भूटानमा पिताबाट सिकेको धुन, अमेरिकामा छोरीहरूलाई सुम्पिँदै
ल्यानक्यास्टरका सहवीर गुरुङ र उनका छोरीहरूको सांगीतिक यात्रा
ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ अमेरिकाको पेन्सिल्भेनिया राज्यको ल्यानक्यास्टरमा नेपाली भाषी समुदायको कुनै पनि कार्यक्रम कल्पना गर्नुस् — यदि त्यहाँ सहवीर गुरुङको बासुरी र उनका छोरीहरूको संगीत गुन्जिँदैन भने, त्यो कार्यक्रम अधुरो लाग्छ।
भूटानबाट विस्थापन, नेपालका शरणार्थी शिविरका दिन र अमेरिकाको व्यस्त जीवनबीच पनि नरोकिने संगीत — सहवीर गुरुङ परिवार प्रेरणाको अर्को नाम हो ।
आज ल्यानक्यास्टर मात्र होइन, ह्यारिसबर्गसम्म नेपाली समुदायका कार्यक्रममा “सहवीर र उनका छोरीहरूको लाइभ प्रस्तुति”माग हुन थालेको छ।
सहवीर गुरुङ बासुरी बजाउँछन्। उनकी जेठी छोरी सुहाना गुरुङ प्याड्रम र मादलमा निपुण हुँदैछिन् भने कान्छी छोरी जोया गुरुङ किबोर्ड र भायोलिन बजाउँछिन्।

बाबु र छोरीहरूको यो सांगीतिक सहकार्य केवल मनोरञ्जन होइन, यो पहिचान, संस्कार र पुस्तान्तरणको कथा हो।
विस्थापनको पीडा, संगीतको सहारा
सहवीर गुरुङ नेपाली भाषी भूटानी हुन्। सन् १९९० को दशकमा लाखौँ नेपाली भाषीसँगै उनी र उनको परिवार भूटानबाट विस्थापित भए।
जन्मथलो न्याउली, भूटानको सामुजंगर जिल्लाको दालिम गाउँ।
शरणार्थी जीवन, अनिश्चित भविष्य र संघर्षका बीच पनि सहवीरले कहिल्यै बासुरी छोडेनन्।
“मेरो पहिलो गुरु भनेकै मेरो बुबा हुनुहुन्थ्यो,” सहवीर सम्झिन्छन्,
“उहाँ गाउँमै निकै राम्रो बासुरी बजाउनुहुन्थ्यो। उहाँकै हात समाएर मैले बासुरी समात्न सिकेँ।”
नेपालका शरणार्थी शिविरमा रहँदा उनले अभ्यासको समय त पाए, तर आर्थिक अवस्था कमजोर थियो।
तर संगीतप्रतिको मोहले उनलाई रोक्न सकेन।
“संगीत भयो भने म त्यहाँ जानैपर्थ्यो, सुन्नैपर्थ्यो,” उनी भन्छन्,“त्यो त मेरो लागि सासजस्तै भइसकेको थियो।”
अनलाइन कक्षा, विश्वव्यापी गुरु
अमेरिका आएपछि सहवीरको सांगीतिक यात्रा नयाँ चरणमा प्रवेश गर्यो।
अनलाइन माध्यमबाट उनले भारत, नेपाल र अन्य देशका गुरुहरूसँग बासुरी, प्याड र साउन्ड डिजाइन सिके।
“मुरताजा कबीर सरसँग मैले दुई–तीन वर्ष अनलाइन बासुरी सिकेँ,” सहवीर भन्छन्,
“अनलाइन भए पनि तुरुन्त फिडब्याक पाइन्थ्यो, भिडियो पठाएर ‘यसरी बजा’ भनेर सिकाउनुहुन्थ्यो।”
उनका अनुसार अनलाइन सिकाइ फेस–टु–फेसभन्दा फरक भए पनि, ज्ञान र प्रतिबद्धता भए धेरै प्रभावकारी हुन सक्छ।
घरमै बनेको स्टुडियो

ल्यानक्यास्टरस्थित आफ्नै घरमा सहवीरले सानो तर व्यवस्थित सांगीतिक स्टुडियो बनाएका छन्।
यहीँ बाबु–छोरीहरू अभ्यास गर्छन्, गीत रेकर्ड हुन्छन् र नयाँ धुन जन्मिन्छन्।
“यो स्टुडियो हाम्रो अभ्यास मात्रै होइन, सपना बुन्ने ठाउँ हो,” सहवीर मुस्कुराउँदै भन्छन्।
भविष्यमा उनले आफ्ना छोरीहरू बाहेक अन्य बालबालिकालाई पनि संगीत सिकाउने योजना बनाएका छन्।
सुहाना गुरुङ : मादल र प्याडको ताल
१६ वर्षीया सुहाना गुरुङ दुई वर्षदेखि नियमित रूपमा प्याड्रम र मादल सिकिरहेकी छन्।
“युट्युबमा मादल बजाउने भिडियो हेर्दा मलाई पनि बजाउन मन लाग्यो,” सुहाना भन्छिन्,
“प्याड्रम र मादल मिल्दोजुल्दो छ, त्यसैले सिक्न सजिलो भयो।”
लाइभ प्रस्तुतीमा डर लाग्छ त?
“अलिकति डर त लाग्छ,” उनी खुलस्त भन्छिन्, “तर धेरै प्राक्टिस गरेपछि कन्फिडेन्स आउँछ।”
भविष्यमा उनी डाक्टर बन्न चाहन्छिन्, तर संगीत छोड्ने सोच छैन।
“डाक्टर भए पनि म्युजिक त मेरो जीवनको हिस्सा नै हुन्छ,” उनी भन्छिन्।
जोया गुरुङ : किबोर्ड र भायोलिनको संसार
छैठौँ कक्षामा पढ्ने जोया गुरुङ किबोर्ड, भायोलिन, नृत्य, कराते र योगा सबै सँगसँगै सिक्दैछिन्।
“पहिला होमवर्क, अनि म्युजिक,” जोया अनुशासनको सूत्र सुनाउँछिन्,
“सबै गर्न गाह्रो हुन्छ, तर टाइम मिल्छ।”
उनलाई किबोर्डमा नयाँ धुन निकाल्दा सबैभन्दा आनन्द आउँछ।
आमाको साथ, परिवारको शक्ति
सहवीरकी श्रीमती देवी गुरुङका लागि यो घर अब सानो संगीत विद्यालय जस्तै बनेको छ।
“झन्झट लाग्दैन,” उनी भन्छिन्,
“नानीहरूले मनबाट संगीत सिकिरहेका छन्, त्यो देख्दा खुशी लाग्छ।”
स्कुलको दबाब बढ्दा उनी नै छोरीहरूलाई हौसला दिन्छिन्।
संगीत, पहिचान र पुस्ता
सहवीर गुरुङ परिवारको कथा केवल एउटा परिवारको सफलता होइन।
यो भूटान–नेपाल–अमेरिका हुँदै विश्वभर फैलिएको नेपाली भाषी समुदायको साझा कथा हो।
विस्थापनले घर खोस्यो होला, तर संगीतले पहिचान जोगाइदियो। आज बासुरीको स्वरमा भविष्यको सपना मिसिँदै छ — बाबुबाट छोरीहरूतर्फ।

















