नेपाली पत्रकारिताको सम्भावना, अपेक्षा र चुनौतीबारे ह्यारिसबर्गमा अन्तरक्रिया
ह्यारिसबर्ग, पेन्सिलभेनिया / समाज टाइम्सले प्रवासी पत्रकारितालाई थप सुदृढ बनाउने लक्ष्यसहित विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
समाज टाइम्सले ह्यारिसवर्गस्थित स्वातारा टाउनसिपको सभा हलमा आफ्नो पाँचौँ वार्षिक उत्सवको अवसरमा उक्त कार्यक्रम आयोजना गरेको हो ।
विश्व भूटानी साहित्यिक संगठन (जीबीएलओ) को तत्त्वावधान आयोजित कार्यक्रममा समाज टाइम्सका प्रधान सम्पादक बिष्णु हरि घिमिरे ‘नेपाली पत्रकारिताको सम्भावना, अपेक्षा र चुनौतीहरू’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए।
कार्यक्रममा अमेरिका बसोबास गर्ने नेपाली तथा नेपाली भाषी भूटानी समुदायका साहित्यकार, सामाजिक अभियन्ता, लेखक, युवाहरू र विभिन्न संघ–संस्था प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
अन्तरक्रिया कार्यक्रममा प्रवासी पत्रकारिताको दिशा, दायरा तथा सामना गर्नुपर्ने चुनौतीबारे छलफल भएको थियो ।

सहभागीहरूले प्रवासी नेपाली तथा नेपाली भाषी भूटानी समुदायको सञ्चार–क्षेत्रमा एउटा महत्त्वपूर्ण विमर्शका रूपमा स्थापित भएको बिचार व्यक्त गरेका थिए ।
समाज टाइम्सले पाँच वर्षअघिदेखि अमेरिकामा नेपाली भाषाको डिजिटल पत्रकारिता सञ्चालनमा ल्याएको थियो ।
समाज टाइम्सले अनलाइन समाचार, सूचना, विचार, साहित्यिक सामग्री, सामुदायिक गतिविधि तथा मल्टिमिडिया सामग्री उत्पादनमा अमेरिकामा बसोबास गर्ने नेपाली तथा नेपाली भाषी भूटानी समुदायका मुद्दाहरूलाई प्राथमिकता दिँदै आएको छ।

अन्तर्क्रियामा सहभागीहरूले नेपाली पत्रकारितालाई जोगाउन पर्ने धारणा राखे । केही सहभागीले समाज टाइम्सलाई कसरी सहयोग गर्न सकिन्छ भनेर जिज्ञासा पनि राखेका थिए।
जीबीएलओका कोषाध्यक्ष शेखर कोइरालाको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा
क्रियामण फाउन्डेशनका सिइयो भरत तिम्सिनाले कार्यक्रमको अवधारणा बारेमा प्रकाश पारेका थिए।
स्वातारा टाउनसिपकी नव निर्वाचित आयुक्त विनिता पुरी राईको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको सभापतित्व जीबीएलओका अध्यक्ष पातलो अन्तरेले गरेका थिए।

जीबीएलओका महासचिव दियालो सुशन माझीले सञ्चालन गरेको कार्यक्रमका विषेश अतिथि वरिष्ठ पत्रकार तथा लेखक भक्त घिमिरेले पत्रकारिताका चुनौतीहरूका बारेमा प्रस्टाएका थिए। उनले पत्रकारिता अप्जसिलो पेशा भएको धारणा राखे।
यस्तै स्वातारा टाउनसिपका आयुक्त टम कोलनीले सञ्चार माध्यम समुदायका लागि आवश्यक भएको बताए।
‘समुदायमा खाडल भर्ने र राम्रोसँग गर्नेको कथा बाहिर निकाल्नु आवश्यक छ। कथालाई समेट्नु आवश्यक छ। समुदायको लागि मिडिया आवश्यकता छ। त्यसैले तपाईँसँग त्यो छ।‘ अन्तरक्रियामा भाग लिँदै आयुक्त कोलनीले भने।

अन्तर्क्रिया कार्यक्रममा नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक नवराज ढकाल, गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाका महासचिव यदु बञ्जरा, डिएचएल सप्लाई चेनका अपरेशन म्यानेजर मनिष उप्रेती, व्यवसायी एम खरेल, इनास पेन्सिल्भेनियाका उपाध्यक्ष अभिषेक थापा, रियल्टर कृष्ण प्रधान लगायतले आ आफ्नो धारण राखेका थिए।
समाज टाइम्सले लगातार समाचार तथा रिपोर्टमार्फत प्रस्तुत गर्दै आएको योगदान कार्यक्रमका वक्ताहरूले उल्लेखनीय समाचार पोर्टलको रूपमा पाँच वर्षको यात्रा सहज नभएको प्रतिक्रिया दिएका थिए ।
कार्यक्रमका सहभागी अन्य वक्ताहरूले नेपाली पत्रकारिताको वर्तमान अवस्थासँगै प्रवासी समुदायमा यसको भविष्यबारे गहिरो विश्लेषण गरेका थिए ।
समुदायमा स्वास्थ्य, शिक्षा, सामाजिक सुरक्षा, सांस्कृतिक गतिविधि, रोजगारी, स्थानीय चुनाव र प्रशासनिक समन्वय जस्ता विषयमा सूचनाको माग बढ्दो छ । यसले अनलाइन पत्रकारितालाई अझै सशक्त बनाउने धारणा वक्ताहरूले राखेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि स्वतारा टाउनसिपकी नवनिर्वाचित आयुक्त विनिता पुरी राईले समाज टाइम्सको सफलताको कामना गरेकी थिइन्।
उनले एक अर्काले सहयोग गरेर अगाडि बढ्नु पर्ने बताइन्। राईले समाज टाइम्सले नेपाली तथा नेपालीभाषि भुटानी समाजमा महत्त्वपूर्ण भूमिका निवह गरेको बताइन् ।
‘पाँच वर्ष पुरा गरेकोमा समाज टाइम्सलाई धेरै धेरै बधाई दिन चाहन्छु, हामीले हाम्रो भाषाको मिडियालाई प्रोत्साहन गर्न जरुरी छ । साथै, लामो समयसम्म टिकाइराख्न एक अर्काको साथ सहयोग चाहिन्छ, र हातेमालो गर्दै अघि बढ्नुपर्छ ।‘ विनिताले भनिन्।
जीबीएलओका अध्यक्ष तथा कार्यक्रमका सभापति पातलो अन्तरले कार्यक्रम आयोजना गर्न सहयोग गरेकोमा स्वातारा टाउनसिपलाई धन्यवाद दिए।
उनले यस्ता अन्तरक्रियाले समुदायलाई जोड्ने बताए।
सोही कार्यक्रममा जीबीएलओ र भुट्नीज कम्युनिटी अफ ह्यारिसबर्गको तर्फबाट समाज टाइम्स प्रधान सम्पादक बिष्णु हरि घिमिरेलाई कदर पत्र सहित सम्मान गरिएको थियो।


















