ऐतिहासिक येँगा हिटीको सफल जीर्णोद्धार पछि
काठमाडौं/ अमेरिकी दूतावासले नेपाल सरकार, चिभा चैत्य अर्गनाइजेसन तथा वर्ल्ड मोन्यूमेन्ट्स फन्डसँग साझेदारीमा काठमाडौँको लगनमा अवस्थित ऐतिहासिक येँगा हिटीको सफल जीर्णोद्धार सम्पन्न गरेको छ।
काठमाडौँ स्थित अमेरिकी दूतावासका अनुसार सो जीर्णोद्धार कार्य “काठमाडौं उपत्यकाका हिटी : जलसम्पदा पुनर्स्थापना परियोजना” को एक महत्त्वपूर्ण हिस्सा हो।
अमेरिकी राजदूतको सांस्कृतिक संरक्षण कोष (एएफसीपी ) बाट प्राप्त २ लाख ७५ हजार अमेरिकी डलरको सहयोगमा, यस परियोजनाले काठमाडौं उपत्यकामा कम्तीमा तीनवटा परम्परागत हिटीहरूको जीर्णोद्धार गर्ने, विद्यार्थी तथा सम्पदाकर्मीहरूलाई व्यावहारिक तालिमका अवसरहरू प्रदान गर्ने, र दीर्घकालीन संरक्षण योजना निर्माणमा सहयोग गर्ने लक्ष्य राखिएको जनाइएको छ।

‘यी परम्परागत जीवन्त जलस्रोत प्रणालीहरूको जीर्णोद्धारमार्फत अमेरिका र नेपालले नेपालको सांस्कृतिक सम्पदाको महत्त्वपूर्ण अंश भावी पुस्ताका लागि जोगाइरहेका छन्।’ जीर्णोद्धार सम्मन्न भए पछिको फोटो सामाजिक सञ्जालमा सार्वजनिक गर्ने क्रममा काठमाडौँ स्थित अमेरिकी दूतावासले जनाएको छ।
‘नेपालमा सञ्चालन हुने एएफसीपी परियोजनाहरूले अमेरिकी–नेपाली सम्बन्ध सुदृढ गर्नुका साथै नेपाली तथा अमेरिकी पर्यटक र व्यवसायहरूका लागि दिगो पर्यटनलाई समर्थन गर्ने, सांस्कृतिक संरक्षण तथा आर्थिक वृद्धिमा योगदान पुर्याउने, र दुवै देशका समुदायहरूलाई फाइदा हुने शैक्षिक सहकार्यलाई प्रवर्द्धन गर्ने कार्य गर्छन्।’ अमेरिकी दूतावासले भनेको छ।
फोटो अमेरिकी दूतावास काठमाडौँ














