विश्वकप फुटबल दर्शकका लागि राहत, आप्रवासी भिसा निलम्बनले पर्यटक भिसामा असर नपर्ने
गोबिन्द गुरुङ
कार्लाल, पेन्सिलभेनिया / अमेरिकी विदेश मन्त्रालयले जनवरी २१ बुधवारदेखि अनिश्चितकालका लागि ७५ देशका नागरिकहरूका लागि आप्रवासी भिसा जारी गर्ने प्रक्रिया रोक्ने घोषणा गरेको छ ।
यो निलम्बन अमेरिकामा स्थायी रूपमा बसोबास गर्न चाहने विदेशीहरूका लागि लागू हुनेछ । विद्यार्थी वा पर्यटक भिसाजस्ता छोटो अवधिका भिसा आवेदनमा भने यसको असर नपर्ने बताइएको छ ।
मन्त्रालयका अनुसार २०२६ को फिफा विश्वकप फुटबल प्रतियोगिता हेर्न अमेरिका आउन चाहने फुटबल समर्थकहरू पनि समावेश छन् ।
आप्रवासी तथा गैर–आप्रवासी भिसाका मुद्दा सम्हाल्ने स्थानीय आप्रवासन वकिल हैम भास्केजले एक अमेरिकी सञ्चार माध्यमसँग कुरा गर्दै यस निर्णयले अमेरिकामा बसोबास गर्न चाहनेहरू र केवल भ्रमण गर्न चाहनेहरूमा पर्ने प्रभावबारे बताएका थिए ।
उनले भने, “हामी यहाँ लामो समयदेखि पालो कुर्दै आएका मानिसहरूको कुरा गरिरहेका छौँ । यो निर्णय अमेरिका बाहिर रहेका र दूतावासमार्फत ग्रिन कार्डका लागि आवेदन दिएका व्यक्तिहरूका लागि हो । कतिपयले दशकौँदेखि पर्खिरहेका छन् र यो सीमा क्षेत्रमा भएका आप्रवासन समस्या वा अमेरिकाभित्र कागजातविहीन व्यक्तिसँग सम्बन्धित होइन।”
विदेश मन्त्रालयले यसअघि नै नेपालसहित ७५ देशका नागरिकहरूका आप्रवासी भिसा आवेदन प्रभावित हुने जनाएको थियो ।
प्रभावित हुने देशहरूमा नेपाल, अफगानिस्तान, अल्बानिया, अल्जेरिया, एन्टिगुवा एन्ड बारबुडा, आर्मेनिया, अजरबैजान, बहामास, बंगलादेश, बार्बाडोस, बेलारुस, बेलिज, भुटान, बोस्निया, ब्राजिल, म्यानमार, कम्बोडिया, क्यामरुन, केप भर्डे, कोलम्बिया, कोट द’आइभोर, क्युबा, कंगो लोकतान्त्रिक गणतन्त्र, डोमिनिका, इजिप्ट, इरिट्रिया, इथियोपिया, फिजी, गाम्बिया, जर्जिया, घाना, ग्रेनेडा, ग्वाटेमाला, गिनी, हाइटी, इरान, इराक, जमैका, जोर्डन, कजाखस्तान, कोसोभो, कुवेत, किर्गिस्तान, लाओस, लेबनान, लाइबेरिया, लिबिया, म्यासेडोनिया, मोल्डोभा, मंगोलिया, मोन्टेनेग्रो, मोरोक्को, निकारागुवा, नाइजेरिया, पाकिस्तान, कंगो गणतन्त्र, रुस, रुवान्डा, सेन्ट किट्स एन्ड नेभिस, सेन्ट लुसिया, सेन्ट भिन्सेन्ट एन्ड द ग्रेनेडाइन्स, सेनेगल, सिएरा लियोन, सोमालिया, दक्षिण सुडान, सुडान, सिरिया, तान्जानिया, थाइल्याण्ड, टोगो, ट्युनिसिया, युगान्डा, उरुग्वे, उज्बेकिस्तान र यमन रहेका छन् ।
विदेश मन्त्रालयले वक्तव्यमा भनेको छ, “अमेरिकी जनताबाट अस्वीकार्य दरमा सामाजिक सहायता लिने देशका आप्रवासीहरूका कारण ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया रोकिएको हो । नयाँ आप्रवासीहरूले अमेरिकी जनताको स्रोत दुरुपयोग नगर्ने सुनिश्चित नभएसम्म यो निलम्बन जारी रहनेछ ।”
यसैबीच, विदेश मन्त्रालयले २०२६ को विश्वकपका लागि विश्वलाई स्वागत गर्न अमेरिका उत्साहित रहेको जानकारी दिएको छ । मन्त्रालयका प्रतिनिधि एन्ड्र्यु जुलियानीले बी–१ र बी–२ पर्यटक भिसामा कुनै प्रतिबन्ध नलाग्ने र विश्वकप दर्शकका लागि भिसा प्रतीक्षा समय अझ घट्न सक्ने बताएका छन् ।
डालसको एटी एन्ड टी स्टेडियमले विश्वकपका नौ खेल आयोजना गर्नेछ, जसमा हालको विजेता अर्जेन्टिनाको खेल पनि समावेश छ । विश्वकप टिकटधारकका भिसा आवेदनलाई प्राथमिकता दिइने र २०२६ को सुरुवातमा फिफा प्रायोरिटी अपोइन्टमेन्ट सिस्टम सुरु हुने जनाइएको छ ।

















