एक एनआरएनएले स्वदेशप्रति गरेको एउटा योगदानको मानक :
२५औं वर्षदेखि निरन्तर चलिरहेको प्रतियोगिता
काठमाडौ/ सन् २००० मा सुरू भएको इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी) यसै साता आफ्नो २५ वर्ष पूरा गर्दैछ।
२५ वर्ष पूरा गरेर रजत जयन्ती मनाउँदै गर्दा यो प्रतियोगिता गैर आवासीय नेपालीले आफ्नो मातृभूमिप्रति दिएको योगदानको मानक बनेको छ। विदेशमा सिकेको सिपसँगै आर्थिक योगदान कसरी आफ्नो जन्मभूमिमा गर्ने भन्ने उदाहरण यो प्रतियोगिताले दिइरहेको छ।
सन् २०२४ मा दक्षिण कोरियामा प्रतियोगिता आयोजना गरेर इतिहास रचेको आइओएफसटिसीको १५औं संस्करण आगामी शुक्रबार र शनिबार काठमाडौंको दशरथ रंगशाला परिसरको कभर्ड हलमा हुँदैछ। जससँगै आइओएफटिसीले २५औं वर्षमा १५औं संस्करण गरेर अर्को इतिहास रच्नेछ।
यसको जन्मदाता ग्रान्डमास्टर दिवाकर महर्जन हुन्। उनकै पहलमा हरेक दुई-दुई वर्षमा आइओएफटिसी प्रतियोगिता हुँदै आएको छ।
अमेरिकाको पोर्टल्यान्डमा विगत ३० वर्षदेखि युएस वर्ल्ड क्लास तेक्वान्दो हलिउड स्कुल सञ्चालन गरिरहेका ग्रान्ड मास्टर महर्जन इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियनसिपपले २५ वर्षको यात्रा तय गर्दा सुखीसँगै भावुक पनि छन्।
आइओएफटिसी सन् २००० मा काठमाडौंको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रबाट सुरू गरेको क्षण बताइरहदा उनी भावुक थिए। अहिले २५ औं वर्षमा प्रवेर गरेर १५औं संस्करण आयोजना गरिरहदा सँगसँगै खुसी पनि छन् उनी।
‘सन् २००० मा पहिलो पटक इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दोको आयोजना भएको हो । अहिले १५ औँ संस्करणसम्म आइपुग्दा यसको आकार वृहत भइसकेको छ। आइओएफटिसीले आफ्नो उद्देश्यअनुरुप तेक्वान्दोमार्फत् खेल भावना, मैत्री र अन्तर्राष्ट्रिय एकता प्रवर्धन गर्दै आएको छ,’ उनले भने, ‘हामीले तेक्वान्दो खेल्न चाहाने जो कोहीलाई पनि अवसरबाट बन्चित हुन नपरोस भनेर अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता सुरूवात गरेका थियौं, आज यो प्रतोयोगिता २५औं वर्ष पूरा गरेकोमा निकै गर्व लागेको छ।’
अमेरिकाको पोर्टल्यान्डस्थित आइओएफटिसीले प्रत्येक दुई वर्षमा इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियनसीपको आयोजना गर्दै आएको छ।
आइओएफटिसीले पालैपालो एक संस्करण अमेरिका र अर्को संस्करण अमेरिका बाहिर गर्दै आएको छ । जसअनुसार आइओएफटिसीको आफ्नो प्रमुख कार्यालय रहेको अमेरिकाको पोर्टल्यान्डमा पाँच संस्करण, नेपालमा चार संस्करण, भारत, बेलायत र हङकङ, अमेरिकाकै मिचिगन र दक्षिण कोरियाको सोलमा एक–एक संस्करणको आयोजना भइसकेको छ।
सामाजिक भावनाले प्रतियोगिता आयोजना गर्दै तेक्वान्दो खेलाडीको हितका लागि काम गरे पनि महर्जनले पहिलो संस्करणदेखि नै चुनौती खेप्न पर्यो। यो संघर्ष अहिले पनि जारी नै छ।
‘सन् २००० को संस्करणदेखि नै हामीलाई असफल बनाउन तेक्वान्दोकै मानिसहरु पनि लागे। त्यो क्रम अहिले पनि जारी नै छ,’ महर्जनले भने, ‘हामीले राम्रो उद्देश्यका लागि काम गरेकाले अहिलेसम्म सफल हुँदै आएका छौं।’
गैरनाफामुलक संस्थाको रूपमा अघि बढेको आइओएफटिसीलाई महर्जन लगायतका अमेरिकामा रहेका स्वमसेवक व्यक्तिले आफ्नो समय र पैसा खर्च गर्ने गरेका छन्।
आइओएफटिसीमार्फत् तेक्वान्दो खेलको प्रवर्धन गरिरहेका महर्जन तेक्वान्दोको ‘सुपर क्लास’ (उच्च श्रेणी) को निर्णायक हुने पहिलो नेपाली हुन्। उनी दुई वर्ष सुपर क्लासको निर्णयक भएका थिए।
उनी तेक्वान्दोका आठौं डान समेत हुन्। तेक्वान्दोमा आठौं डान पाउने नेपाली मध्येमा औलामा गन्न सकिने व्यक्तिमा उनी पर्छन्। उनले १९८६ मा पहिलो डान लिएका थिए। ३७ वर्षपछि उनले गत वर्ष आठौं डान लिए।
महर्जनले तेक्वान्दोका डानसँगै हप्किडोको पनि आठौं डानको परीक्षा दिएका थिए। त्यसमा पनि उनी सफल भए।
तेक्वान्दोको सुपर क्लास निर्णायक र आठौं डन लिएर उच्च श्रेणीको तेक्वान्दोकर्मी बनिसकेका महर्जनको बाल्यकाल ललितपुरको पाटनमा बितेको थियो।
दक्षिण कोरियाका चिफ ग्रान्ड मास्टर जेके सिन कोरियाबाट आएर तेक्वान्दो सिकाउन थालेपछि नेपालमा तेक्वान्दो विकास हुन थालेको हो। सन् १९८२ को डिसेम्बरमा पहिलो पटक नेपाल भ्रमण आएका सिनले त्यसपछि नेपालमा तेक्वान्दो भित्र्याएका थिए।
धेरै प्रतियोगितामा भाग लिन नपाएका महर्जनले युवा अवस्थामै तेक्वान्दो सिकाउन थालेका थिए। सन् १९८६ मा उनले दशरथ रंगशालामा सिकाएक थिए। त्यसपछि उनले खेलकुद परिषदमा जागिर समेत पाए।
उनले पाटनमा मैत्री तेक्वान्दो डोजाङ समेत स्थापना गरेका थिए। २०५० सालको दर्ता भए पनि उनले दर्ताअघि नै डोजाङ स्थापना गरेका हुन्।
सन् १९९४ मा अमेरिकाको पुगेका उनले त्यहाँका खेलाडीसँग मिलेर सन् १९९५ मा अमेरिकाको पोर्टल्यान्डमा युएस वर्ल्ड क्लास तेक्वान्दो हलिउडको स्थापना गरे। जुन तेक्वान्दो स्कुल अहिलेसम्म पनि निरन्तर चलिरहेको छ।
अमेरिका तेक्वान्दो स्कुल स्थापना गरेपछि उनले सन् २००० देखि इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी) सुरुवात गरे।
२५औं वर्षमा १५औं संस्करण आयोजना हुन लागेको यसपटकको प्रतियोगितामा २ सय २२ स्वर्णका लागि प्रतिस्पर्धा हुँदैछ। विश्व तेक्वान्दोको नियमअनुसार सञ्चालन हुने आइओएफटिसीको १५ औँ संस्करणमा क्यारुगी (फाइट) र पुम्से (फर्म) दुवै विधा समावेश छन्। सिनियर पुरुष र महिलाको समान आठ, आठ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । यसैगरी, जुनियरतर्फ महिला र पुरुष गरी दस–दस तौल समूह र क्याडट वर्गमा दस–दस तौल समूहमा खेलाइनेछ। सिनियर, जुनियर र क्याडेट पुम्सेमा व्यक्तिगत, जोडी र टिम गरी तीन इभेन्टमा प्रतिस्पर्धा हुनेछ।
यसबाहेक बोर्ड ब्रेकिङ इभेन्ट पनि सामेल गरिएको छ। प्रतियोगितामा कूल २२२ स्वर्ण पदक, २२२ रजत पदक र ४४४ काश्य पदकका लागि प्रतिस्पर्धा हुनेछ । यसबाहेक बोर्ड ब्रेकिङ इभेन्टमा पनि पदक दिइनेछ ।
प्रतियोगतामा विजेताका साथै उत्कृष्ट खेलाडी, प्रशिक्षक र रेफ्रीहरुलाई पनि नगद पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिताको कुल पुरस्कार राशि सात लाख २५ हजार रुपियाँ रहेको छ।
यस संस्करणको प्रतियोगिताका अन्तर्राष्ट्रिय संयोजक अशोक खड्काका अनुसार नेपाल, दक्षिण कोरिया, अमेरिका, फिलिपिन्स, अस्ट्रेलिया, अष्ट्रिया, क्यानाडा, पाकिस्तान, भारत, हङकङ, चिन, मेक्सिको, माल्दिभ्स, बङगलादेशलगायतका राष्ट्रको सहभागिता रहनेछ। उनका अनुसार प्रतियोगितामा करीब एक हजार जना खेलाडी, प्रशिक्षक र रेफ्री प्रतियोगितामा सहभागी हुनेछन्।
नेपालमा हुने १५औं संस्करणमा तेक्वान्दोको हेडक्वार्टर कुकिवनका प्रशिक्षक मिन हाक सिओले नेपाल भ्रमण गर्नेछन्। प्रतियोगिताको पहिलो दिन पुम्से सेमिनारको पनि आयोजना हुनेछ । प्रशिक्षक सिओले सो सेमिनार सञ्चालन गर्नेछन्।
अस्ट्रेलियामा १६ औँ संस्करण
नेपाली खेलाडीहरुका लागि यो सन् २०२६ मा अस्ट्रेलियामा हुने १६ औँ इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियनसिपको छनोट पनि हो । यसै प्रतियोगिताबाट अस्ट्रेलियामा हुने प्रतियोगिता चयन गरिनेछ।
आइओएफटिसीले १६ औँ संस्करण गर्ने जिम्मेवारी अस्ट्रेलियालाई दिइसकेको छ। सो च्याम्पियन्सीपको मिति भने पछि तय गरिनेछ।













