२०३० विश्वकप फाइनल स्पेनमा हुने दाबी, फिफाको औपचारिक घोषणा बाँकी
कार्लाल, पेन्सिलभेनिया / स्पेनले सन् २०३० को फिफा विश्वकप फुटबलको फाइनल खेल आयोजना गर्ने दाबी गरेको छ ।
स्पेनी फुटबल महासंघका अध्यक्ष राफाएल लुजानले सन् २०३० को विश्वकप फुटबलको फाइनल खेल आयोजना गर्ने बताएका हुन् ।
स्पेन, पोर्चुगल र मोरोक्को संयुक्त रूपमा आयोजना गर्ने विश्वकपको निर्णायक खेल कहाँ हुनेछ भन्नेबारे फिफाले अहिलेसम्म आधिकारिक घोषणा गरेको छैन । अध्यक्ष लुजानले एक कार्यक्रमकाबीच पत्रकारहरूसँग कुरा गर्दै फाइनल खेल स्पेनमै हुने बताए । यद्यपि कुन सहर वा कुन रङ्गशालामा हुने भन्नेबारे उनले स्पष्ट पारेका थिएनन् ।
“स्पेनले विश्वकपको नेतृत्व गर्नेछ र फाइनल यहीँ आयोजना हुनेछ,” लुजानले भने ।
स्पेनी सञ्चारमाध्यमहरूमा रियल म्याड्रिडको हालै पुनर्निर्माण गरिएको सान्टियागो बेर्नाबेउ रङ्गशालालाई फाइनलको प्रमुख दाबेदारका रूपमा हेरिँदै आएको छ । हालै मोरोक्कोले फाइनल आयोजना गर्न सक्ने सम्भावना रहेको समाचारहरू पनि आएका थिए ।
मोरोक्कोले निर्माणाधीन हसन द्वितीय रङ्गशालामा फाइनल आयोजना गर्ने आशा राखेको थियो । सन् २०२८ मा सम्पन्न हुने लक्ष्य राखिएको यो रङ्गशाला १ लाख १५ हजार दर्शक क्षमतासहित विश्वकै सबैभन्दा ठूलो फुटबल रङ्गशाला बन्ने योजना छ ।
यसै महिनाको अफ्रिका कप अफ नेसन्सको अव्यवस्थित फाइनलले मोरोक्कोको छविमा नकारात्मक असर पारेको र यसले विश्वकप फाइनल आयोजना गर्ने सम्भावनामा असर पारेको हुन सक्ने बताइएको छ ।
बार्सिलोनाले पनि आफ्नो क्याम्प नोउ रङ्गशाला पुनर्निर्माण गरिसकेको छ र फाइनल आयोजना गर्न बोली लगाउन सक्ने देखिएको छ ।
सन् २०३० को विश्वकप प्रतियोगिताले यसको शतवार्षिकी पनि मनाउने छ । त्यस अवसरमा ल्याटिन अमेरिकी देशहरू उरुग्वे, अर्जेन्टिना र पराग्वेले पनि एक–एक खेल आयोजना गर्नेछन् ।
सन् २०२६ को विश्वकप फाइनल आयोजना हुने स्थान अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ रङ्गशालाको घोषणा प्रतियोगिताभन्दा करिब दुई वर्षअघि सन् २०२४ मा गरिएको थियो ।

















