महिला टी–२० विश्वकप छनोटमा नेपाल समूह चरणबाटै बाहिरियो
काठमाडौं । नेपाल घरेलु मैदानमा जारी आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको समूह चरणबाटै बाहिरिएको छ ।
टीयू क्रिकेट मैदानमा आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाट बाहिरिएको हो ।
स्कटल्याण्डले दिएको १४१ रनको लक्ष्य पछ्याएको नेपाल ६८ रनमै रोकियो । नेपालका लागि रोमा थापा र विन्दु रावलले समान १४ र रुविना क्षेत्रीले १० रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
कप्तान इन्दु बर्मा रिटायर्ड हर्ट भइन् । बलिङ स्कटल्यान्डकी अब्दह मक्सुदले सर्वाधिक ३ विकेट लिइन् । त्यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १४० रन बनाएको थियो ।
स्कटल्यान्डका लागि प्रियांज चटर्जीले सर्वाधिक अविजित ४५ रन बनाइन् । उनले २८ बलमा ७ चौका प्रहार गरिन् ।
बलिङमा नेपालकी मनिषा उपाध्यायले सर्वाधिक ४ विकेट लिइन् । रुविना क्षेत्रीले ३, रिया शर्मा, सीता रानामगर र कविता जोशीले एकएक विकेट लिए ।
समूह चरणमा नेपालले एक खेलमा मात्रै जित निकाल्न सक्यो । नेपाल रहेको समूहबाट नेदरल्याण्ड्स, स्कटल्यान्ड र थाइल्याण्ड सुपर सिक्समा प्रवेश गरेका छन्। नेपाल र जिम्बाब्बे चौथो र पाँचौँ नम्बरमा रहँदै प्रतियोगिताबाट बाहिरिएका हुन्।

















