अमेरिका निवासी सञ्जय थापा नेकपा एमाले केन्द्रिय सदस्यमा निर्वाचित
काठमाडौं/ अमेरिका निवासी प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापा नेकपा एमालेको केन्द्रिय सदस्यमा निर्वाचित भएका छन्।
काठमाडौंमा सम्पन्न एमालेको ११ औँ महाधिवेशनमा थापा प्रवास क्लस्टरबाट केन्द्रिय सदस्यमा विजयी भएका हुन्।
थापा अध्यक्षमा तेस्रो पटक भारी मत सहित विजयी केपी शर्मा ओलीको प्यानलबाट उम्मेदवार बनेका थिए।
थापा १६ सय २२ मत सहित विजयी भएका हुन्।
प्रवासबाट केन्द्रिय सदस्यमा प्रतिस्पर्धा गरेकाहरूमा हेम शेर्पाले चार सय ६२ मत र कमलमणि गुरागाईँ एक सय ४३ मत ल्याएर पराजित भए।
यसै बीच थापाले आफूलाई केन्द्रिय सदस्य निर्वाचित गराएकोमा धन्यवाद व्यक्त गरेका छन्।
‘११औँ महाधिवेशनमा प्रवास क्लस्टरबाट मलाई विजयी गराउनु हुने सम्पूर्ण प्रवास तथा गृहवासका प्रतिनिधिज्यूहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु।’ थापाले भनेका छन्, ‘प्रवासमा रहनु भएर नेपालमा रहेका आफन्त प्रतिनिधिज्यूहरू मार्फत मेरो पक्षमा मत तथा सहयोग पुर्याउनु हुने सबैप्रति विशेष आभार व्यक्त गर्दछु। साथै प्रवासबाट स्वयं उपस्थित भई दिन–रात अथक प्रचार–प्रसार गर्दै मलाई विजयी गराउन महत्त्वपूर्ण योगदान पुर्याउनु हुने सम्पूर्ण प्रतिनिधिज्यूहरूप्रति समेत हार्दिक धन्यवाद ज्ञापन गर्दछु।’















