पेन्सिल्भेनियाको ह्यारिसबर्गमा दुई दिन लगाएर धूमधाम मनाइयो ग्राण्ड तमु ल्होसार
ह्यारिसबर्ग, पेन्सिल्भेनिया / अमेरिकाको पेन्सिल्भेनियामा दुई दिन सम्म विविध कार्यक्रम गरी ग्राण्ड तमु ल्होसार धूमधाम मनाइएको छ।
युनाइटेड गुरुङ सोसाइटी अफ अमेरिका (युजीएसए) को आयोजनामा ग्राण्ड तमु ल्होसार मनाइएको हो।
पहिलो दिन शुक्रवार पेन्सिल्भेनियाको कार्ललमा विविध मौलिक खेलकुद प्रतियोगिता आयोजना गरिएको थियो भने गुरुङ भाषाको चलचित्र ‘रिमे’ को प्रदर्शनी र साँझ ‘रोधी’ कार्यक्रम गरिएको थियो।
यसै गरी शनिवार पेन्सिल्भेनियाको राजधानी ह्यारिसबर्गमा दिन भर सांस्कृतिक तथा परम्परागत र मौलिक साङ्गीतिक कार्यक्रम आयोजना गरिएको थियो।
कार्यक्रमको शुरुवात झाँकी सहितको र्यालीबाट गरिएको थियो। नेपाली ग्रामीण बस्तीमा समेत लोपोन्मुख अवस्थामा पुगेको ‘बाटुले घर’ लाई र्यालीको अग्र भागमा राखिएको थियो।

त्यस पछि गुरुङ समुदायको पहिचान रहेको वर्गको चक्रलाई र्यालीमा समावेश गरिएको थियो। र्यालीमा सहभागीहरू आ आफ्नो मौलिक र पहिचान झल्काउने भेषभुषामा रहेका थिए।
र्याली पछि दिवा भोज र हलमा विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो। तमु प्ये ल्हु संघ, न्यू योर्क अमेरिकाको छ्याडु (शेर्गा) नृत्य सँगै ‘युजीएसए ग्राण्ड तमु ल्होसारको’ औपचारिक कार्यक्रम शुरु भएको थियो।

तमु प्ये ल्हु संघ, न्यू योर्कका अध्यक्ष तेज गुरुङको प्रमुख आथित्यता रहेको औपचारिक कार्यक्रम युजीएसएकी उपाध्यक्ष सुचिता गुरुङको सभापतित्वमा भएको थियो।
गुरुङ कम्युनिटी अफ ग्रेटर कार्ललका अध्यक्ष मान ध्वज गुरुङले स्वागत मन्तव्य दिएका थिए।
अमेरिकी राष्ट्रिय गान र गुरुङ राष्ट्रिय गान पछि प्रमुख अतिथि तेज गुरुङ र कार्यक्रमकी सभापति सूचिता गुरुङले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका थिए ।
ल्यानक्यास्टरका बालिकाहरूले प्रस्तुत गरेको गुरुङ समुदायको मौलिक र परम्परागत ‘घाँटु नाच’ ले हलको रौनकता बढाएको थियो।

यस्तै तेक्वान्दो र नृत्य प्रशिक्षक तथा कोरियो ग्राफर विकास घले गुरुङको नेतृत्वमा गीतिकथा सहितको ‘सोरठी नाच’ सहित अन्य मौलिक नृत्य प्रस्तुत गरिएको थियो। कार्यक्रममा गुरुङ समुदायको पोशाक प्रदर्शनी तथा पाते लघुनाटक समेत प्रस्तुत गरिएको थियो।


कार्यक्रममा युजीएसएको स्थापना र यस संस्थाले खेल्दै आएको भूमिकाका बारेमा पावर प्वाइन्ट प्रस्तुत गरिएको थियो।
यस्तै बालबालिकाहरूलाई तत्काल सहभागिता गराएर क्विज खेलाइएको थियो। जहाँ गुरुङ समुदायको पहिचान र परम्पराका बारेमा प्रश्न सोधिएको थियो ।
दुई उमेर समूहमा विभागज गरि गरिएको क्विज प्रतियोगिताका विजेता उप विजेता र तेस्रो हुनेलाई नगद पुरस्कार समेत प्रदान गरिएको थियो।
कार्यक्रममा एक सय पाँच वर्षीया जेष्ठ नागरिक मेनमायाँ घले गुरुङलाई सम्मान गरिएको थियो।
युजीएसएका उपाध्यक्ष अगम गुरुङले यस पटकको बृहत् तमु ल्होसार भव्य सफल भएको बताए।
‘युजीएसएले हरेक वर्ष फरक फरक शहरमा बृहत् ल्होसार आयोजना गर्दै आएको छ, ह्यारिसबर्गले दुई वर्ष पछि पालो पाएको हो, भव्य रुपमा हामीले कार्यक्रम सफल बनायौ।’ कार्यक्रम पछि समाज टाइम्स सँगको कुराकानीमा उपाध्यक्ष गुरुङले भने।
‘हामीले पुष १४ को राति विधिपूर्वक पूजा गरेर पुरानो वर्गलाई बिदा र नयाँ वर्गको स्वागत गर्यौ र शुक्रवार खेलकुद, रोधीका कार्यक्रम भए आज बृहत् कार्यक्रम गरेका हौ।’ उनले भने।
उनले युजीएसए गुरुङ जातीको पहिचानमा जोड दिए संस्था भएको बताए।
‘हामीले धर्म भन्दा पनि संस्कारलाई जोड दिँदै आएका छौ।’ उपाध्यक्ष अगम गुरुङले भने, ‘जुनसुकै धर्म मान्ने गुरुङहरू हाम्रो संस्थामा आबद्ध छन्, धर्म चाहिँ आस्था हो भने संस्कार संस्कृति चाहिँ पहिचान हो।युजीएसए धर्म निरपेक्ष संस्था हो।’ उनले थपे।
गुरुङले यस पटकको ग्राण्ड तमु ल्होसारमा पाँच हजारको हाराहारीमा सहभागिता रहेको दाबी गरे।
‘हलमा सिट क्षमता तीन हजारको हो, सिट भरिएर लबीमा पनि ठूलो संख्यामा मानिसहरू थिए।’ उनले भने।

उपाध्यक्ष गुरुङले जुन सुबै देशमा जन्मिएको भए पनि अमेरिकामा बसोबास गर्ने गुरुङ युजीएसएको सदस्य हुन पाउने बताए।
‘यो भुटान अथवा नेपाल बाट मात्र होइन संसारका जहाँ बाट आए पनि गुरुङहरुको एउटा संस्था हो ।’ उनले भने ।
युजीएसए ग्राण्ड तमु ल्होसारमा पेन्सिल्भेनिया बाहेकका अन्य राज्यहरूबाट पनि सहभागी थिए।
कार्यक्रमका प्रमुख अतिथि तथा तमु प्ये ल्हु संघ, न्यू योर्क अध्यक्ष तेज गुरुङले ह्यारिसबर्ग तमु ल्होसारको भव्य क्रम हुनु गर्वको कुरा भएको बताए।
‘यो एकदमै गर्व को कुरा हो। मान्छे जन्म कहाँ हुन्छ, मृत्यु कहाँ हुन्छ, हैन? आफ्नो संस्कार, संस्कृति, रीतिरिवाज, धर्म, भाषा, भेष-भूषा सँगसँगै लिएर जाने रहेछ। त्यही क्रममा एउटा न्यू योर्क जस्तो व्यस्त सिटी बाट आज यहाँ ह्यारिसबर्गमा आएर ल्होसार मनाउन पाउँदा एकदमै खुशी छौ ।’
नेपालमा लमजुङका तेजले युजीएसएले प्रयास राम्रो भएको बताए।
‘१२ वर्षमा फर्किन्छ भन्निन्छ, पहिलो र दोस्रो विश्व युद्ध, लाहुर जाने प्रचलन, वैदेशिक रोजगारीका कारण विभिन्न देशमा छरिएका गुरुङ समुदायलाई फेरि जोड्नु राम्रो हो।’ अध्यक्ष तेजले भने,’ त्यो छुटेर गएको एउटा रीति रिवाज संस्कृतिलाई फेरि पुनः जोड्नलाई उहाँहरू आतुर हुनुहुन्छ। उहाँहरूले जति सक्दो त्यो कोसिस गरेको हामी पाउँछौँ। गुरुङको संस्कार, संस्कृति, भाषा, भाषा, भूषा र धर्म लाई अझै बलियो रुपमा प्रस्तुत गर्ने कोसिस उहाँहरूले गर्नु भएको जस्तो मैले पाएको छु।’

यस्तै जर्जियाबाट लङ ड्राइभ मार्फत तमु ल्होसारमा सहभागी हुन आएकी डिक्की गुरुङले ह्यारिसबर्गको आथित्यता राम्रो रहेको प्रतिक्रिया दिइन।
‘म र मेरो छ जना साथीहरू एटलान्टा जर्जिया देखि यहाँ आएका हौ, एकदम टाढा, एकदम लङ जर्नी १०-११ घण्टा ड्राइभ गरेर आएका हौ।’ डिक्कीले भनिन्, ‘यहाँको हल राम्रो, व्यवस्थापन राम्रो लाग्यो, खाना पनि राम्रो खुवाउनु भयो, म खुसी छु।’
उनले संस्कृति जोगाउन आफूहरूले लामो यात्रा पनि गरेको बताइन।
‘जर्जियामा एकदम गर्मी मौषम र यहाँ ह्रयारिसबर्गमा आउँदा एकदम चिसो भयो, हामीलाई र एक जना हाम्रो मेम्बरलाई चिसो लागेको छ तर पनि उसले दबाई खाएर हामी सँग आज पर्फॉर्म गर्ने छन्। किनकि हाम्रो संस्कृति धेरै महत्त्वपूर्ण छ।’
यसै ल्होसारका लागि नेपालबाट आएकी कलाकार बालकासी गुरुङले विदेशमा गुरुङ समुदायको संस्कार र संस्कृति जोगाउन चुनौती पूर्ण तर गौरवको विषय भएको बताइन् ।
‘आफू जन्मेको ठाउँ र आमा भन्दा प्यारो केही पनि छैन भन्ने एउटा उखान छ नि। साँच्चिकै मलाई हो जस्तो लाग्छ’ बालकासीले भनिन्, ‘विदेशमा आइसके पछाडि आफ्नो कला, संस्कृति, आफ्नो भाषा, भेषभुषाको यति महत्त्व हुँदो रहेछ भन्ने कुरा चाहिँ आफ्नै देशमा छदा भन्दा पनि यो विदेशमा विभिन्न अवसरको खोजीमा अथवा विभिन्न कारणले विदेशी एक दाजुभाइ दिदीबहिनी चाहिँ आफ्नो कल्चर जोगाउन लागि पुर्याउनु भएको योगदान साँच्चै उदाहरणीय छ।’
यस्तै नेपालमा शरणार्थी शिविर देखि नै गीत संगित र नाटकमा सहभागी हुँदै आएका कलाकार जितु गुरुङले युजीएसएले आयोजना गर्ने ग्राण्ड तमु ल्होसार हरेक वर्ष उत्कृष्ट हुँदै गएको प्रतिक्रिया दिए ।
‘एकदम गजबै भइरहेको अवस्था हो पोहोरको साल पहिला त्यो भन्दा नि पहिला त्यसरी नै बिस्तारै बिस्तारै एक बर्सौँ वर्षै पिछे हामी यसलाई विस्तार गर्दै हौ।’ जितुले भने, ‘आफ्नो जे छ प्रस्तुतीकरण जे भयो हाम्रो।’
तमु ल्होसार गुरुङ समुदायको प्रमुख चाड हो। ल्होसारलाई नयाँ वर्षको रुपमा मनाइन्छ। विक्रम संवतको पात्रो अनुसार पुस १५ दिन गुरुङ समुदायले ल्होसार अर्थात नयाँ वर्ष बनाउँछन्।
गुरुङ भाषामा ‘ल्हो’ भनेको वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग फेरिने दिनलाई ‘ल्होसार’ भनिएको हो ।
‘पे म्ह्स्या, छ्या म्हमु,छ्या म्हस्या ल्हु म्हमु, ल्हु म्ह्स्या म्हि म्हमु’ शास्त्र हराए संस्कृति हराउँछ, संस्कृति हराए परम्परा हराउँछ अनि परम्परा हराए मान्छे नै हराउँछ भन्ने तमु समुदायको मूल नारा छ ।
यस पटक तमु गुरुङ समुदायले सप्री ल्हो (सर्प वर्ष) लाई बिदा गर्दै त ल्हो (घोडा वर्ग) को स्वागत गरेका हुन्।
















