आंशिक सरकारी कामकाज ठप्प हुने जोखिमका बीच अमेरिकी सिनेटमा बजेट प्याकेज असफल
वासिङ्गटन डीसी/ अमेरिकी सिनेटले अध्यागमन नीतिका विषयमा उत्पन्न विवादका बीच बजेट प्याकेज अघि बढाउन असफल भएको छ ।
जसले आंशिक सरकारी कामकाज ठप्प हुने (सटडाउन) जोखिम बढाएको छ ।
माथिल्लो सदनमा भएको प्रक्रियागत मतदानमा प्रश्तावको पक्षमा ४५ र विपक्षमा ५५ मत परेको थियो । जुन तल्लो सदनबाट स्वीकृत बजेट प्याकेजलाई अघि बढाउन आवश्यक ६० मतको थ्रेसहोल्डभन्दा कम हो ।
सिनेटमा डेमोक्र्याटहरूको ४७ सिट रहेको अवस्थामा, मतदानको नतिजाले केही रिपब्लिकन सदस्यहरूले पनि उक्त योजनाको विपक्षमा मतदान गरेको देखाएको छ ।
मिनियापोलिसमा संघीय सुरक्षाकर्मीहरूद्वारा हालै भएका दुई घातक गोलीकाण्डपछि डेमोक्र्याटहरूले अध्यागमन एजेन्सीहरूको कार्यशैलीमा परिवर्तन ल्याउन जोड दिएका छन् ।
सिनेटका अल्पमतका नेता चक शुमरले जबसम्म अध्यागमन र भन्सार प्रवर्तनलाई विधायीकी रूपमा सुधार र नियन्त्रण गरिँदैन तबसम्म गृह सुरक्षा विभागको बजेट विधेयक पारित हुन आवश्यक मत पुग्दैन ।
अर्कोतर्फ सिनेटका बहुमतका नेता जोन थुनले अन्य पाँचवटा बजेट विधेयकहरू पारित गर्ने र गृह सुरक्षा विभागका लागि अल्पकालीन निरन्तरता प्रश्तावमा विचार गर्ने विकल्प खुला राख्ने बताएका छन् ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

















