तीन सन्तानकी आमा ममिताको तेक्वान्दो कमब्याक : एउटै परिवारमा चार ब्ल्याक बेल्ट
ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ ९० को दशक। दक्षिण एसियाको सानो देश भूटानमा नेपाली भाषी समुदायमाथि राज्यद्वारा गरिएको दमनले हजारौँ परिवार आफ्नो जन्मथलो छोड्न बाध्य भए।
तीमध्ये एक परिवार थियो—ममिताको परिवार। बाल्यकालमै देशविहीन बन्नुपरेकी ममिता सुवेदी पनि त्यही पीडादायी इतिहासको साक्षी हुन्।
भूटानबाट लखेटिएपछि पूर्वी नेपालका शरणार्थी शिविरहरूमा बितेको जीवन सजिलो थिएन। अस्थायी टहराहरू, सीमित सुविधा, अनिश्चित भविष्य—तर त्यही कठिन परिवेशमा ममिताको जीवनले एउटा बलियो मोड लियो। त्यो मोड थियो तेक्वान्दो।
शरणार्थी शिविरमै सुरु भएको तेक्वान्दोको यात्रा
ममिता सुवेदी भन्छिन्, “म करिब १०–११ वर्षको हुँदाखेरि शरणार्थी क्याम्पमै तेक्वान्दो सुरु गरेकी हुँ।”
उनको पहिलो गुरु आफ्नै दाइ—मणि कुमार क्षेत्री। दाइ स्वयं ब्ल्याक बेल्ट धारक थिए। शरणार्थी क्याम्पमा तेक्वान्दो कुनै खेलभन्दा बढी अनुशासन र आत्मरक्षाको माध्यम थियो।
त्यसपछि मणिकुमार राई, झलक राईजस्ता समर्पित प्रशिक्षकहरूको मार्गदर्शनमा ममिताले तेक्वान्दोमा गहिरो लगाव विकास गरिन्। सुरुमा डर लाग्थ्यो, मन पर्दैनथ्यो। तर दाइको कडाइ, निरन्तर अभ्यास र परिस्थितिले उनलाई अघि बढायो।
“पहिला मन पर्दैनथ्यो,” ममिता मुस्कुराउँदै सम्झिन्छिन्, “तर पछि बुझ्दै जाँदा ब्ल्याक बेल्टसम्म पुग्छु भन्ने लक्ष्य बन्यो।”
नेपालमै प्रतिस्पर्धा, सीमित अवसर र संघर्ष
शरणार्थी भएकै कारण अवसरहरू सीमित थिए। देशबाहिर जाने त परै जाओस्, नेपालभित्र पनि औपचारिक पहिचानमा खेल्न सजिलो थिएन। झापा, मोरङ, इलाम हुँदै कहिलेकाहीँ अर्काको नाममा काठमाडौँसम्म पुगेर ओपन च्याम्पियनशिप खेलेको अनुभव ममितासँग छ।
“इलामकी कुमारी राईको नामबाट खेलेर काठमाडौँ पुगेकी थिएँ,” उनी भन्छिन्, “त्यही प्रतियोगितामा तेस्रो भएको थिएँ । त्यो मेरो लागि ठूलो उपलब्धि थियो।”
२००३ मा बिर्तामोडमा विजय न्यौपानेको प्रशिक्षणमा ममिताले ब्ल्याक बेल्ट प्राप्त गरिन्। त्यो क्षणले उनलाई केवल खेलाडी होइन, प्रशिक्षक र रोल मोडलको बाटोमा उभ्यायो।
अमेरिका पुनर्वास : आमा भए पछि तेक्वान्दोमा कमव्याक
२००९ मा ममिता सुवेदी अमेरिका आइन्। धेरै आप्रवासीहरूजस्तै उनको पनि जीवन नयाँ संघर्षले भरियो—काम, परिवार, भाषा, संस्कृतिको दबाब। तेक्वान्दो केही समय उनका प्राथमिकताबाट बाहिरियो।
“अमेरिका आएपछि तेक्वान्दो दिमागबाटै हटेको जस्तो भयो,” उनी स्वीकार्छिन्।
तर जब छोराछोरी जन्मिए, आमाको मन फेरि तेक्वान्दोतर्फ फर्कियो।
“म चाहन्थेँ—मेरो बच्चाहरूले पनि मार्शल आर्ट सिकुन्। अनुशासन, आत्मविश्वास र आत्मरक्षा सिकोस्।”
बाल्टिमोर, मेरिल्याण्डमा बस्दै गर्दा नजिकैको क्याम्पो करातेमा छोराछोरीलाई भर्ना गरिन्। सुरुमा बच्चाहरू डराए, आनाकानी गरे। तर ममिता हार मान्ने आमा होइनन्।
पेन्सिल्भेनिया बसाई सराइ पछि नयाँ अध्याय
२०२१ मा सुवेदी परिवार पेन्सिल्भेनियाको योर्क सरेपछि ममिताको तेक्वान्दो यात्रा पुनः सक्रिय भयो। हिमालयन तेक्वान्दो ह्यारिसबर्गका संचालक तथा मुख्य प्रशिक्षक नकुल शर्माको सम्पर्कले उनलाई फेरि डोजाङतर्फ फर्कायो।
मास्टर कुमार कार्की र नकुल शर्माको प्रेरणाले ममिता फेरि प्रशिक्षक बन्ने यात्रामा होमिइन्। लामो ग्यापपछि निरन्तर अभ्यास गर्दै उनले डिसेम्बर २०२५ मा थर्ड डान ब्ल्याक बेल्ट प्राप्त गरिन्।
त्यो दिन केवल ममिताको मात्र थिएन। एउटै घरमा चार जना ब्ल्याक बेल्ट । त्यही ग्रेडिङमा ममिताका श्रीमान सोनु सुवेदी, छोरी एञ्जल र जेठो छोरा एडेमिनले पनि ब्ल्याक बेल्ट प्राप्त गरे।
एउटै घरमा चार जना ब्ल्याक बेल्ट—यो केवल खेलको उपलब्धि होइन, पारिवारिक अनुशासन र समर्पणको प्रतीक हो।
“एकदमै प्राउड फिल हुन्छ,” ममिता भन्छिन्, “सजिलो थिएन। बच्चा साना थिए, टाढा–टाढा क्लास लानुपर्थ्यो। कहिले मान्दैनथे। तर ‘हामीले यो गर्नुपर्छ।’ भन्ने सोचले यहाँसम्म ल्यायो।”
सोनु सुवेदी : ४० वर्षपछि तेक्वान्दो सुरु, चार वर्षमा ब्ल्याक बेल्ट
ममिताका श्रीमान फुटबल खेलाडी सोनु सुवेदीका लागि तेक्वान्दो नयाँ थियो। २०२१ मा, करिब ४० वर्षको उमेरमा उनले तेक्वान्दो सुरु गरे—नानीहरूसँगै।
“लेट सुरु गरेँ,” सोनु भन्छन्, “तर यसले मेरो जीवन नै बदलिदियो।”
फुटबलले दिएको फिटनेसमा तेक्वान्दोले अनुशासन, लचकता र मानसिक बल थपिदियो। चार वर्षमै ब्ल्याक बेल्ट।
“ब्ल्याक बेल्टले जिम्मेवारी पनि बढाउँछ,” उनी भन्छन्, “अब सिकाइ कहिल्यै सकिँदैन भन्ने महसुस हुन्छ।”
एञ्जल र एडेमिन : नयाँ पुस्ताको आत्मविश्वास
१५ वर्षीया एञ्जल सुवेदी भन्छिन्, “घरमा सबैजना एउटै खेल खेल्दा रमाइलो हुन्छ। ब्ल्याक बेल्टपछि अरूले रिस्पेक्ट गर्छन्, आफैंलाई पनि गर्व लाग्छ।”
११ वर्षका एडेमिन त अझै उत्साहित छन्।
“चार वर्ष सिकेँ,” उनी भन्छन्, “पहिला आमाले भनेपछि सिकेँ, अहिले आफैं सिक्छु।”
एभरेष्ट वर्ल्ड क्लास तेक्वान्दो : केवल स्कूल होइन, परिवार
आज ममिता सुवेदी पेन्सिल्भेनियाको ल्यानक्यास्टरमा ‘एभरेष्ट वर्ल्ड क्लास तेक्वान्दो’ की संचालिका तथा प्रशिक्षक हुन्।
स्कूल तेस्रो वर्षमा प्रवेश गर्दैछ। ८० भन्दा बढी विद्यार्थी, फेमिली क्लास, एडल्ट क्लास, आमाहरूका विशेष सेसन—सबैका लागि खुला डोजाङ।
एभरेष्ट वर्ल्ड क्लास तेक्वान्दो बाल्टिमोरका संचालक तथा मुख्य प्रशिक्षक तथा एभरेष्ट वर्ल्ड क्लास तेक्वान्दो ल्यानक्यास्टरका सह संचालक मास्टर कुमार कार्की भन्छन्,“ममता बहिनीको यात्रा प्रेरणादायी छ। शरणार्थी जीवनबाट यहाँसम्म आइपुग्नु सामान्य कुरा होइन। उहाँको परिवार नै ‘तेक्वान्दो फ्यामिली’ बनेको छ।”
कार्कीका अनुसार तेक्वान्दो केवल किक र पञ्च होइन—यो जीवनशैली हो।
“फिजिकल, मेन्टल र सोसल—तीनै पक्ष विकास गर्छ,” उनी भन्छन्।
समुदायको रोजाइ बन्दै एभरेष्ट
एभरेष्ट वर्ल्ड क्लास तेक्वान्दो ल्यानक्यास्टरमा नेपाली भाषी समुदाय मात्र होइन, अन्य समुदायका सदस्यहरू पनि आकर्षित भइरहेका छन्। २९ वर्षका डेविट रिवाला त्यसमध्ये एक हुन्। उनी करिब चार–पाँच महिनाअघि, गत अक्टोबरदेखि तेक्वान्दो सिक्न थालेका हुन्।
लचकता बढाउने र आत्मरक्षाका सीप सिक्ने उद्देश्यले तेक्वान्दो रोजेका डेविट भन्छन्, “अहिले पनि सिक्ने प्रक्रियामै छु, तर सुरु गरेदेखि मेरो फ्लेक्सिबिलिटी धेरै बढेको छ र उपयोगी सेल्फ–डिफेन्स स्किल्स सिक्दै छु।”
छोटो समयको यात्रा भए पनि आफ्नो अनुभव उत्कृष्ट रहेको बताउँदै डेविट भन्छन्, “यहाँ एभरेष्ट तेक्वान्दोमा सबैजना परिवारजस्तै छन्। प्रशिक्षकहरूले केवल खेल मात्र होइन, व्यक्तित्व विकासमा पनि सहयोग गर्छन्।”
४३ वर्षका आर्ट प्रोफेसर म्याथु एप्पोल आफ्ना ५ वर्षका छोरासँगै यहाँ तेक्वान्दो सिक्दै छन्।
“यो नै त्यस्तो स्कूल हो जहाँ बुवा–छोरा सँगै सिक्न पाउँछौं,” उनी भन्छन्।
संघर्षबाट शक्ति, खेलबाट जीवन
ममिता सुवेदीको कथा केवल एउटा खेलाडीको होइन। यो कथा हो—शरणार्थी पहिचानबाट आत्मनिर्भर महिला बन्ने यात्राको।
यो कथा हो—आमाले परिवारलाई अनुशासन र आत्मविश्वासमा बाँधेको। यो कथा हो—समुदायलाई खेलमार्फत जोड्ने साहसको।
शरणार्थी शिविरबाट सुरु भएको तेक्वान्दो यात्रा आज अमेरिकाको ल्यानक्यास्टरमा सयौँ बालबालिका र अभिभावकको जीवन बदल्दैछ।
र ममिता सुवेदी आज पनि डोजाङमा उभिएर भन्छिन्—
“हामी गर्न सक्छौ”

















