अमेरिकी न्याय विभागद्वारा एपस्टिन फाइलका ३० लाख पृष्ठहरू सार्वजनिक
वासिङ्गटन डीसी / अमेरिकी न्याय विभागले जेफ्री एपस्टिनका ३० लाख भन्दा बढी पृष्ठका नयाँ फाइलहरू सार्वजनिक गर्ने घोषणा गरेको छ ।
यो अमेरिकी कंग्रेसले सबै सम्बन्धित फाइलहरू सार्वजनिक गर्न तोकेको समयसीमा भन्दा एक महिना ढिलो हो ।
सन् २०२४ को राष्ट्रपति निर्वाचन अभियानका क्रममा डोनाल्ड ट्रम्पले निर्वाचित भएमा एपस्टिन प्रकरणसँग सम्बन्धित ग्राहक सूची लगायतका कागजातहरू सार्वजनिक गर्ने प्रतिवद्धता जनाएका थिए।
१८ नोभेम्बर २०२५ मा अमेरिकी कंग्रेसले भारी बहुमतका साथ एपस्टिन प्रकरणसँग सम्बन्धित फाइलहरू १९ डिसेम्बरसम्ममा सार्वजनिक गर्नुपर्ने विधेयक पारित गरेको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भोलिपल्टै उक्त विधेयकमा हस्ताक्षर गरेका थिए।
१९ डिसेम्बरदेखि विभागले कागजातहरू चरणवद्ध रूपमा सार्वजनिक गर्न थालेको थियो । तर ठूलो अंश सम्पादन गरिएको र केही तस्बिरहरू वेबसाइटबाट हटाइएकाले आलोचना भएको थियो ।
कागजातको पहिलो समूहमा पूर्व राष्ट्रपति बिल क्लिन्टनको धेरै सन्दर्भहरू पाइएपछि विभागले चयनात्मक रूपमा फाइलहरू सार्वजनिक गरेको आरोप लागेको थियो । २३ डिसेम्बर २०२५ मा विभागले ट्रम्पसँग सम्बन्धित करिव ३० हजार पृष्ठका नयाँ कागजातहरू सार्वजनिक गरेको थियो ।
जसमध्ये केही सामग्रीलाई विभागले पछि असत्य भएको बताएको थियो । जनवरीको शुरुमा विभागले हालसम्म सार्वजनिक गरिएका फाइलहरू कुल कागजातको १ प्रतिशतभन्दा कम रहेको र २० लाखभन्दा बढी कागजातहरू अझै समीक्षाको क्रममा रहेको जानकारी दिएको छ ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

















