्री भगवतीका लागि अजित लामाले एक गोल गरे ।
खेलको १२औं मिनेटमा अजित लामाले गोल गर्दै श्री भगवतीलाई अग्रता दिलाएका थिए । तर, आर्मीले पहिलो हाफमै खेलमा पुनरागमन गर्यो । आर्मीका जिलेस्पीजंगले ३४औं मिनेटमा बराबरी गोल गरे । पहिलो हाफमा खेल १–१ को बराबरीमा सकियो । दोस्रो हाफमा आर्मीले दुई गोल थप्दै उत्कृष्ट पुनरागमन ग¥यो । दोस्रो हाफमा आर्मीले खेलमा पकड कायम राख्यो ।
५८औं मिनेटमा नवयुगको गोलमार्फत आर्मीले अग्रता २–१ मा पुर्यायो । खेलको इन्जुरी समयमा आर्मीले तेस्रो गोल गर्यो । नवयुगले व्यक्तिगत दोस्रो गोल गरे । त्यसपछि दुवै टोलीबाट थप गोल हुन सकेन र खेल आर्मीको पक्षमा समाप्त भयो । खेलमा उत्कृष्ट प्रदर्शन गरेका आर्मीका कप्तान जिलेस्पीजंग कार्की प्लेयर अफ द म्याच घोषित भए ।
–न्युज एजेन्सी नेपाल

















