कामदार अभावको समाधान : ट्रम्प प्रशासनले एच-२ बी सिजनल श्रमिक भिसा उपलब्ध गराउने
कार्लाल, पेन्सिलभेनिया / ट्रम्प प्रशासनले आगामी सेप्टेम्बर ३० तारिखसम्म सिजनल गेस्ट श्रमिक भिसा थप गर्ने घोषणा गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले करिब ६५ हजार एच–२ बी सिजनल गेस्ट श्रमिक भिसा थप गर्ने घोषणा गरेको फेडरल रजिस्टरमा सूचना प्रकाशित भएको छ ।
एच–२ बी भिसा विशेष गरी ती रोजगारदाताहरूलाई उपलब्ध गराइनेछ, जो अमेरिकी कामदार अभावका कारण गम्भीर वित्तीय सङ्कटको जोखिममा छन् ।
यो कदमले प्रत्येक वर्ष ६६ हजार भिसा उपलब्ध गराइने मौलिक सङ्ख्या झन्डै दुई गुणा बढाउने देखिएको जनाइएको छ । यसबाट निर्माण, हस्पिटालिटी, ल्यान्डस्केपिङ र समुद्री खाना प्रशोधन जस्ता उद्योगका अमेरिकी रोजगारदाताहरूलाई आवश्यक कामदार खोज्न सहज बनाउने उद्देश्य राखिएको छ ।
राष्ट्रपति ट्रम्प सन् २०२५ मा ह्वाइट हाउसमा फर्किएपछि व्यापक आप्रवासनमा कडाइ सुरु गरेका थिए । उनको प्रशासनले कानुनी आप्रवासनका विभिन्न रूपहरूमा पनि कडाइ गदै आइरहेको छ ।
पूर्व राष्ट्रपति जो बाइडेनले पनि केही अवधिमा भिसा सङ्ख्या बढाएका थिए । त्यस्तै राष्ट्रपति ट्रम्पले आफ्नो सन् २०१७ देखि २०२१ सम्मको कार्यकालमा पनि यसमा विस्तार गरेका थिए ।
सिजनल व्यवसाय, जस्तै होटल उद्योगका रोजगारदाताहरूले बढी भिसाका लागि माग राखेका छन् । केही निर्माण व्यवसायहरूले ट्रम्प प्रशासनको कडा आप्रवासन नीतिका कारण कामदार अभाव भोगेको गुनासो समेत गरेका छन् ।
ट्रम्प प्रशासनले प्रविधि उद्योगका लागि एच–१ बी भिसा पाउन कठिन बनाएको छ । जसमा १ लाख डलर शुल्क थपिनुका साथै यसलाई लिएर कानुनी चुनौती पनि थपिएको छ ।
थप जानकारी एच–२ बी भिसा उपलब्ध गराउने अस्थायी नियम फेडरल रजिस्टरमा आगामी मङ्गलवार औपचारिक रूपमा प्रकाशित गरिने छ ।

















