डिस्का कार्ललको आयोजनामा मार्चमा ‘ड्रुक कराते च्याम्पियनसिप’ हुने
कार्लल, पेन्सिल्भनिया / ड्रुक इन्टरनेश्नल सितोरियो कराते डो एसोसिएसन (डिस्का) कार्लल डोजोको आयोजनामा ड्रुक कराते च्याम्पियनसिप २०२६ हुने भएको छ।
डिस्का कार्लल डोजोका प्रमुख प्रशिक्षक निम लामाका अनुसार मार्च १४ तारिखका लागि च्याम्पियनसिपको मिति तय भएको छ।
डिस्का अमेरिकामा रहेका नेपाली भाषी भूटानी समुदायका कराते प्रशिक्षकहरूले सन् २०१७ मा स्थापना गरेको संस्था हो।
डिस्काले समुदायमा आधारित कराते प्रशिक्षण दिँदै आएको छ।
लामाका अनुसार च्याम्पियनसिप मार्च १४ तारिख शनिवार बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन हुनेछ। च्याम्पियनसिप किस्टोन फिल्ड हाउसमा हुने छ।
‘डिस्काका हरेक डोजोले पनि च्याम्पियनसिप आयोजना गर्ने भन्ने छ त्यस अनुसार यस च्याम्पियनसिपका सबै आर्थिक भार कार्लल डोजोले नै बेहोर्ने गरी संस्थाको मातहतमा हामीले च्याम्पियनसिप आयोजना गर्न लागेका हौ।’ कार्लल डोजोका प्रमुख प्रशिक्षक लामाले समाज टाइम्स सँग भने।
च्याम्पियनसिपमा विभिन्न उमेर समूहका खेलाडीहरूले सहभागिता जनाउनेछन्। च्याम्पियनसिपले अनुशासन, आत्मरक्षा, शारीरिक तथा मानसिक सशक्तीकरणमार्फत नयाँ पुस्ताका कराते खेलाडीलाई प्रोत्साहन गर्ने लक्ष्य लिएको छ।
आयोजकका अनुसार प्रतियोगितामा सहभागी हुन दर्ता शुल्क ९० डलर तोकिएको छ। प्रशिक्षहरुका लागि २० डलर र दर्शकका लागि ५ डलर प्रवेश शुल्क निर्धारण गरिएको छ। इच्छुक खेलाडी तथा टोलीले www.tournamentinabox.com मार्फत अनलाइन दर्ता गर्न सक्नेछन्।
थप जानकारीका लागि ४०४-९४०-५३३९ नम्बरमा सम्पर्क गर्न वा diskadojo2@gmail.com मा इमेल गर्न सकिनेछ।
कराते खेल प्रेमी, खेलाडी तथा समुदायका सदस्यहरूका लागि यो प्रतियोगिता प्रतिभा प्रदर्शन र अन्तरक्रियाको महत्त्वपूर्ण अवसर हुने अपेक्षा गरिएको छ।
लामाले डिस्का भन्दा बाहिरका खेलाडीले पनि च्याम्पियनसिपमा भाग लिने बताए।
‘डिस्का भन्दा बाहिरबाट पनि खेलाडी आउँछन्’ लामाले भने ‘दुई सय भन्दा धेरै खेलाडीले प्रतिस्पर्धा गर्ने छन् भन्ने हाम्रो अनुमान छ।’
डिस्काले अमेरिकाका विभिन्न ६ स्थानमा डोजो (प्रशिक्षण केन्द्र) सञ्चालन गर्दै आएको छ। ती डोजहरूमा नियमित कराते प्रशिक्षण, बेल्ट ग्रेडिङ, शारीरिक–मानसिक विकाससम्बन्धी तालिम, सेमिनार तथा प्रतियोगिताहरू आयोजना गरिँदै आएका छन्।

















