ह्यारिसबर्गमा बिनिताको नागरिक अभिनन्दन
ह्यारिसबर्ग, पेन्सिल्भेनिया/ स्वतारा टाउनसिपकी नव निर्वाचित आयुक्त बिनिता पुरी राईलाई शनिवार ह्यारिसबर्गमा विषेश कार्यक्रममा समुदायको तर्फबाट सम्मान गरिएको छ।
भूटनीज अमेरिकन कम्युनिटी ग्रेटर ह्यारिसबर्गद्वारा आयोजित कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरूले नव निर्वाचित आयुक्तलाई सम्मान गरेका थिए।
गत नोभेम्बरमा सम्पन्न निर्वाचनमा बिनिता विजयी भएकी थिएन्। उनको सन् २०२६ जनवरी पाँच तारिख पद तथा गोपनीयताको सपथ लिने कार्यक्रम छ।
प्याक्सटन चर्च रोड स्थित डिस्का सेन्टर डोजोमा आयोजित कार्यक्रममा बिनिताको चुनावी अभियानमा शुरु देखि नै होमिएका भुट्नीज कम्युनिटी अफ ह्यारिसबर्ग बीसीएचका पूर्व अध्यक्ष विनय लुइँटेलले यस पटक समुदाय सौभाग्यशाली भएको बताए।
‘हामी विभिन्न विश्वासमा आधारित संस्थाका नेताहरूबाट सुन्न पाउँदा सौभाग्यशाली छौँ जसले हाम्रो समुदायलाई समर्थन गरेका छन् र बिनिताको यात्रा मनाएका छन्।‘ सम्मान कार्यक्रमको शुरुवात गर्दै लुइँटेलले भने, ‘उनीहरूका शब्दहरूले हाम्रो भुटानी र सेन्टर पेन्सिल्भेनियाका समुदायको एकता, शक्ति र भावनालाई प्रतिबिम्बित गर्दछन्।‘
कार्यक्रममा स्वतारा टाउनसिपका उपाध्यक्ष शेन स्टेल, आयुक्त टम कोलनी र सुस्केहाना टाउनशिपका आयुक्त फ्रेड फेलोनाले बिनितालाई बधाई दिएका थिए।
कार्यक्रममा आयुक्त टमले बिनिताको चुनावी अभियानका बारेमा विस्तृत जानकारी गराएका थिए। नव निर्वाचित आयुक्त बिनिताले आयुक्त टमकै प्रेरणाले आफूले यो बाटो रोजेको बताउँदै आएकी छिन्।

आयुक्तहरूको बधाई सम्बोधन पछि आयोजक कमिटीको तर्फबाट बिनितालाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो।
आयोजक कमिटीमा डा. खेम अधिकारी, विश्वनाथ क्षेत्री,टीबी गुरुङ,अमल थुनलुङ,रत्न गुरुङ, सेन्सेई रन राई, पातलो अन्तरे र विनय लुइँटेल रहेका थिए।
सम्मान पछि आयोजक कमिटीको तर्फबाट बोल्दै डा. अधिकारीले नेपालमा शरणार्थी शिविर छोड्दै गर्दा बाहिर गएर के गर्ने होला भन्ने चिन्ता भएको तर अहिले समुदायले हरेक क्षेत्रमा प्रगति गर्दै गएको बताए।
‘यो ऐतिहासिक दिन हो ह्यारिसबर्गमा हामी चालिस पचास हजार जति छौ होला, बिनिता जीको यो यात्रा यहाँ सम्म आइपुग्दा, व्यक्तिगत रुपमा उहाँको जित हो तर यो मेरो पनि जित हो।‘ डा. अधिकारीले भने, ’यो हाम्रो समुदायको जित हो।‘
डा. अधिकारीले यो शुरुवात भएको र अब निरन्तरता हुने बताए। उनले बिनिताको सफलताले समुदाय एकजुट भएमा गर्न सक्छौ भएको बताए।
कार्यक्रममा अर्गनाइजेशन अफ हिन्दु रिलिजन कल्चर (ओएचआरसी) का तर्फबाट प्रेम खनाल, विश्व भूटानी साहित्यिक संगठनका अध्यक्ष पातलो अन्तरे र क्रियामण फाउन्डेशनका सिइयो भरत तिम्सिनाले बधाई मन्तव्य सहित सम्मान गरेका थिए।
यस्तै भुट्नीज कम्युनिटी अफ ह्यारिसबर्ग बीसीएचका अध्यक्ष तिलक निरौला, जीबीएचओ बोर्ड चियर नारद अधिकारी, मगर समुदायको तर्फबाट प्रजित रानाले बधाई मन्तव्य सहित बिनिताको सम्मान गरेका थिए।
एसियन रिफ्युजीज युनाइटेड एआरयुका सह-कार्यकारी निर्देशक/सीईओ रविन गुरुङ, भूटनीज अमेरिकन माझी एसोसिएसनका कोषाध्यक्ष दियालो सुसान माझी, गुरुङ कम्युनिटी कारलयका अध्यक्ष मनध्वज गुरुङ, ह्यारिसबर्ग नेपाली क्रिश्चियन नेपालीका उपाध्यक्ष राजु सुबेदी, किरात समुदायको तर्फबाट हरि सुब्बा र नेवार समुदायको तर्फबाट हस्त प्रधानले बधाई मन्तव्य सहित बिनितालाई बधाई दिएका थिए।
अभिनन्दन पछि नव निर्वाचित आयुक्त बिनिताले आफू शब्द विहीन बनेको बताइन।
‘म सबैलाई धन्यवाद दिन चाहन्छु, तपाईँहरूको कडा मेहनत र सहयोगले मैले यो सफलता पाएको छु।‘ नव निर्वाचित आयुक्त बिनिताले भनिन्न,’तपाईँहरूको सहयोग बिना म यहाँ हुने थिइन।’















