शिकागोमा सम्पन्न इन्टरनेशनल इन्डियन आइकन सिजन नौमा सनसाइन डान्स टिम शीर्ष पाँचमा
शिकागो, अमेरिका / अघिल्लो महिनाको अन्तिम सप्ताहान्त अमेरिकाको शिकागो शहरमा सम्पन्न इन्टरनेशनल इन्डियन आइकन (थ्रीआइआइआइ) को नवौँ संस्करण ओहायोको सनसाइन डान्सले शीर्ष पाँच स्थान पाएको छ। यस्तै सनसाइन डान्स टिमले जर्ज च्वाइस अवार्ड समेत पाएको छ।
सनसाइन डान्स नेपाली भाषी भुटानी समुदाय लक्षित नृत्य स्कुल हो।
विश्वभरका भारतीय कला, संस्कृति र प्रतिभालाई एकै मञ्चमा ल्याउने उद्देश्यले थ्रीआइआइआइको आयोजना हुँदै आएको छ। यस पटक इलिनोइस राज्यस्थित नेपरभिलमा नोभेम्बर २८ देखि ३०, २०२५ सम्म तीन दिनसम्म चलेको थियो।
कार्यक्रम एशियाली मूलका कलाकार, साथै भारतीय संस्कृतिप्रति रुचि राख्ने विश्वभरका सहभागीहरूको सांस्कृतिक मिलन–बिन्दु बनेको थियो।
कार्यक्रममा उत्तर अमेरिका, युरोप, एशिया, अफ्रिका, मध्यपूर्व र अस्ट्रेलियासहित ३९ देशका १० हजारभन्दा बढी व्यक्तिले सहभागिता दर्ता गरेका थिए।
अनलाइन अडिशनमार्फत छनोट भएका एक सय पचास सेमिफाइनलिस्ट शिकागोमा भेला भएर विभिन्न विधामा आफ्नो प्रतिभा प्रदर्शन गरे।
जसमा सनसाइनका डान्स टिम शीर्ष पाँच स्थानमा पुग्यो । एकल र समूहमा गरी ४० टिम सहभागी रहेको मञ्चमा सनसाइन टिमले सांस्कृतिक विविधता र मौलिक तालमा भरिएर प्रतिस्पर्धा गर्दै शीर्ष पाँचमा पुगेको हो।

यो सफलतालाई सनसाइन डान्स स्कुलकी मुख्य प्रशिक्षक कौशिला खनाल कर्माचार्यले उत्कृष्ट भनेकी छिन्। तेक्वान्दो प्रशिक्षक समेत रहेकी कौशिलाले टिमको तालमेल, अभिव्यक्ति, आत्मविश्वास र कठोर परिश्रम स्टेजको प्रत्येक सेकेन्डमा झल्किएको बताइन्।
‘निर्णायकहरूले विषेश गरी टोलीको अनुशासन, सिक्रोनाइजेशन, थीम प्रस्तुतिको स्पष्टता र ऊर्जावान् प्रदर्शनको उच्च प्रशंसा गरे।’ समाज टाइम्स सँग उनले भनिन्।
सनसाइन टिम दुई विधामा सहभागी भएका थिए। यो सिजनमा डान्स, गायन र मसँग प्रतिभा छ ( आइ गट ट्यालेण्ड-आइजीटी) गरी तीन विधामा प्रतिस्पर्धा गराइएको थियो।
सनसाइन टोलीले डान्स र आइजीटी विधामा भाग दिएको थियो।
यस पटक कार्यक्रमलाई बलिउडका चर्चित सङ्गीतकार तथा ग्रान्ड मास्टर जतिन पण्डितले विशेष गरिमा प्रदान गरे।
गायन, नृत्य, अभिनय, फेशन, इन्स्ट्रुमेन्टल र आइजीटी जस्ता विधामा अनुभवसिद्ध निर्णायकहरूको सहभागिता रहेको थियो। नृत्य विधामा हेले भरद्वाज र फेशनमा मिस युएसए तथा मिसेस इल्लिनोइस भरत २०२६ की रामी मितल निर्णायक बनेका थिए।
गायनमा जुनियर समूहमा अमेरिकाकी नितिका पाण्डे विजेता घोषित भइन्, भने सिनियर समूहको उपाधि अमेरिकाकै राजिन सैयदले जिते। सुपर सिनियर विधामा अमेरिकाका राज केवालरामानी पहिलो भएकाले चर्चामा रहे।
नृत्यतर्फ, जुनियर समूहमा अमेरिकाकी तेजोलक्ष्मी आचारी विजेता बनिन्। सिनियर समूहमा क्लासिकल रिदम्स डान्स एकेडेमीले पहिलो स्थान हासिल गर्यो भने सुपर सिनियर समूहमा आशा मेहता विजेता बने।
नेपालका दिनेश सुनुवार विजेता बने
आइजीटी विधामा सिनियर समूहमा पार्कोर नेपालका कलाकार दिनेश सुनारले उत्कृष्टता देखाउँदै पहिलो स्थान प्राप्त गरे।

२२ औ पटक गिनिज बुकमा विश्व कीर्तिमान कायम गरेका दिनेशले आँखामा पट्टी बाँधेर हतकडी लगाएर एक मिनेटमा सबैभन्दा धेरै पछाडि पाइला चाल्ने विधामा भाग लिएका थिए।
दिनेशले जर्जको रोजाइ अवार्ड समेत पाए। आइजीटी जुनियरमा अमेरिकाका साई खुशील कृष्ण बय्या विजेता बने ।
कार्यक्रमलाई सफल बनाउन थ्रीआइआइआइ ट्यालेन्ट फाउन्डेशनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकारी शरण वालिया सहित बोर्ड सदस्यहरूको टिमले महत्त्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ।
समुदायका कलाकार, व्यवसायी र सांस्कृतिक अभियन्ताहरूको सहकार्यमा सम्पन्न यो कार्यक्रमले भारतीय कला–संस्कृति मात्र नभई एशियाली तथा विश्वभरका नेपाली–भुटानी समुदायका प्रतिभाहरूलाई समेत अन्तर्राष्ट्रिय मञ्चमा चिनाउने अवसर प्रदान गरेको थियो।
आयोजकले आगामी सिजन २०२६ को दर्ता मार्च देखि खुल्नेछ र राज्य तथा देश–स्तरका प्रतिस्पर्धा नोभेम्बर २०२६ सम्म सञ्चालन हुने कार्यक्रम तालिका सार्वजनिक भएको छ।
ग्रान्ड फिनालेको स्थान र मिति चाँडै घोषणा गरिने आयोजकले जनाएको छ।
डान्सको जजमा मास्टर कौशिला
कार्यक्रममा डान्सको निर्णायक मण्डलमा सनसाइन तेक्वान्दो एकेडेमीकी सञ्चालिका तथा मास्टर कौशिला खनाल कर्माचार्य पनि सहभागी थिइन्।

‘मैले प्राप्त गरेको कला अनुभव, बहुसांस्कृतिक ज्ञान र अन्तर्राष्ट्रिय सहभागिताका कारण प्रतियोगितामा न्यायपूर्ण निर्णय र प्रस्तुतिका सूक्ष्म पक्षहरूको मुल्याकन सम्भव भयो।‘ कौशिलाले भनिन्।
उनले समग्रमा सनसाइन परिवारका लागि यस पटकको शिकागो यात्रा गौरवको क्षण भएको बताइन्।
‘दश हजार आवेदन मध्येबाट एक सय ५० मात्र छनौट हुने विश्वस्तरिय प्रतियोगितामा सनसाइन टोलीले शीर्ष पाँचमा पुग्नु र जज च्वाइस अवार्ड र आइजीटी विजेता हुनु ओहायो समुदायका लागि पनि गर्वको कुरा हो।‘ कौशिलाले भनिन्, ‘युवा प्रतिभाहरूको मेहनत, प्रशिक्षकहरूको समर्पण र अभिभावकहरूको निरन्तर सहयोगले यस वर्षको सहभागिता झनै प्रभावकारी र प्रेरणादायी बन्यो।‘
















