सेन्टर पेन्सिलभेनियामा ४ इन्चसम्म हिमपात हुने पूर्वानुमान
कार्लाल, पेन्सिलभेनिया /
सेन्टर पेन्सिलभेनियाको केही स्थानहरुमा आइतवार बिहानसम्म भारी मात्रामा हिमपात हुने पूर्वानुमान गरिएको छ ।
स्टेट कलेस्थित मौसम विभागका अनुसार शनिवार र आइतवार सेन्टर पेन्सिलभेनियामा ४ इन्चसम्म हिमपात हुने बताइएको छ । मौसमविद्हरूका अनुसार शनिवार साँझबाट सुरु भएको हिमपातले डाउफिन, कम्बरल्यान्ड र स्कुकिल काउन्टीलाई प्रभावित पार्ने बताएका छन् । ह्यारिसबर्ग र कम्बरल्यान्ड काउन्टीका केही भागहरूमा शनिवार साँझदेखि आइतबार बिहानसम्म छोटो समयमा धेरै हिमपात हुने अपेक्षा गरिएको छ । मौसम चेतावनीमा समावेश अधिकांश क्षेत्रहरूमा १ देखि २ इन्चसम्म हिउँ पर्ने पूर्वानुमान गरिएको छ । त्यस्तै, उच्च भू–भागहरूमा ३ देखि ४ इन्चसम्म हिउँ जम्न सक्नेछ ।
शनिवार दिउँसो ल्यानकास्टर र योर्क काउन्टीका लागि जारी गरिएको मौसम सन्देश अनुसार सोमबार बिहानसम्म हिमपात हुने पूर्वानुमान गरिएको छ । आइतबार सेन्टर पेन्सिलभेनिया क्षेत्रभरि अत्यधिक चिसो कायम रहनेछ । ह्यारिसबर्गमा अधिकतम तापक्रम २६ डिग्री र न्यूनतम तापक्रम १७ डिग्री फरेनहाइट रहने अपेक्षा गरिएको छ । मौसम विभागले हिमपातका कारण सडकहरू चिप्लो हुने भएकाले सर्वसाधारणलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। अत्यावश्यक काम बाहेक अनावश्यक यात्रा नगर्न तथा सवारी चलाउँदा सावधानी अपनाउन र सडक अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न मौसम विभागले अनुरोध गरेको छ।














