एनआरएनएले तोक्यो चुनावको मिति
ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ गैर आवासीय नेपाली संघ (एनआरएनए) ले १२ औँ अधिवेशनको मिति तोकेको छ।
दुई समितिको एकता पछि एनआरएनए अन्तर्गत रहेको स्टेरिङ कमिटीको सोमबार बसेको बैठकले चुनावको मिति तय गरेको हो।
बैठकले एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा निर्वाचन आगामी फेब्रुअरी २३, २४ र २५, मा आयोजना गर्ने निर्णय गरेको छ।
महासचिवद्वय गौरी जोशी र बी आर लामाद्वारा हस्ताक्षरित विज्ञप्तिमा अधिवेशन स्थल भने तोकिएको छैन। यसै गरी एनआरएनएमा विवादको मुख्य कारण डेलिगेट छनौटका विषयमा पनि बैठक मौन छ।
बैठकले राष्ट्रिय समन्वय समितिहरूको एकता सहजीकरणका लागि केन्द्रमा गंगाधर गौतमको संयोजकत्वमा पाँच सदस्यीय निम्नानुसार समिति गठन गर्ने। जसको सह संयोजकमा टीका गुरुङ (राधिका) रहेकी छिन्। यस्तै सदस्यहरूमा नारायण काफ्ले,शनि ओली र चिरञ्जीवी खड्का रहेका छन्।
बैठकले बृहत् एकतासम्बन्धी क्षेत्रीय अन्तरक्रिया तथा संवाद कार्यक्रम निम्नानुसार सञ्चालन गर्ने निर्णय समेत गरेको छ। जस अन्तर्गत डिसेम्बर १९ : मध्यपूर्व तथा अफ्रिका क्षेत्र, डिसेम्बर २० : एसिया प्रशान्त तथा ओसिनिया क्षेत्र, डिसेम्बर २१ : अमेरिकाज तथा युरोप क्षेत्रमा कार्यक्रम गरिने छ।
यस्तै पाँच सदस्यीय सदस्यता विस्तार समितिमा २ जना थप गरी ७ सदस्यीय बनाउने निर्णय पनि बैठकले गरेको छ।
स्टेरिङ कमिटीका सम्पूर्ण सदस्यहरूले प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्नुपर्ने प्रावधानअनुसार आगामी स्टेरिङ कमिटी बैठकसम्म हस्ताक्षर गरिसक्नुपर्ने र हस्ताक्षर नगर्ने सदस्यहरूले आगामी बैठकमा सहभागिता जनाउन नपाउने निर्णय पनि बैठकले गरेको छ ।
बैठकले गैर आवासीय नेपाली संघका सम्बन्धित सबै पक्ष, राष्ट्रिय समन्वय परिषद्हरू साथै विश्वभर छरिएका सम्पूर्ण गैर आवासीय नेपाली समुदायलाई संघको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशनलाई ऐतिहासिक रूपमा सफल बनाउन आ–आफ्नो स्थानबाट जिम्मेवार र सक्रिय सहयोग गर्न आह्वान गरेको छ।
महाधिवेशनको सफल आयोजना सुनिश्चित गर्न आवश्यक तयारी, समन्वय तथा कार्यान्वयनका कामहरू तत्काल सुरु गर्नसमेत बैठकले आग्रह गरेको छ।













