ट्रम्प प्रशासनद्वारा नयाँ भिसा बन्ड नीति लागु, तीन विमानस्थलबाट मात्र प्रवेश अनुमति
कार्लाल, पेन्सिलभेनिया / ट्रम्प प्रशासनले नेपालसहित ३८ देशलाई नयाँ भिसा बन्ड नीतिमा समावेश गर्ने भएको छ ।
अमेरिकी विदेश मन्त्रालयले सूचना सार्वजनिक गर्दै यही २१ जनवरी २०२६ देखि नेपालसहित ३८ देशलाई भिसा बन्ड नीतिमा समावेश गर्ने भएको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले नेपाललाई भिसा बन्ड नीतिमा समावेश गरेसँगै यही जनवरी २१ तारिखदेखि व्यवसाय र पर्यटन भिसाका लागि आवेदन दिने आवेदकले १५ हजार डलरसम्म धरौटी राख्नुपर्ने जनाइएको छ ।
विदेश मन्त्रालयले भिसाको अवधिको मूल्याङ्कन गर्दै धरौटी रकममा थपघट हुन सक्ने जनाएको छ । मन्त्रालयले ५ हजार, १० हजार वा १५ हजार अमेरिकी डलरसम्मको धरौटी बुझाउनुपर्ने व्यवस्था गरिने जनाएको छ । धरौटी रकम भिसा अन्तर्वार्ताकै क्रममा निर्धारण गरिने तथा धरौटी रकम तिरे पनि भिसा स्वीकृत हुने निश्चित नहुने बताइएको छ ।
धरौटी तिरेका भिसा धारकहरूले सम्बन्धित विमानस्थलबाट अमेरिका प्रवेश गर्न पाउनेछन् । नियमअनुसार धरौटी तिरेर भिसा प्राप्त गरेका यात्रुहरूले तोकिएका सीमित प्रवेश बिन्दुहरूबाट मात्र अमेरिका प्रवेश तथा प्रस्थान गर्न पाउने जनाइएको छ ।
आप्रवासन नियम अनुसार हाल बोस्टनस्थित लोगान अन्तर्राष्ट्रिय विमानस्थल, न्यूयोर्कस्थित जोन एफ. केनेडी अन्तर्राष्ट्रिय विमानस्थल र वासिङ्टन डलेस अन्तर्राष्ट्रिय विमानस्थललाई मात्र यस्ता भिसा धारकका लागि मान्य प्रवेश बिन्दुका रूपमा तोकिएको छ । यी बाहेक अन्य विमानस्थल प्रयोग गरी प्रवेश गर्न खोजेमा यात्रुलाई विमानस्थलमै रोक लगाइन सक्ने, प्रवेश प्रक्रिया ढिलाइ हुने वा पूर्ण रूपमा अस्वीकार गरिने सम्भावना रहेको बताइएको छ ।
अमेरिकी अध्यागमन अधिकारीहरूका अनुसार नियम उल्लङ्घनको असर तत्काल मात्र होइन, भविष्यमा पनि पर्न सक्नेछ । गलत प्रवेश बिन्दु प्रयोग गरेको खण्डमा आगामी भिसा आवेदन अस्वीकृत हुने, यात्रामा प्रतिबन्ध लाग्ने वा थप कानुनी जटिलता उत्पन्न हुन सक्ने जोखिम रहने जनाइएको छ ।
धरौटी तिरेका भिसा धारकहरूलाई यात्रा योजना बनाउँदा अत्यन्त सतर्क रहन र आधिकारिक रूपमा तोकिएका विमानस्थलबाट मात्र अमेरिका प्रवेश र प्रस्थान गर्न सुझाव दिइएको छ ।
सही जानकारी र नियमको पालना गरेमा अनावश्यक समस्या र जोखिमबाट बच्न सकिने अधिकारीहरूको भनाइ छ ।
अमेरिकाले पर्यटक भिसालाई बी–१ र बी–२ भिसामा विभाजन गरेको छ । अधिकांश नेपाली पर्यटकहरू बी–१ र बी–२ भिसामै अमेरिका आउने गरेका छन् । अमेरिकी विदेश मन्त्रालयका अनुसार तोकिएको न्यूनतम समयभन्दा बढी अमेरिका बस्ने ‘ओभरस्टे’ दर र कागजात सुरक्षासम्बन्धी कमजोरी भएका मुलुकका लागि यो नीति विस्तार गरिएको जनाएको छ ।


















