काङ्ग्रेस मधेशले नै बनाएको हो, त्यसैले जोखिम लिएर मधेश झरेको हुँ : गगन थापा
काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति गगन थापाले पार्टीमा आफूले सजिलो बाटो छोडेर कठिन बाटो रोजेको बताएका छन् ।
शनिबार काठमाडौंमा भएको सर्लाहीका मतदातासँगको अन्तरक्रिया कार्यक्रममा उनले विशेष महाधिवेशनमा सबैको साथ नपाएको भए पार्टीबाट निष्कासित सदस्यको रुपमा रहने उल्लेख गर्दै आफ्नो लडाइँ लड्नको लागि सजिलो बाटो छाडेको बताए ।
उनले भने, ‘मैँले पार्टीमा सजिलो बाटो छाडेर कठिन बाटो रोजेको हुँ । म पाँच वर्षको लागि काङ्ग्रेसबाट भर्खरै निकालिएको थिएँ । विशेष महाधिवेशनमा साथीहरूले साथ नदिनु भएको भए आज म पार्टीबाट निष्कासित सदस्यको रुपमा तपाईँहरूको बीचमा उभिएको हुन्थें । म आफ्नो लडाई लड्नुपर्छ, आफ्नो कर्म गर्नुपर्छ बाँकी नियतिको हातमा छ भनेर विश्वास गर्ने मान्छे हो । त्यस कारण आफ्नो लडाइँ लडेको हो । सजिलो बाटो रोजेर सजिलो ठाउँमा बसेको होइन ।’
यस्तै, उनले काङ्ग्रेस पार्टीलाई मधेशले नै बनाएको भन्दै यसपालि आँट र जोखिम लिएर भए पनि आफूलाई मधेशमा समर्पित गरेको बताए ।
राष्ट्रिय नेता भनेको राष्ट्रिय पार्टीको नेता भएर मात्र हुदैँन् त्यसले सिङ्गो राष्ट्रको अंश आफूभित्र राख्न सक्नुपर्ने भन्दै एक पटक मधेशको नेतृत्व गर्ने प्रयास गरे भने बल्ल नेपालको राष्ट्रिय नेता हुने उनको भनाई छ ।
उनले भने, ‘राष्ट्रिय नेता भनेको राष्ट्रिय पार्टीको नेता भएर मात्र हुँदैन । त्यसले सिङ्गो राष्ट्रको अंश आफूभित्र राख्न सक्नुपर्छ । काङ्ग्रेस पार्टीलाई मधेशले नै बनाएको हो त्यस कारण यसपालि मैले आँट गरेर, जोखिम लिएर भए पनि आफूलाई मधेशमा समर्पित गरे । एक पटक मधेशको नेतृत्व गर्ने प्रयास गरे भने बल्ल म नेपालको राष्ट्रिय नेता हुन सक्छु । त्यसको लागि म जाने हो, मधेश जाने हो, त्यहीको साथीहरूसँग जाने हो, भिज्ने हो ।’
















