नेपाली जनसम्पर्क समिति अमेरिकाको अधिवेशन डिसेम्बर २७ मा, सदस्यता डिसेम्बर १५ सम्म खुल्ला
|
Getting your Trinity Audio player ready...
|
ल्यानक्यास्टर, पेन्सिल्भेनिया / पटक पटक चर्चामा आएर पनि अवरुद्ध हुँदै आएको नेपाली कांग्रेसको विदेशस्थित भातृ संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाले आगामी डिसेम्बर २७ मा अधिवेशन गर्ने औपचारिक निर्णय जनाएको छ।
बुधबार साँझ बसेको बैठकपछि सभापति आनन्द विष्टले समाज टाइम्ससँग कुराकानी गर्दै अधिवेशनको मिति, सदस्यता प्रक्रिया र स्वरूपबारे जानकारी दिए।
‘डिसेम्बर २७ मा अधिवेशन गर्ने निर्णय भएको हो। कुन ठाउँमा भन्ने हामी केही दिनमा टुङ्गो लगाउँछौ।‘ टेलिफोन कुराकानीमा विष्टले भने, ‘अधिवेशन स्थलका बारे अन्तिम टुङ्गोमा पुगेको छैन।‘
उनले “अब केही दिनमै” अधिवेशन स्थल सार्वजनिक गरिने बताए।
विष्टका अनुसार क्यालिफोर्निया, मेरिल्याण्ड र बोस्टन लगायतले आफूहरूले अधिवेशन गर्न पाउनु पर्ने माग गरिरहेका छन्।
विष्टले अधिवेशन प्रत्यक्ष नै हुने बताए। अहिले छोटो समय, वर्षको अन्त्य, होटल बुकिङ, यात्रा, बिदा लगायत चुनौती भए पनि प्रत्यक्ष अधिवेशनमै अघि बढ्ने निर्णय गरिएको उनको भनाइ छ।
‘केही साथीहरूले जाडोको मौषम, समय पनि कम छ, बिदा मिलाउन गाह्रो हुन्छ अनलाइन गरौँ भन्ने सुझाव पनि आएका हुन् तर हामी फिजिकल नै अधिवेशन गर्छौ।‘ विष्टले भने।
सदस्यता डिसेम्बर १५ सम्म खुला
बैठकले आजै बाट सदस्यता खुल्ला गर्ने र डिसेम्बर १५ तारिख सम्म रहने निर्णय समेत गरेको विष्टले बताए।
उनका अनुसार यस पटक देखि नेपाली कांग्रेसको क्रियाशील र नेपाली जनसम्पर्क समितिको गरी दुई थरी वितरण गरिने छ।
क्रियाशील सदस्यताका लागि विदेशी नागरिकता नलिएको हुनु पर्ने छ।
‘क्रियाशीलका लागि पार्टीकै वेब साइडमा गएर भर्नु पर्ने छ र सदस्यता शुल्क पनि स्वयम व्यक्तिले पार्टीमा बुझाउनु पर्ने छ।‘ विष्टले भने, ‘जनसम्पर्कका लागि हामीले व्यवस्था गरेको अनलाइनबाट सदस्यता बन्न पाइन्छ र भुक्तानी रकम बैक अफ अमेरिकाको खातामा पठाउने व्यवस्था गरिएको छ।‘
च्याप्टर अधिवेशन डिसेम्बर २०
सभापति विष्टले च्याप्टर अधिवेशन डिसेम्बर २० तारिखमा गर्ने गरी निर्णय भएको बताए।
‘डिसेम्बर २० का दिनबाट जनसम्पर्क समिति अमेरिकाको औपचारिक चुनावी प्रक्रिया सुरु हुनेछ।‘ विष्टले भने।
हाल निर्वाचन समिति, मनोनयन, नियमावली र अन्य विवरणबारे अन्तिम तयारी भइरहेकाले चाँडै सम्पूर्ण प्रक्रियाको सूचना सार्वजनिक गरिने पनि विष्टले बताए।
केन्द्रिय बैठकमा २१ जना सहभागी
विष्टका अनुसार बुधवार साँझ भर्चुअल मार्फत भएको नेपाली जनसम्पर्क समितिको बैठकमा बैठकमा केन्द्रिय सदस्यसहित २१ जना सहभागी भएका थिए।
नेपाली जनसम्पर्क समिति अमेरिका ११ वर्षपछि चुनावतर्फ लागेको हो। सन् २०१४ मा टेक्सस अधिवेशनबाट विष्ट निर्वाचित भए पछि अधिवेशन हुन सकेको छैन। समितिको विधान अनुसार हरेक तीन–तीन वर्षमा अधिवेशन गर्नु पर्ने व्यवस्था छ।
अन्य समय विवादमा रहे पनि नेपाली कांग्रेसको महाधिवेशन र महासमिति सदस्य छनौट दुवै समूहले भागबन्डा गर्दै आएका थिए।
कांग्रेसको १४ महाधिवेशन अगाडि २४ घण्टाको सूचनाको आधारमा अधिवेशन बोलाइएको थियो। सो अधिवेशनको सभापति शेर बहादुर देउवाले उद्घाटन गरेका थिए।
पार्टीको महाधिवेशन पछि बाँकी प्रक्रिया पुरा गर्ने भन्दै महाधिवेशन प्रतिनिधि छनौट गरिएको थियो। तर त्यस पछि महासमिति सदस्यको छनौटको बेलमा मात्र चुनाव गरिएको थियो।
सभापति विष्टले आगामी अधिवेशनले संस्थालाई “व्यवस्थित, लोकतान्त्रिक र जिम्मेवारीपूर्ण संरचनामा पुनर्स्थापित गर्ने मुख्य लक्ष्य” रहेको बताए। विष्टले अब आफू नेतृत्वमा नआउने बताएका छन्।
नेपाली जनसम्पर्क समिति अमेरिका, नेपाली कांग्रेससँग सम्बन्धित प्रवासी समुदायको एउटा महत्त्वपूर्ण संगठन मानिन्छ। दीर्घ समयदेखि अधिवेशन नहुँदा सङ्गठनात्मक गतिविधि सुस्त भएको भन्दै विभिन्न पक्षले आलोचना गर्दै आएका थिए। अब भने चुनाव घोषणा भएपछि संगठन पुनः सक्रिय हुने अपेक्षा गरिएको छ।












