चुस्त व्यवस्थापनको उदाहरण : ह्यारिसबर्गमा ‘नेपाली समय’ तोड्दै भव्य रूपमा मनाइयो माघे सङ्क्रान्ति
ह्यारिसबर्ग, पेन्सिल्भेनिया / अमेरिकास्थित नेपाली भाषी समुदायमा प्रचलित एउटा चर्चित शब्द छ — ‘नेपाली समय’।
धेरैजसो संघ–संस्थाले आयोजना गर्ने कार्यक्रम तोकिएको समयमा सुरु नहुने, अतिथि कुर्दा–कुर्दा कार्यक्रम ढिलो हुने, कहिलेकाहीँ आयोजक नै समयमा नआइपुग्ने अवस्था सामान्यजस्तै मानिन्छ। यही प्रवृत्तिलाई व्यङ्ग्य गर्दै ‘नेपाली समय’ भन्ने गरिन्छ।
तर गत शनिबार (जनवरी १७) अमेरिकाको पेन्सिल्भेनिया राज्यको राजधानी ह्यारिसबर्गमा आयोजित माघे सङ्क्रान्ति कार्यक्रमले यो पुरानो मानसिकतालाई तोड्दै नयाँ उदाहरण प्रस्तुत गर्यो।
ग्रेटर ह्यारिसबर्ग मगर अर्गनाइजेशनद्वारा आयोजित माघे सङ्क्रान्ति कार्यक्रम चुस्त व्यवस्थापन, समयपालन र सुसंस्कृत प्रस्तुतिसहित सव्य र भव्य रूपमा सम्पन्न भयो।
समयमै सुरु, अमेरिकी समयमै सञ्चालन
आयोजकले मध्यान्ह १२ बजे कार्यक्रम सुरु हुने जानकारी दिएका थिए। त्यही समयमा अधिकांश अतिथि पाहुना नजिकै भइरहेको ग्लोबल तेक्वान्दो एकेडेमीद्वारा आयोजित तेस्रो अन्तर–विद्यालय तेक्वान्दो प्रतियोगितामा सहभागी भइरहेका थिए।
तर अतिथि कुर्दै बस्ने ‘नेपाली समय’लाई निरन्तरता नदिँदै आयोजकले पूर्वनिर्धारित समयमै कार्यक्रम सुरु गरे — अझ स्पष्ट रूपमा भन्नुपर्दा, अमेरिकी समयलाई पूर्ण रूपमा पालना गरियो।

सुरुबाटै व्यवस्थित कार्यक्रम
कार्यक्रमको सुरुदेखि अन्त्यसम्म व्यवस्थापनमा कुनै कमजोरी देखिएन। स्वयंसेवकहरू सजगताका साथ खटिएका थिए।
निम्त्याइएका अतिथिहरूका लागि नाम लेखिएको स्टिकर सिटमै टाँसिएको, साथै कार्यक्रमको विस्तृत कार्यसूची प्रत्येक सिटमा राखिएको दृश्य आफैंमा फरक र प्रशंसनीय थियो।

कार्यक्रमको सुरुआत सङ्गीतकर्मी मुस्कान बलम्पाकी र उनका विद्यार्थीहरूको लाइभ सङ्गीत प्रस्तुतिबाट भयो। लाइभ प्रस्तुति सकिन नपाउँदै ग्रेटर ह्यारिसबर्ग मगर अर्गनाइजेशनका अध्यक्ष नर बलम्पाकीले दीप प्रज्वलन गर्दै औपचारिक कार्यक्रमको थालनी गरे।
पाँच घण्टामा ४१ कार्यक्रम, भाषण मात्र तीन
कार्यक्रम उद्घोषण जिम्मेवारी सम्हालेकी मेलिना मोक्तानले समयको दबाबलाई सहज रूपमा व्यवस्थापन गरिन्। उनलाई समुदायकै चर्चित उद्घोषक प्रजित राना तथा स्वयंसेवकहरूको टोलीले सशक्त साथ दिएको थियो।
स्टेजमा एउटा प्रस्तुति सकिँदा नसकिँदै अर्को टोली तयारी अवस्थामा देखिन्थ्यो।
पाँच घण्टाको अवधिमा ४१ वटा कार्यक्रम प्रस्तुत भए — जसमा भाषण मात्र तीन जनाका थिए। बाँकी सबै कार्यक्रम सांस्कृतिक र सङ्गीतिक प्रस्तुतिले भरिपूर्ण थिए।

कार्यक्रमको अन्त्य हुर्रा नृत्यसँगै उत्साहपूर्ण वातावरणमा टुङ्गियो।
संस्कार, संस्कृति र स्वादको संगम
माघे सङ्क्रान्तिको मुख्य परिकार तरुलसहितको नेपाली भोजन, आपसी शुभकामना आदान–प्रदानले हलको रौनक अझ बढाएको थियो।
मगर समुदायको परम्परागत भेषभूषा र सांस्कृतिक पहिचानलाई विशेष प्राथमिकता दिइएको देखिन्थ्यो, जसले कार्यक्रममा मौलिकता थप्यो।
सम्मान र प्रेरणाका क्षण
कार्यक्रमका क्रममा ग्रेटर ह्यारिसबर्ग मगर अर्गनाइजेशनले फरक–फरक क्षेत्रमा योगदान पुर्याएका दुई व्यक्तित्वलाई सम्मान प्रदान गर्यो।
संस्कृतिविद् खर्का समाललाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरियो।
यस्तै सङ्गीतकर्मी मुस्कान बलम्पाकीलाई ‘युथ आइकन अवार्ड’ प्रदान गरिएको थियो।
प्रमुख अतिथिका रूपमा उपस्थित पेन्सिल्भेनियाको डाउफिन काउन्टी अन्तर्गत स्वातारा टाउनसिपकी आयुक्त विनिता पुरी राई तथा विशेष अतिथि भुट्निज कम्युनिटी इन सेन्टर पेन्सिल्भेनियाका अध्यक्ष युवराज कोइरालाले शुभकामना मन्तव्य व्यक्त गरे।
ह्यारिसबर्गमा सम्पन्न माघे सङ्क्रान्ति कार्यक्रम केवल चाडपर्वको उत्सव मात्र होइन, यो समयपालन, व्यवस्थित आयोजना र सामुदायिक परिपक्वताको उदाहरण बन्यो।
‘नेपाली समय’ भन्ने पुरानो धारणा तोड्दै, यस कार्यक्रमले देखायो — नेपाली कार्यक्रम पनि समयमै, सुसंस्कृत र उच्चस्तरीय हुन सक्छ।

















