मधेश प्रदेशमा हराउने व्यक्तिहरूको संख्या डर लाग्दो : प्रदेश प्रहरी कार्यालय
जनकपुर । मधेश प्रदेशमा हराउने (सम्पर्कविहीन) व्यक्तिहरूको संख्या डर लाग्दो रहेको मधेश प्रदेश प्रहरी कार्यालयले जानकारी गराएको छ ।
बुधबार (आज) जनकपुरधामस्थित मधेश प्रदेश प्रहरी कार्यालयद्वारा आयोजित पत्रकार सम्मेलनमा प्रस्तुत एक तथ्याङ्कले मधेश प्रदेशका जिल्लाहरूमा हराउने व्यक्तिहरूको संख्या बढी रहेको देखिएको छ । मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता कमल थापाका अनुसार अन्तिम ६ महिनामा मात्र मधेश प्रदेशमा दुई हजार ५७२ जना हराएका (सम्पर्कविहीन) छन् ।
जसमध्ये पुस महिनामा मात्र १४४८ जना हराएका हुन । ती हराएकाहरूमध्ये ६ महिनामा १५०१ जना फेला परेका छन् भने अन्य अझै सम्पर्कविहीन नै रहेका छन् ।
प्रवक्ता थापाले जेनजी आन्दोलनमा भएका क्षतिहरूको विवरणसमेत सार्वजनिक गरेका छन् । उनका अनुसार मधेश प्रदेशमा जेनजी आन्दोलनका क्रममा जम्मा ४ जनाको मृत्यु भएको थियो । सो आन्दोलनमा मधेश प्रदेशका जम्मा २३४ वटा सरकारी कार्यालयहरूमा क्षति भएको थियो ।
सरकारी कार्यालयहरूको कुल क्षति आङ्कलन ५७ करोड ३५ लाख ५२ हजार १२५ बराबरको रहेको छ । प्रवक्ता थापाका अनुसार जेनजी आन्दोलनका क्रममा प्रदेशभरिका प्रहरीको सवारी साधनहरूमा पनि क्षति पुगेको थियो । कुल आङ्कलन अनुसार २ करोड ६ लाख ७८ हजार ३८० रुपैयाँ बराबरको प्रहरीले प्रयोग गर्ने सवारी साधनमा क्षति भएको हो ।
प्रवक्ता थापाका अनुसार जेनजी आन्दोलनका क्रममा मधेश प्रदेशभरिका विभिन्न कारागारहरूमा रहेका १ हजार ४५ जना कैदी बन्दी फरार भएका थिए । उनीहरूमध्ये विभिन्न स्थानबाट जम्मा ५सय७९ जना पक्राउ परेका छन् भने अन्य कैदी बन्दी अझै फरार अवस्थामा रहेका छन् ।
जेनजी आन्दोलनकै क्रममा मधेश प्रदेशका बाल सुधार गृहहरूबाट ६८ जना फरार भएका थिए । उनीहरूमध्ये २० जना पक्राउ परिसकेका छन् भने ४८ जना अझै फरार रहेको प्रवक्ता थापाले जानकारी दिए ।
प्रवक्ता थापाका अनुसार मधेश प्रदेशका ३२ निर्वाचन क्षेत्रमा जम्मा २१६० वटा मतदान स्थल रहेका छन् । ती मतदान स्थलहरूमध्ये १५९ वटा सामान्य, ७५५ संवेदनशील र १२४६ वटा मतदान स्थल अति संवेदनशील रहेका छन् ।
मधेश प्रदेश प्रहरी कार्यालयले मतदान स्थलहरूको अवस्था अनुसार सो स्थानहरूमा सुरक्षाकर्मीहरूको संख्या निर्धारण गरेको छ ।
















