पेन्सिल्भेनिया ल्यानक्यास्टरमा तेक्वान्दो सिक्दै आमाहरू
ल्यानक्यास्टर पेन्सिल्भेनिया/ अमेरिकाको पेन्सिल्भेनिया राज्यको ल्यानक्यास्टरमा नेपाली भाषी आमाहरू तेक्वान्दो सिक्न थालेका छन्। छोराछोरीलाई प्रशिक्षणका लागि ल्याउँदा सुरु भएको यो यात्रा अहिले उनीहरूकै आत्मविश्वास, अनुशासन र स्वास्थ्यसँग जोडिएको छ।
सञ्चालिका तथा प्रशिक्षक ममिता सुवेदीका अनुसार एभरेष्ट वर्ल्डक्लास तेक्वान्दो, ल्यानक्यास्टरमा हाल पाँच जना नेपाली भाषी आमाहरू नियमित रूपमा तेक्वान्दो अभ्यास गरिरहेका छन्। सुरुमा बच्चाहरूलाई कुर्दै बसेका उनीहरू ‘किन आफैं नगर्ने?’ भन्ने सोचसँगै नियमित प्रशिक्षणमा उत्रिएका हुन्।
३५ वर्षीया बिष्णु पौडेल करिब डेढ वर्षदेखि तेक्वान्दो सिकिरहेकी छन्। उनी दुई सन्तानकी आमा हुन्।
“पहिला त नानीको इन्ट्रेस्ट थियो। नानीलाई लिएर आउँदा हामी त्यत्तिकै कुर्नु पर्थ्यो। घर जान पनि टाढा। त्यसैले साथीहरूसँग कुरा गरेर हामी पनि ट्राइ गर्यौं।”सन्तान सँगै आफै प्रशिक्षणमा उत्रिएको कारण बिष्णुले खोलिन।
सुरुका केही दिन अप्ठ्यारो लागेको बिष्णुको अनुभव छ ।
“एक–दुई दिन अलिक अड फिल भयो। तर त्यसपछि बानी बस्यो। अहिले त एकदमै मज्जा लाग्छ।”समाज टाइम्स सँगको कुराकानीमा उनले भनिन्।
तेक्वान्दोले आफूमा धेरै परिवर्तन ल्याएको बिष्णु बताउँछिन्।
“कन्फिडेन्स धेरै बढेको छ। डिसिप्लिन, रेस्पेक्ट सिकिएको छ। शरीर पनि धेरै फ्लेक्सिबल भएको महसुस हुन्छ।”

३० वर्षीया जस्सु पौडेल पनि बच्चाहरूलाई तेक्वान्दो कक्षामा ल्याउँदै गर्दा आफैं सिक्न थालिन्।
“एक घण्टा बच्चा कुर्नु पर्थ्यो। त्यसैले आफैं पनि जोइन गरौं भनेर लाग्यौं,” उनी भन्छिन्।
सुरुमा अभ्यास गाह्रो भए पनि अहिले तेक्वान्दो दैनिकी जस्तै बनेको जस्सु बताउँछिन्।
“पहिलो एक हप्ता त गाह्रै भयो। त्यसपछि बानी बस्यो। अहिले त प्रायः हरेक दिन आउन मन लाग्छ।”
जस्सुले तेक्वान्दो सिक्न थालेको दुई वर्ष हुन लाग्यो । उनी अहिले हायर ग्रिन बेल्टमा छिन्। यो बीचमा जस्सुले बाल्टिमोरमा भएको प्रतियोगितामा पनि सहभागी भइसकेकी छन्।
“पहिला त लाज लाग्थ्यो। अहिले कन्फिडेन्स धेरै बढेको छ,” उनी भन्छिन्। जस्सुको लक्ष्य—ब्ल्याक बेल्ट लिने रहेको छ ।
बेदा गौतम करिब डेढ वर्षदेखि तेक्वान्दो अभ्यास गरिरहेकी छन्। सानो छोरा खेल्न नमानेपछि आफू नै डोजोमा उत्रिएको उनी बताउँछिन्।
“तीन सन्तान छन्। ब्ल्याक बेल्ट ल्याउने धोको छ,” उनी मुस्कुराउँदै भन्छिन्।
छोराछोरीसँगै सिक्ने, पसिना बगाउने र आत्मविश्वास बढाउने यी आमाहरूका लागि तेक्वान्दो अब दैनीकी बनेको छ।


















