टी-२० विश्व कपको टिकट बिक्री खुल्यो, एक सय आइसी देखि शुरु
ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले आइसीसी पुरुष टी–२० विश्वकप २०२६ का टिकट बिहीबार देखि सार्वजनिक बिक्रीमा ल्याउने घोषणा गरेको छ।
आइसीसीले सस्तो मूल्यमा टिकट उपलब्ध गराएर धेरैभन्दा धेरै दर्शकलाई स्टेडियममै बसेर विश्वकपको रोमाञ्च हेर्न सहज बनाउने उद्देश्यसहित टिकट मूल्य इतिहासकै रूपमा न्यून राखिएको जनाएको छ।
टिकट बिक्री भारतीय समय अनुसार साँझ ६:४५ बजे बाट सुरु हुनेछ।
फेज–१ मा भारतका केही खेल मैदानमा टिकट मूल्य एक सय भारतीय रुपैयाँ (करिब $१.११) बाट सुरु हुनेछ भने श्रीलङ्कामा प्रारम्भिक टिकट मूल्य एक हजार (श्रींलकन मुद्रा) (करिब $3.२६) तोकिएको छ।
आइसीसीले करिब २० लाखभन्दा बढी टिकट बिक्रीमा ल्याउँदै प्रतियोगितालाई सबैका लागि पहुँचयोग्य बनाउने लक्ष्य राखेको छ।
भारत र श्रीलङ्काले सह–आयोजना गर्ने यो १०औँ संस्करणमा २० देश सहभागी हुनेछन्।
फेब्रुअरी ७ देखि मार्च ८ सम्म ५५ खेल खेलिने कार्यक्रममा उद्घाटन खेल कोलम्बोमा पाकिस्तान र नेदरल्याण्ड्सबीच हुनेछ।
त्यसपछि वेस्ट इन्डिज र बङ्गलादेशबिच कोलकातामा तथा भारत र अमेरिकाबिच मुम्बईमा हुने खेल प्रारम्भिक चरणका मुख्य आकर्षण हुनेछन्।
आइसीसीका सीईओ सन्जोग गुप्ताले टिकट मूल्य अत्यन्तै किफायती राखिएको उल्लेख गर्दै भने, “हाम्रो लक्ष्य यो विश्वकपलाई इतिहासकै सबैभन्दा पहुँचयोग्य र विश्वव्यापी बनाउनुपर्ने हो। टिकट सस्तो भए पछि खेल प्रेमीहरूले आर्थिक बोझ बिना स्टेडियममा बसेर विश्वस्तरीय क्रिकेट हेर्न सक्नेछन्।”
उनले २० टिम र ५५ खेलसहितको २०२६ संस्करण ऐतिहासिक रूपमा सबैभन्दा ठूलो र समावेशी टी–२० विश्वकप बन्ने विश्वास व्यक्त गरे।
भारत क्रिकेट नियन्त्रक बोर्ड (बीसीसीआइ ) का मानार्थ सचिव देवजित सैकियाले पनि किफायती टिकट मूल्यले खेल प्रेमीको उत्साह बढाउने बताए।
“हामी विश्वस्तरीय दर्शक अनुभव दिन प्रतिबद्ध छौँ। भारतभरिका स्टेडियममा आधुनिक सुविधा, सहज प्रवेश र राम्रो वातावरण उपलब्ध हुनेछ,” उनले भने।
त्यसै गरी, श्रीलंका क्रिकेटका सीईओ एश्ले डी सिल्भाले सह–आयोजना गर्न पाउनु गर्वको विषय भएको बताए।
“हामी सबैलाई समयमै टिकट खरिद गर्न आग्रह गर्छौँ। स्टेडियममा उत्साह र जोशपूर्ण वातावरण देख्न हामी आतुर छौँ,” उनले भने।
यो विश्वकपका खेलहरू भारतका अहमदाबाद, चेन्नई, नयाँ दिल्ली, मुम्बई, कोलकाता तथा श्रीलंकाका कोलम्बो र कण्डीस्थित प्रमुख क्रिकेट मैदानहरूमा हुनेछ।
टी -२० विश्व कपमा नेपालले पनि खेल्दै छ। नेपालले टी -२० विश्व कप खेल्न लागेको यो लगातार दोस्रो र समग्रमा तेस्रो पटक हो।















