एमाले ११ औँ महाधिवेशनको अन्तिम तयारी, विदेशी नागरिक पनि प्रतिनिधि ?
ल्यानक्यास्टर, पेन्सिल्भेनिया । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि अद्यावधिक गर्ने काम अन्तिम चरणमा पुगेको छ । संगठन विभागका प्रमुख काशीनाथ अधिकारी र सचिव माधव ढुङ्गेलसहितको टिम प्रतिनिधिहरूको विवरण अद्यावधिक गर्ने कार्यमा निरन्तर तयारीमा जुटेका छन् ।
विभाग प्रमुखका अनुसार आगामी महाधिवेशनमा सहभागी हुनेमध्ये २ हजार १ सय ५४ जना प्रतिनिधि चुनावबाट चयन भएका छन् । त्यसभन्दा बाहेक १ सय ८ जना केन्द्रबाट मनोनयनमार्फत प्रतिनिधि बन्ने व्यवस्था छ । मनोनीतसहित कुल प्रतिनिधि संख्या २ हजार २ सय ६२ पुग्ने जनाइएको छ ।
पूर्व नेकपा (एस) को घर फर्क अभियान मार्फत आएका कार्यकर्तामध्येबाट तीन जनाले पनि प्रतिनिधिमा समावेश गराइदिन निवेदन दिएका छन् । उनीहरूको विषयमा निर्णय गर्ने जिम्मा पार्टी सचिवालयलाई दिइएको विभागले जनाएको छ ।
११औँ राष्ट्रिय महाधिवेशनका लागि प्रवासमाबाट सहभागी हुनेहरूको पनि नाम टुङ्गो लगाएको एमालेले जनाएको छ।
विदेशी नागरिक पनि महाधिवेशन प्रतिनिधि ?
एमाले महाधिवेशनका लागि नेपाली प्रवासी मञ्चको अन्तर्राष्ट्रिय कमिटी र पाँच क्षेत्रीय कमिटीबाट पाँच-पाँच जना गरी ३० जना प्रतिनिधि छनौट भएका छन्।
त्यस मध्ये केही विदेशको नागरिकता लिइसकेका पनि रहेको आशंका गरिएको छ।
नेपालको संविधानले विदेशको नागरिकता लिएका व्यक्तिहरूलाई नेपालमा राजनीतिक अधिकार दिँदैन ।
संविधान अनुसार प्रदान गरिएको गैर आवासीय नेपाली नागरिकता पनि कार्यान्वयन हुन सकेको छैन्। एमालेकै अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा ल्याइएको अध्यादेशमा गैर आवासीय नेपाली नागरिकता वाहकलाई भिषा फ्रि भनिएको थियो। जसको चौतर्फी आलोचना भएको थियो।
अहिले एमाले महाधिवेशनमा विदेशीलाई प्रतिनिधि बनाएको भन्दै प्रवासमा रहेका कार्यकर्ता तहमा आलोचना शुरु भएको छ ।
यस अगाडि नेपाली कांग्रेसको १४ औ महाधिवेशनमा विदेशको नागरिकता लिई सकेका व्यक्तिहरू महाधिवेशन प्रतिनिधि बन्दै मतदान गरे पछि विवाद भएको थियो।
सो विषयमा अदालतमा परेको मुद्दा विचाराधीन छ।
त्यस पछि नेपाली कांग्रेसले विदेशको नागरिकता लिएको व्यक्तिलाई क्रियाशील सदस्य नदिने नीति बनाएको छ।
कांग्रेसले आफ्नो विदेश स्थित भातृ संगठन नेपाली जनसम्पर्क समितिमा दुई प्रकारका सदस्यता बनाएको छ। कांग्रेसको क्रियाशील सदस्यता र महाधिवेशन प्रतिनिधि हुनका लागि विदेशको नागरिकता नलिएको हुनु पर्ने र नेपालमा जाँदा नेपाली राहदानी प्रयोग गरेको प्रमाण देखाउनु पर्ने कडाइ गरेको छ। जनसम्पर्क समितिको सदस्य भने विदेशको नागरिकता लिएकाले पनि पाउछन्।
एमालेमा भने अहिले सम्म विदेशको नागरिकता लिएको नलिएको भन्ने बारेमा महाधिवशेन प्रतिनिधि हुनका लागि कुनै रोकटोक नभएको प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाले समाज टाइम्सलाई बताए।
‘हामी नेपाली नागरिकताको निरन्तरताको पक्षधर हौ, विदेशी नागरिकता लिएको नलिएको भन्ने छानबिन गरेका छैनौ।’ थापाले भने,’यहाँ आएका साथीहरू नेपालको ठेगाना राखेर प्रतिनिधि भएर आएका छन्।’
अनि संविधानले विदेशको नागरिकता लिएकोलाई नेपालमा राजनीतिक अधिकार दिएको छैन नि भन्ने प्रश्नमा थापाले आफूहरू नेपाली नै भएको प्रतिक्रिया दिए।
‘कांग्रेसमा आन्तरिक विवादले एकले अर्कोलाई पोलेको होलान्, हामी कहाँ त्यस्तो छैन। हामी नेपाली नै हो।’ थापाले भने।
एनआरएनए स्टेरिङ कमिटी सदस्य पनि प्रतिनिधि
एमालेको महाधिवेशन प्रतिनिधिमा गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) स्टेरिङ कमिटीका सदस्य पनि परेका छन्।
अस्ट्रेलिया क्षेत्रबाट एमाले महाधिवेशन प्रतिनिधि बनेका विनोद श्रेष्ठ एनआरएनए स्टेरिङ कमिटीका सदस्य हुन्। उनी डा. बद्री केसी अध्यक्ष रहेको समितिका उपाध्यक्ष पनि हुन्।
यस अगाडी एनआरएनएमा राजनैतिक दलका व्यक्ति सहभागी हुन नहुने नारा लाग्दै आएको थियो। विषेशत यस्तो नारा प्रवासी नेपाली मञ्चकै तर्फबाट लाग्ने गरेको थियो।
यस बारेमा विनोद श्रेष्ठले प्रतिक्रिया दिन अस्वीकार गरे।
‘म अहिले चितवनमा छु, अस्ट्रेलियामा अरू पनि विनोद श्रेष्ठ छ, म बुझेर मात्र कुरा गर्छु।’ समाज टाइम्स सँगको छोटो कुराकानीमा विनोदले भने।
उनीले आफूले अस्ट्रेलियाको नागरिकता लिए नलिएको पनि खुलाउन चाहेनन्।
अस्ट्रेलियाबाट समाज टाइम्सको सम्पर्कमा आएका प्रवासी नेपाली मञ्च निकट एक सदस्यका अनुसार अमेरिका, अष्ट्रेलिया र युरोपबाट महाधिवेशन प्रतिनिधि बनेका मध्ये केहीले विदेशी नागरिकता लिएका छन्।
‘पार्टीले विमानस्थलबाट रेकर्ड झिकाउने वा नेपाल भित्रिएको पासपोर्ट जाँच गर्ने हो भने सबै कुरा प्रष्ट हुन्छ। अहिले यो विषयमा आँखा चिम्लनु भनेको भोली पार्टीकै लागि घातक हो।’ नाम उल्लेख गर्न नचाहने ती सदस्यले भने,’संविधान, ऐन कानुनमा एउटा कुरा लेख्ने तर त्यही कुरा पार्टीले कार्यान्वयन नगर्ने भन्ने पनि हुन्छ ?’
एमाले महाधिवेशनमा विदेशबाट भाग लिनेको नामावली यस प्रकार छ।
क) अन्तर्राष्ट्रिय कमिटी
१. सञ्जय थापा
२. हेम शेर्पा
३. चानक पोखरेल
४. विमला भण्डारी
५. कुन्ती थापा
ख) अमेरिका महादेश
१. प्रभु थापा
२. कृष्ण लामिछाने
३. रमेश धिताल
४. मनिता ढुङ्गाना
५. साधना पन्त
ग) युरोप महादेश
१. सरस्वती केसी
२. कल्पना त्रिपाटी
३. सन्तोष भट्टराई
४. मुक्त गुरुङ
५. शालिक थपलिया
घ) ओसिनिया महादेश
१. विनोद श्रेष्ठ
२. सिता थापा केसी
३. राजु उपाध्याय
४. असिम कोइराला
५. चन्द्रिका ओली
ङ) पूर्वी एसिया महादेश
१. भक्त गुरुङ
२. सन्जु केसी
३. दयाराम कुमाल
४. कुल चन्द्र खरेल
५. श्रृजना नेपाली
च) मध्यपूर्व महादेश
१. कमलमणि गुरागाईँ
२. ज्योति शर्मा
३. गीता सुवेदी
४. हंसराज डिसी
५. विष्णुलाल श्रेष्ठ।















