भुटानको जेलमा गुरुङको रहस्यमय मृत्युले जन्माएको प्रश्न
विष्णु लुईटेल /
ह्यारिसबर्ग,पेन्सिल्भेनिया / सन् १९८० देखि ९० सम्म भुटान सरकारले चालेको जातीय सफाय कदमको जति निन्दा गरे पनि कम नै हुन्छ । निहत्था जनताले सरकारको जातिगत भेदभावपूर्ण नीतिमा परिवर्तनको माग गर्दै शान्तिपूर्ण र्यालीमा सहभागी निहत्था जनताललाई राज्य द्रोहको अपराध मान्यो र लाखभन्दा बढी नागरिकलाई सैनिक बलमा देशबाट निष्कासन गर्यो ।
भुटान बहुजाति, बहुभाषिक, बहुसांस्कृतिक र बहुपहिचान भएको देश हो । विविधतामा एकता र एकतामा विविधता भएको सानु हिमाली राज्य हो । आफ्नो पहिचानसहित नागरिकले देशका हरेक सुख सुविधाको समानरूपमा उपभोग गर्न पाउनु पर्थ्यो तर त्यो सुविधाको न उपभोग गर्न पाए नेपाली भाषी भुटानीहरुले न देशमा बस्न नै न जीवनको सुरक्षा नै ।
१९९० मा जनताको सामान्य अवाजलाई क्रूरताकासाथ दमन नगरेको भए र जनताको चाहनालाई सकारात्मक रुपमा लिएको भए न परिश्रमी जनताले देश छाड्न वाद्य हुनुपर्थ्यो न सरकारको बेइज्जती र बदनामी नै हुने थियो । त्यस बेला सरकार नागरिकको मानवअधिकार र प्रजातन्त्र प्राप्तिको नैसर्गिक अधिकारप्रति संवेदनशील हुन्थ्यो भने आज देश विकास र समृद्धिको उचाइमा अवश्य पुग्ने थियो । यसमा कुनै दोराय छैन ।
नागरिकको सेवा र देशको चौतर्फी विकासमा सरकारको महत्त्वपूर्ण भूमिका हुनुपर्छ भन्ने सोच राज्य सञ्चालनका हिमायतीहरूले सोच्नुपर्छ । जनता र देशप्रति सदैव इमानदार र जबाफदेही हुनुपर्छ । जब राज्यका सञ्चालक विभेदी,क्रूर र भ्रष्ट हुन्छन् र जबाफदेहिताबाट छाडिन्छन् अनि जनताले दुख पाउँछन् र देश अधोगतितर्फ उन्मुख हुन्छ ।
आज भूटानको स्थिति पनि त्यही देखिन्छ । नेपाली भाषी भुटानीहरू राष्ट्रको सर्वाङ्गीण विकासमा जति समर्पित थिए त्योभन्दा बढी राज भक्ति र देशप्रति बफादार र इमान्दार पनि थिए भन्ने प्रमाण भुटानको गेलेफु – टोङ्गसा , टोङ्गसा – थिम्पु अनि थिम्पु -गेलेफु जस्ता रिङ रोडहरूको निर्माणले दिएको छ । यति मात्र होइन सिमानामा ढाल बनेर उनीहरूले पटक पटक हुने वैदेशिक आक्रमणबाट देशलाई जोगाए । पुलपुल्यासा , सरकारी कार्यालयहरू,जोङ्गआदिको निर्माणमा नेपाली भाषी नागरिकहरूले दिएको निःशुल्क श्रमदान र प्रत्याक्रमण गरी वैदेशिक आक्रमणबाट देश बचाउन गरेका हरेक निस्वार्थ योगदानको न कसैले मूल्याङ्कन नै गऱ्यो न त्यसप्रति कसैले कृतज्ञता नै प्रकट गर्यो ।
यतिसम्म कि हरेक वर्ष प्रत्येक घरबाट एक जना सदस्यले सत्तरी दिनसम्म निःशुल्क श्रमदान दिनुपर्ने अनिवार्य थियो । नेपाली भाषी नागरिकले निस्वार्थ बगाएको श्रम र पसिनाकै कारण आज देश सुरक्षित छ । राजगद्दी सुरक्षित छ र नै राजाले विश्व बजारमा “सकल राष्ट्र खुसियाली”को व्यापार विस्तार गर्न सकेका छन् । यदि नेपाली भाषी नागरिकले ज्यान दिएर देश निर्माण नगरेको भए आज भुटान कि जङ्गली अवस्थामा नै हुने थियो वा अन्य कुनै मुलुकको गुलाम भइसक्ने थियो ।
कृषि उत्पादनको क्षेत्रमा आत्मनिर्भर गराउने कार्यमा होस् वा देशका विभिन्न अनकन्टार ग्रामीण क्षेत्रलाई जोड्ने मार्गहरूको निर्माणमा होस् नेपाली भाषीहरूको योगदान अग्रपंक्तिमा थियो र छ पनि । त्यस अतिरिक्त नगदे बाली उत्पादनमा जस्तै अलैँची,सुन्तला,सुपारी र नरिवल जस्ता कृषि व्यवसायबाट नगद उपार्जन गर्ने कार्यमा होस दक्षिणका नागरिकहरूले चमत्कारिक विकास गरेर भुटानलाई कृषि उत्पादनको क्षेत्रमा लगभग आत्मनिर्भरको अवस्थामा पुऱ्याएका थिए।
अन्नबालीहरू धान,मकै,कोदो उत्पादनमा पनि नेपाली भाषीहरूले नै देशको कूल जनसङ्ख्यालाई सुनिश्चित बनाएका थिए । भुटानका अन्य भागका नागरिक वा विशेष गरी आदिवासीहरू अझ पनि परम्परागत पशुपालन कै युगमा छन् । उनीहरू जङ्गली कन्दमूल र मासुमा निर्भर छन् ।
नेपाली भाषी भुटानी नागरिकले सन् १९९० मा गरेको शान्तिपूर्ण प्रदर्शनीमाथि तत्कालीन राजाले सेना परिचालन गरेर देशमा राज्यातङ्क मच्चाए । जनताको जायज मागलाई सम्बोधन गर्नुको सट्टा निहत्था जनतामाथि सेना परिचालन गर्नु राजाको धर्म कदापि हुन सक्दैन । आफ्ना परिश्रमी रैतीलाई देशबाट लखेटेर निर्विवाद राज्य गर्छु भन्ने सोच कुनै पनि हिसाबमा न्यायोचित होइन । नागरिकबिनाको देश र रैतीबिनाको राजाको परिकल्पना हुन सक्दैन ।
जनताले देश विकासका लागि शासन व्यवस्थामा परिवर्तन हुनुपर्छ भन्दा लगलग हुलिने राजसिंहासन कति निर्बल र कायर रहेछ भन्ने भूटानी राजाको विभेदकारी सोच र अन्याय पूर्ण निर्णयहरूले स्पष्ट गरेको छ । राजाको राज्य सञ्चालनको बलियो आधार भनेको नै निष्पक्ष र विभेद रहित शासन गर्नु हो । राजाको सही राजधर्म पनि त्यही हो ।
आफ्नो कर्तव्य र धर्मप्रति सदैव सचेत र सजक हुनुपर्छ । जाति,धर्म,वर्ण,लिङ्ग,भाषा,संस्कृति र पहिचानका आधारमा कुनै पनि नागरिकलाई विभेद र अन्याय गरिनुहुँदैन । यो राजाको राजधर्म हो । नागरिकलाई सुखी र समृद्धिको मार्गमा उत्प्रेरित गर्ने राजा नै लोकप्रिय हुनसक्छ । प्रजावत्सल हुनसक्छ । राजा र सरकार भनेको एउटा कुनै जाति विशेषको हितमा मात्र उभिने होइन समग्र देशका नागरिक र राष्ट्रको पक्षमा रक्षक भएर खडा हुनुपर्दछ ।
भुटानी शाही सरकारका लाचारी र कमजोरीहरू गनेर साध्य छैन । नागरिकको हित र रक्षा त गर्न सकेन- सकेन राज्यले तर देशको सीमाको सुरक्षा पनि गर्न सकेन,सरकारले । सन् १९९०पछि देशको उत्तरी भागको कुलागाङ्गरी हिमशृङ्खला सहित करिब दस हजार वर्ग किलोमिटर जमिन गुमाएको खबरले भूटानी जनतालाई व्याकुल र चिन्तित तुल्याएको छ । भुटानको कूल क्षेत्रफल ४७ हजार वर्ग किलोमिटर थियो भने आज देशको कूल क्षेत्रफल मात्र ३८ हजार वर्ग किल्लोमिटरमा खुम्चिएको छ । यस आँकडाका आधारमा पनि भुटानको शाही सरकार देशको सीमा रक्षाकालागि कतिको सक्षम रहेछ भन्ने प्रमाणित भएको छ । शाही सरकारले नत नागरिकहरूको शान्ति सुरक्षा गर्न सक्यो न देशको सीमा रक्षा नै ।
भुटानको शाही सरकारले सन् १९९० को दशक पछि उत्तर-पूर्वी र दक्षिणी जनताहरूप्रति चरम भेदभावको अभियान प्रारम्भ गर्यो । राज्य शक्तिको दुरुपयोग गर्दै सरकारले एक लाखभन्दा बढी नागरिकहरूलाई देशबाट लखेट्यो । कतिलाई गोली ठोकेर ठाउँको ठाउँ माऱ्ये भने कयॏ नागरिकहरूलाई लापता बनाइयो र कयॏ नागरिक अहिले पनि हिट्लरको ग्यास-च्यामबर भन्दा पनि खतरा जेलहरूमा कठोर यातना भोग्न विवश छन् ।
यतिसम्मको बर्बरता गरेको छ कि कैयन राजबन्दीहरूलाई जेलभित्र नै मार्ने काम गरेको छ । कुनै पनि कैदीलाई जेलभित्रै मारिनु अन्याय र अपराधको सीमा हद पार गर्नु हो । तर मारियो । जेलभित्रै मारिनु चरम यातनाको पराकाष्ठा हो ।
यस चरम ज्यादतीको एउटा दुखद घटनाको नमुना हो गत १५ डिसेम्बर २०२५ का दिन चेमगाङ्ग जेलमा मारिएका चिराङ जिल्ला गोपिनी ब्लक लाली खर्क निवासी शह बहादुर गुरुङ हुन् । सन् १९९० को शान्तिपूर्ण रैलीमा भाग लिएकै आरोपमा उनलाई राज्य द्रोहको अभियोग लगाएर जेलमा थुनिएको थियो । गुरूङलाई भूटानको अदालतले आजीवन कारावासको सजाय सुनाएको थियो ।
गुरुङलाई जेलमा थुना गरेर राखेको ३५ वर्षपछि भुटानको शाही सरकारले उनलाई विभिन्न यातना दिएर तड्पाई तड्पाई मारेको सनसनी खबर छ । त्यो पनि भुटानको ११८औँ राष्ट्रिय दिवसको २ दिन पहिले उनलाई मारियो । राष्ट्रिय उत्सवको अघिल्लो दिन भुटानी अधिकारीहरूले उनको पार्थिव शरीर परिवारलाई बुझाएको कुरा हाल अमेरिकामा बस्ने आफन्तले बताएका हुन ।
हालसम्म उनको मृत्युको घटनाबारे न कुनै आधिकारिक स्पष्टीकरण, न चिकित्सकीय प्रतिवेदन, न पोस्टमार्टमको नतिजा वा स्वतन्त्र प्रमाणीकरण नै सार्वजनिक गरिएको छ न परिवारजनलाई क्षतिपूर्तिको केही राहत दिने आस्वादन नै उपलब्ध गराइएको छ । राज्यको नियन्त्रणमा भएका कैदीको यस प्रकारको दुखद र शङ्कास्पद मृत्युबारे वास्तविक छानबिन नगरिनुले गम्भीर रूपमा मानव अधिकारसम्बन्धी चिन्ता उत्पन्न गराएको छ ।
गुरुङका एक जना दाइ, एक दिदी र तीन जना भाइहरू थिए । उनी गुरुङ परिवारका माइला छोरा हुन । हाल अमेरिकामा रहेका एक आफन्तले भक्कानिँदै भन्नु भयो -“उनी जेलमा भएकै समयमा उनका बाबाको परलोक भयो । तर भुटानको शाही सरकारले आफ्ना बाबाको मृत्यु हॅुदासम्म पनि बाबाको काजक्रिया गर्न त परको कुरा परिवारजनसँग सम्म भेट गर्न समेत दिइएन ।”
ती आफन्तले भक्कानिँदै अघि थप्नु भयो -“मेरो भाइले त न्याय पाएन नै तर अरू भुटानीहरू र हाम्रो परिवारले न्याय पाउनु पर्छ । यसमा अन्तर्राष्ट्रिय जगतको र मानवअधिकार सम्बन्धित संघ संस्थाहरूको नजर पुग्नु पर्दछ।”
गुरुङलाई वाङ्दीफोड्राङको रबुना सैनिक हिरासत र चेमगाङ कारागारमा गरी जम्मा ३५ वर्षभन्दा बढी समय हिरासतमा राखियो । पाको उमेर र कमजोर स्वास्थ्य अवस्था मृत्युको कारण बताइए पनि के कसुरमा यति लामो जेल सजाय मिल्यो भन्ने कुरा कहिल्यै बताइएन र कुनै कानुनी प्रतिरक्षाका लागि सुनुवाइ समेत गरिएन ।
शान्तिका पथप्रदर्शक बुद्धको देशमा बिरामी भएर सिकिस्त अवस्थामा पनि उनलाई दया,धर्म,करुणा र क्षमा केही पनि देखाइएन ।बिरामी भएको खबर पनि उनको परिवारजनलाई सुनाइएन । मृत्यु भएपछि मात्र उनको शव परिवारलाई जिम्मा लगाइयो । यस्ता अनेक गैर-जिम्मेवारीपूर्ण क्रियाकलापबाट स्पष्ट हुन्छ कि भुटानी शाही सरकार कत्ति कठोर र क्रूर छ ।
भुटानकी वर्तमान रानी महामहिम ग्याल्त्सुएनज्यू भुटान रेडक्रस सोसाइटीकी अध्यक्ष हुनुहुन्छ। भुटान रेडक्रस सोसाइटीलाई भुटानका सम्पूर्ण राजबन्धीहरुको अवस्था र हालसम्म जेलभित्र मरेका राजबन्धीहरुको र भुटानमा मानवअधिकारको अवस्थाको सबै विवरण अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटीले माग्ने कि नमाग्ने ? यसमा जबाफदेही हुनुपर्छ कि पर्दैन ?
सन् १९८०देखि १९९०सम्मको लगभग एक दशकमा भुटानमा नेपाली भाषी ल्होत्साम्पा र शार्चोपहरूमाथि गरिएको राजनीतिक विभेद, सांस्कृतिक अतिक्रमण र जातीय सफायको जिम्मेवार भुटानको शाही सरकार नै हो भन्ने घाम झैं छर्लङ्ग छ ।
९० को दशकमा पक्राउ परेका तीन दर्जनभन्दा बढी राजबन्दीहरू आज पनि कठोर जेलहरूमा नारकीय जीवन बिताई रहेका छन् । लोकतन्त्र र मानव अधिकारको माग गर्नु नै अपराध ठहरिएका सबै राजनीतिक बन्दीहरूलाई उचित क्षतिपूर्तिका साथै निःशर्त रिहाइ गर्नुपर्छ भन्ने तीव्र दबाब उठिरहेको छ । भुटानको शाही सरकारले यसमा कुनै पनि बहनामा ढिलाइ गर्नुहुँदै भन्ने संसारबाट चासो र चिन्ता पनि व्यापक रूपमा उठिरहेको छ ।
मानवीयताका आधारमा नेपालमा रहेका भुटानी शरणार्थी शिविरहरूमा रहेका र शीघ्र स्वदेश फिर्तीको अपेक्षा गरिरहेका मानिसहरूको समस्याबारे नेपाल सरकारसँग पुनः अभिलम्ब वार्ता सुरु गर्न वर्तमान भुटानी सरकारले तदारुकता देखाउनुपर्छ । समस्याको सर्जक भएकाले पनि यसको जिम्मेवारी भुटानी शाही सरकारले नै लिनुपर्दछ र देश फिर्न चाहने नागरिकलाई ससम्मान स्वीकार गर्नुपर्दछ ।
समय बलवान छ । समयले सबैको हिसाब किताप गर्छ । सधैँभरि राजै गर्छु भन्ने नसोचे हुन्छ । आजको राज भोलि रङ हुनसक्छ र हिजोको रङ भोलि राजा हुनसक्छ । यो सबै समयको खेल हो । त्यसैले कसैले कसैमाथि दुर्भावना राख्नुहुँदैन । रैती भनेर दास जस्तै व्यवहार गर्नुहुँदैन । समय फेरिएका दिन दास पनि मालिक बन्नसक्छ र मालिक पनि नोकर बन्न सक्छ ।
राजा एउटा देश र त्यसभित्रका रैतीको मात्र राजा होइन । असल राजा त्यो हो जसले आफ्नो असल शासन , नेतृत्वदायी क्षमता , राज-आचरण र उत्कृष्ट नेतृत्वका माध्यमबाट विश्वको मन जित्न सक्नुपर्छ । तर भुटानका राजा त सबै भुटानी रैतीहरू समेत राजा रहेनन् ।भुटानका राजाले दक्षिण भुटानीहरूप्रति गरेको अन्याय र अत्याचारको विषयमा बाहिरी संसार अब अनभिज्ञ छैन ।
अन्यायले लामो समयसम्म यस जीवित ग्रहमा राज गर्ने स्थिति छैन । अब विज्ञान तथा प्रविधिले काँचुली फेरिसकेको छ । सुतेर ऒछ्याबाटै विश्व हेर्ने,बुझ्ने र अवधारणा बनाउन सुगमता सबैलाई मिलेको छ । भूटानी सरकारको बेलैमा चेत खुलोस् । सिमानामा पर्खाल लगाएर नागरिकको अवाजलाई कैद गर्छु भन्ने नसोचे हुन्छ ।
अति दमन गऱ्यो भने जनताको मौनता टुट्न सक्छ र विस्फोट हुनसक्छ। खरानी मुनिको आगो कुनै दिन ज्वालामा परिणत हुन सक्छ । त्यसैले भनिन्छ,अति गर्नुहुँदैन । अतिले खती गर्छ ।
भुटानी शरणार्थीहरू र नागरिकहरूले समयको प्रतीक्षा गर्नुपर्दछ किन कि प्रतीक्षाको फल मिठो हुन्छ । समयले नै एक न एक दिन पीडकलाई दण्डित गर्नेछ र पीडितलाई न्याय दिनेछ ।

















