अमेरिकामा भारी हिमपात: १४ हजारभन्दा बढी उडान रद्द, १० राज्यमा आपतकाल
वासिङ्गटन डीसी / अमेरिकामा एक सातादेखि तीव्र बन्दै गएको भीषण हिमपातका कारण १४ हजारभन्दा बढी उडान रद्द भएका छन् । शनिवार देखी सोमबारसम्म १४ हजार ८ सयभन्दा बढी उडान रद्द भएका छन् भने दश वटा राज्यमा आपतकाल घोषणा गरिएको छ ।
हिमपातका कारण खतरनाक सडक अवस्था सिर्जना भएसँगै विभिन्न राजमार्गहरू बन्द गरिएका छन् ।
फ्लाइटअवेयरको तथ्याङ्क उद्धृत गर्दै सिएनएनले जनाएअनुसार अमेरिकी एयरलाइन्सका निर्धारित उडानमध्ये ४३ प्रतिशत र अटलान्टास्थित डेल्टा एयरलाइन्सका ३५ प्रतिशत उडान ग्राउन्ड गरिएका छन् ।
शनिबार मात्रै डलास र चार्लोट केन्द्रित गरी ४ हजारभन्दा बढी उडान रद्द भएका थिए भने सोमबारसम्म न्यु योर्क र बोस्टन क्षेत्रमा प्रभाव केन्द्रित हुँदै १ हजार ६ सयभन्दा बढी उडान रद्द भइसकेका छन् ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टेनीसी, जर्जिया, नर्थ क्यारोलाइना, मेरील्यान्ड, अर्कान्सास, केन्टकी, लुइजियाना, मिसिपिसी, इन्डियाना र वेस्ट भर्जिनियासहित १० राज्यमा आपतकाल घोषणा गरेका छन् ।
उनले संघीय आपत्कालीन व्यवस्थापन निकाय राज्यका गभर्नरहरू र आपत्कालीन व्यवस्थापन टोलीहरूसँग समन्वय गरी नागरिकको सुरक्षामा काम भइरहेको बताएका छन् ।
राष्ट्रिय मौसम सेवाका अनुसार हिमपात अमेरिकाको पूर्वी दुई–तिहाइ भूभाग ढाक्नेछ खालको छ । उत्तरी तथा केन्द्रीय मैदान क्षेत्रबाट उत्तर पूर्वसम्म शून्यभन्दा तलको तापक्रम फैलिने र खाडी तटसम्म हरेक रात हिमाङ्कभन्दा तलको तापक्रम रहने पूर्वानुमान गरिएको छ ।
एनडब्लुएसले आगामी सातासम्म अत्यधिक चिसो मौसम कायम रहने चेतावनी दिँदै, हावासँगको चिसोले हाइपोथर्मिया र फ्रस्टबाइटको जोखिम बढ्ने भएकाले ‘ज्यान जोखिममा पार्ने चिसो’बाट जोगिन तयारी गर्न आग्रह गरेको छ । साथै, मध्य–एटलान्टिक राज्य हुँदै उत्तर पूर्वी क्षेत्रमा आँधी फैलिने जनाएको छ ।
भारी हिमपात र जम्ने वर्षाले अमेरिकाको पूर्वी भागका धेरै क्षेत्रमा ठूलो असर पार्ने अनुमान गरिएको छ । आँधी नजिकिँदै गर्दा गृह सुरक्षा विभागकी सचिव क्रिस्टी नोएमले सर्वसाधारणलाई अनावश्यक यात्रा नगर्न र आवश्यक सतर्कता अपनाउन आग्रह गरेकी छन् ।
सिएनएनका अनुसार करिब १,३०० माइलसम्म फैलिएको यो विशाल शीतकालीन आँधीले टेक्ससदेखि न्यू इङ्गल्यान्डसम्म २,००० माइलभन्दा बढी क्षेत्रमा असर पार्नेछ । दक्षिणी क्षेत्रमा जम्ने बरफका कारण विद्युत् आपूर्ति अवरुद्ध भइरहेको छ भने केही स्थानमा गर्जन र चट्याङसहितको जम्ने वर्षा पनि देखिएको छ ।
आँधीका कारण आधाभन्दा बढी अमेरिकी नागरिकले शून्यभन्दा तलको हावाको चिसो अनुभव गर्नेछ । जसले हिम र बरफ लामो समयसम्म जमिरहने र विद्युत् नपुगेका क्षेत्रका बासिन्दा धेरै दिनसम्म कठ्याङ्ग्रिने अवस्था आउने चेतावनी दिइएको छ । राष्ट्रिय मौसम सेवाले १७ भन्दा बढी राज्यमा शीतकालीन आँधीसम्बन्धी चेतावनी जारी गरिसकेको जनाएको छ ।
एएनआई

















