पेन्सिल्भेनिया ह्यारिसबर्गमा टिका ढुङ्गनाका तीन पुस्तक एकैसाथ विमोचन
भुटानी शरणार्थी यात्रादेखि अमेरिकी सम्भावनासम्मका कथा
ह्यारिसबर्ग, पेन्सिल्भेनिया/ अमेरिकाको पेन्सिल्भेनिया राज्यको राजधानी ह्यारिसबर्गस्थित श्रीलक्ष्मी नारायण मन्दिरमा शनिबार नेपाली भाषी भुटानी लेखक टिका ढुङ्गनाका तीन पुस्तक एकैसाथ विमोचन गरिएको छ।
भुटानी शरणार्थी जीवन, विस्थापनको पीडा, मानव मूल्य र अमेरिकी सम्भावनालाई केन्द्रमा राखेर लेखिएका यी कृतिहरूको विमोचन समारोह भावनात्मक, विचारोत्तेजक र ऐतिहासिक बन्यो।
विमोचित पुस्तकहरूमा ‘बोर्न इन भुटान रिबोर्न इन अमेरिका’, ‘फ्रम पीस टु पेन टु प्रमिस’ र ‘विज्डम अफ लाइफ’ रहेका छन्।
अंग्रेजी भाषामा लेखिएका यी तीनै पुस्तकले भुटानी शरणार्थी समुदायको सामूहिक यात्रालाई व्यक्तिगत अनुभवसँग जोड्दै प्रस्तुत गरेका छन्।
टिका ढुङ्गना भुटानी कम्युनिटी अफ ह्यारिसबर्ग (बीसीएच) र बुद्ध खरी फाउन्डेशनका संस्थापक अध्यक्षसमेत हुन्। उनी सामाजिक अभियन्ता, समुदाय नेता र लेखकका रूपमा चिनिन्छन्।
विशिष्ट अतिथिबाट संयुक्त विमोचन

कार्यक्रममा पेन्सिल्भेनिया राज्य सिनेटर प्याटी किम, राज्यसभा प्रतिनिधि जस्टिन फ्लेमिङ, स्वाटारा टाउनसिपका आयुक्त टम कोलनीलगायतले संयुक्त रूपमा पुस्तक विमोचन गरे।
राज्य र स्थानीय सरकारका उच्च तहका प्रतिनिधिहरूको सहभागिताले कार्यक्रमको महत्व थप बढाएको थियो।
“टिका ढुङ्गनासँगको सम्बन्ध दाजुभाइ जस्तै भयो” : टम कोलनी

स्वाटारा टाउनसिपका आयुक्त टम कोलनीले मन्तव्य दिँदै टिका ढुङ्गनासँगको आफ्नो सम्बन्धलाई दाजुभाइ सरहको बताएका थिए।
“मैले यो समुदायबारे धेरै कुरा टिकाबाटै सिकेँ,” उनले भने, “हामी प्रायः सँगै हुन्छौं, एकअर्कालाई नदेखेको धेरै समय हुँदैन। यहाँका बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मका कार्यक्रममा सहभागी हुने अवसर पाएको छु, यो मेरो लागि गर्वको कुरा हो।”
उनले नेपाली भाषी भुटानी समुदायभित्रबाट पहिलो महिला निर्वाचित प्रतिनिधि बनेकी विनिता पुरी राईको प्रशंसा गर्दै समुदायको नेतृत्व क्षमता अझ सुदृढ बन्दै गएको बताए।
“टिकाले तीन वटा पुस्तक लेखेर ठूलो उपलब्धि हासिल गरेका छन्, म आफैं किताब लेख्ने प्रयासमा छु तर यति सजिलो छैन,” टमले भने।
उनले ढुङ्गनालाई बधाई दिए।
कविता र साहित्यिक रंग
विमोचनपछि त्रिवेणी साहित्य मञ्चका अध्यक्ष केशव वैरागी ‘माइलो’ले ‘नागरिकताविहीन जन्म’ शीर्षकको कविता वाचन गरे।
उनले यो कविता विशेष यही कार्यक्रमका लागि लेखिएको जानकारी दिँदै शरणार्थी जीवनको पीडालाई शब्दमा उतारे।
त्यसैगरी कवि मधु घिमिरेले पनि कविता वाचन गर्दै कार्यक्रमलाई साहित्यिक उचाइ दिएका थिए।
“यो पुस्तक हाम्रो इतिहास सुरक्षित गर्ने दस्तावेज हो” : युवराज कोइराला
कार्यक्रममा भुटानी कम्युनिटी अफ सेन्टर पेन्सिल्भेनिया (बीसीसी) का अध्यक्ष युवराज कोइरालाले ‘फ्रम पीस टु पेन टु प्रमिस’ पुस्तकबारे मन्तव्य राखे।
“यो पुस्तकले भुटानको शान्त जीवन, त्यसपछि नेपालका शरणार्थी शिविरमा भोगिएको पीडा र अमेरिकाले दिएको अवसरलाई क्रमबद्ध रूपमा प्रस्तुत गरेको छ,” कोइरालले भने।
आफू सात वर्षको उमेरमा अमेरिका आएको स्मरण गर्दै उनले भने, “मेरो पुस्ता, मभन्दा साना बालबालिका र भुटानमै जन्मिएका तर कथा नबुझेका सबैले यो पुस्तक पढ्नैपर्छ। हाम्रो संस्कृति, इतिहास र संघर्ष भविष्यमा यसैगरी सुरक्षित हुनेछ।”
कोइरालाले पुस्तकबाट उद्धृत सन्देश स्मरण गराउँदै भने, “तिमीहरू हामीले हिमाल, सीमा, शरणार्थी शिविर र महासागर पार गरेर बोकेको सपना हौ। तिमीहरू नै हाम्रो भविष्य हौ।”
“टिकाको कथा विश्वका सबै शरणार्थीको प्रतिनिधि कथा हो” : प्राध्यापक माधव शर्मा
प्राध्यापक माधव शर्माले मन्तव्य दिँदै टिका ढुङ्गनाको यात्रालाई विश्वभरिका विस्थापितहरूको प्रतिनिधि कथा भएको बताए।
“आज विश्वमा करिब १२ करोड मानिस विस्थापित छन्,” उनले तथ्य प्रस्तुत गर्दै भने, “यदि ती सबै एक देश हुन्थे भने, त्यो विश्वको १३औँ ठूलो देश हुनेथियो।”
शर्माले पुस्तक पढ्दा आफू भावुक बनेको अनुभव सुनाउँदै भने, “यो पुस्तक केवल आत्मकथा होइन, मानवताको दस्तावेज हो।”
उनले ‘वसुधैव कुटुम्बकम्’को सन्दर्भ उठाउँदै सामूहिकता र एकताको आवश्यकता औँल्याए। “यो प्रतिज्ञा सजिलै पाइने कुरा होइन, यसलाई जोगाउन हामीले संघर्ष गर्नुपर्छ,” उनले भने।
“शरणार्थी कथा अमेरिकी कक्षाकोठासम्म पुग्नुपर्छ” : सिनेटर प्याटी किम
कार्यक्रममा पेन्सिल्भेनिया राज्य सिनेटर प्याटी किमले पुस्तक अत्यन्त सरल, सशक्त र हृदयविदारक भएको बताइन्।
“आफ्नो देशबाट लखेटिनु, शरणार्थी शिविरको जीवन र त्यसपछिको संघर्ष पढ्दा म गहिरो रूपमा छोइएँ,” उनले भनिन्।
आफ्नो आप्रवासी परिवारको कथा स्मरण गर्दै उनले भनिन्, “हामीले इतिहास बुझ्दा मात्र कृतज्ञ हुन सिक्छौं।”
उनले आगामी एसियन अमेरिकन हेरिटेज महिनामा विद्यालयहरूमा यो पुस्तक पढाउने पहल गर्ने घोषणा गरिन्। “बालबालिकाले तपाईंहरूको इतिहास जान्नुपर्छ, त्यसले सम्मान र गर्व जन्माउँछ,” उनले भनिन्।
“यी पुस्तक पैसा कमाउन होइन, कथा बाँड्न लेखिएका हुन्” : लेखक टिका ढुङ्गना
कार्यक्रमको अन्त्यमा लेखक टिका ढुङ्गनाले भावुक मन्तव्य राख्दै तीन पुस्तक विमोचन केवल उत्सव नभई यात्राको प्रतिबिम्ब भएको बताए।
“यी पुस्तक मेरो मात्र कथा होइन, हाम्रो सामूहिक कथा हो,” उनले भने।
उनले अमेरिका प्रति कृतज्ञता व्यक्त गर्दै भने, “आज हामी शरणार्थी होइनौं, हामी वर्तमानका योगदानकर्ता र भविष्यका निर्माता हौं।”
पुस्तकहरू पैसा कमाउने उद्देश्यले नभई समुदायको कथा, मूल्य र प्रतिबद्धता बाँड्न लेखिएको स्पष्ट पार्दै उनले सबैलाई पुस्तक पढ्न, साझा गर्न र प्रतिक्रिया दिन आग्रह गरे।
धिरेन चौहानले संचालन गरेको कार्यक्रममा समुदायका अगुवा, साहित्यकारहरुको उपस्थिति रहेको थियो।

र यो पनि …
भुटानी शरणार्थीका बारेका पुस्तक पेन्सिल्भेनियाका स्कूलमा पढाइनु पर्छ : सिनेटर प्याटी किम

















