बाल्टिमोरको चिसोमा नेपाली लोकसंगीतको ताप : राजु परियार–बिमाकुमारी दुरासहितको लाइभ
बाल्टिमोर मेरिल्याण्ड / मेरिल्याण्ड राज्यको बाल्टिमोर शहर र आसपासको मौषम आजभोलि औधी चिसो छ। हिउँ सँग खासै अभ्यस्त नभएका बाल्टिमोरबासीलाई यो चिसोमा नेपाली संगित क्षेत्रका चर्चित गायक गायिकाहरूले तताउने भएका छन्।
लमजुङ अमेरिका सेवा समाजको आयोजनामा फेब्रुअरी १, आइतबार नेपाली लोकसंगीतका मूर्धन्य गायक राजु परियार र सदाबहार गायिका बिमाकुमारी दुरा सहितका कलाकारहरूको भव्य साङ्गीतिक कार्यक्रम आयोजना हुँदैछ।
कार्यक्रमबारे समाज टाइम्स संवादमा बोल्दै लमजुङ अमेरिका सेवा समाजका संस्थापक अध्यक्ष शशि थापा, अध्यक्ष सागर कुँवर र सचिव प्रेम कमलीले तयारी अन्तिम चरणमा पुगेको र कार्यक्रम भव्य तथा सभ्य रूपमा सम्पन्न गरिने बताएका छन्।
संस्थापक अध्यक्ष शशि थापाका अनुसार यो कार्यक्रम विशेषगरी राजु परियारको पहिलो पटक बाल्टिमोरमा प्रत्यक्ष प्रस्तुति हुन लागेको कार्यक्रम हो।
“मौसम निकै चिसो भए पनि हलभित्र राजु परियार, बिमाकुमारी दुरा लगायतका कलाकारको स्वरले सबैलाई न्यानो बनाउनेछ,” थापाले भने।
समाजका अध्यक्ष सागरका अनुसार कार्यक्रममा राजु परियार र बिमाकुमारी बाहेक शान्ति भण्डारी, भगवान भण्डारी, चन्द्र शर्मा र बालकाशी गुरुङ लगायतको प्रस्तुति रहने छ।
समाजका सचिव प्रेम कमलीका अनुसार कार्यक्रमको विशेष आकर्षणका रूपमा राजु परियार र शान्ति भण्डारीबिच दोहोरी रहने छ।
कार्यक्रममा स्थानीय कलाकारहरूको नृत्य समेत रहने छ। ‘कार्यक्रमको सुरुआत बालबालिकाको सांस्कृतिक नृत्यबाट हुनेछ। त्यसपछि स्थानीय कलाकारको प्रस्तुति, एकल गायन र अन्त्यतिर दोहोरी कार्यक्रम सञ्चालन गरिनेछ।’ समाज टाइम्स संवादमा समाजका संस्थापक अध्यक्ष थापाले भने।
सचिव कमलीका अनुसार फेब्रुअरी १, आइतबार साँझ ६:०० बजे देखि राति १२:०० बजेसम्म (1700 Van Bibber Rd, Edgewood, MD 21040) मा कार्यक्रम हुने छ।
कार्यक्रम सञ्चालन साजन बोहोराले गर्ने छन्।
आयोजकका अनुसार कार्यक्रममा दुई प्रकारका टिकटको व्यवस्था गरिएको छ। साधारण तर्फ २५ र भिआइपीमा एक सय डलरको टिकट मूल्य तोकिएको छ।
कार्यक्रम स्थलमा पार्किङको समस्या नहुने आयोजकले बताएका छन्। हिमपातपछि पार्किङ क्षेत्र पूर्ण रूपमा सफा गरिएको र दर्शकलाई असहज नहुने व्यवस्था मिलाइएको छ।
अध्यक्ष सागर कुँवरले मौसम चिसो भए पनि कार्यक्रम स्थल भित्र न्यानो वातावरण रहने बताउँदै बाल्टिमोर, भर्जिनिया, न्यु योर्क लगायत आसपासका राज्यमा बसोबास गर्ने सबै नेपालीलाई कार्यक्रममा उपस्थित हुन आग्रह गरेका छन्।
सचिव प्रेम कमलीले मिति परिवर्तनका कारण उत्पन्न अन्योल हटाउँदै कार्यक्रम फेब्रुअरी १ मै हुने स्पष्ट पारेका छन्।
सन् २०१७ मा स्थापना भएको लमजुङ अमेरिका सेवा समाज ५०१ (सी)(३) अन्तर्गत दर्ता भएको गैरनाफामूलक संस्था हो।
संस्थाले नेपालमा बाढी–पहिरो पीडितलाई सहयोग, आपत्कालीन राहत तथा सामाजिक सेवामूलक गतिविधि गर्दै आएको जनाएको छ। हाल संस्थामा करिब ९० भन्दा बढी सदस्य आबद्ध छन्।
आयोजक सँगको समाज टाइम्स संवाद















