सोमाली मूलका अमेरिकी नागरिकबाट एयरपोर्टमा घोषणा नगरी लान खोजिएको नगद रकम बरामद
मिनेसोटा / अमेरिकाको मिनियापोलिस–सेन्ट पल अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानमार्फत घोषणा नगरी बाहिर लैजान खोजिएको नगद रकम अमेरिकी अधिकारीहरूले बरामद गरेका छन्।
जनवरी १८ तारिखका दिन होमल्यान्ड सेक्युरिटी इन्भेस्टिगेसन्स (एचएसआइ) सेन्ट पल कार्यालय र अमेरिकी कस्टम्स एण्ड बोर्डर प्रोटेक्सन (सीबीपी) ले संयुक्त कारबाही गर्दै अन्तर्राष्ट्रिय उडानमा प्रस्थान गर्न लागेका दुई जना सोमाली मूलका अमेरिकी नागरिकबाट जम्मा १४,१३५ अमेरिकी डलर नगद रकम नियन्त्रणमा लिएका हुन्।
अमेरिकी कानुनअनुसार अन्तर्राष्ट्रिय यात्राका क्रममा १०,००० डलरभन्दा बढी नगद वा सो बराबरको गरगहना बोकेको अवस्थामा यात्रुले अनिवार्य रूपमा सम्बन्धित निकायमा घोषणा गर्नुपर्ने व्यवस्था छ।
घोषणा नगरी यस्तो रकम लैजान खोजिएको पाइएमा उक्त रकम जफत हुन सक्ने र थप कानुनी कारबाहीसमेत हुन सक्छ।
अधिकारीहरूका अनुसार अन्तर्राष्ट्रिय सीमा पार गरी अवैध रूपमा रकम सार्ने प्रयासहरू राष्ट्रिय सुरक्षा, वित्तीय अपराध, आतङ्कवादको वित्तपोषण तथा मनी लन्डरिङजस्ता गतिविधिसँग सम्बन्धित हुन सक्ने भएकाले यस प्रकारका निगरानी र जाँचलाई उच्च प्राथमिकताका साथ अघि बढाइँदै आएको छ।
अधिकारीहरूले यात्रुहरूलाई यात्रा अघि नै नगद घोषणा सम्बन्धी नियमहरू बुझ्न र पालना गर्न आग्रह गरेका छन्। “सीमापार नगदको अवैध ओसारपसार रोक्न र राष्ट्रिय सुरक्षाको रक्षा गर्न आइस र सीबीपी सधैँ सतर्क छन्,” निकायले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।
यस घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाइएको छ।

















