विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारसहित ५ जनाको मृत्यु
नयाँ दिल्ली /भारतको पश्चिमी राज्य महाराष्ट्रका उपमुख्यमन्त्री ६६ वर्षीय अजित पवार सवार एक निजी विमान बुधवार पुणे जिल्लाको बारामती विमानस्थलमा दुर्घटनाग्रस्त भएको छ ।
मुम्बईबाट करिव २४९ किलोमिटर दक्षिण–पूर्वमा रहेको बारामती विमानस्थलमा अवतरण गर्ने प्रयास गर्दा विमान दुर्घटनामा परेको थियो ।
भारतको नागरिक उड्डयन नियामक निकाय, नागरिक उड्डयन महानिर्देशनालयकाअनुसार विमानमा सवार सबैको निधन भएको छ ।
मृत्यु हुनेमा उपमुख्यमन्त्री पवारका साथै दुई पाइलट, एक व्यक्तिगत सुरक्षा अधिकारी र एक सहयोगी रहेका छन् । विमान अवतरणका क्रममा नियन्त्रण बाहिर गई भुइँमा बज्रिएपछि तत्कालै आगो लागेको थियो ।
उपमुख्यमन्त्री पवार जारी ग्रामीण निकायको चुनावका लागि चुनावी र्यालीलाई सम्बोधन गर्न मुम्बईबाट पुणे जाँदै थिए।
दुर्घटनाग्रस्त विमान नयाँ दिल्लीमा आधारित भीएसआर भेन्चर्स प्राइभेट लिमिटेडको थियो । जसले माग अनुसार निजी चार्टर उडानहरू सञ्चालन गर्ने गर्दछ ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

















