अमेरिकाको ओहायो निवासी नेपाली भाषी भुटानी मोहन कार्की डिपोर्टेशनको जोखिममा
ल्यानक्यास्टर,पेन्सिल्भेनिया/ अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तन (आइस) को हिरासतमा रहेका ओहायो निवासी नेपाली भाषी भुटानी मोहन कार्कीले देश निकालाको सामना गर्नु परेको छ।
कार्कीलाई संघीय अदालतमा उपस्थित हुन अघिल्लो दिन देश निकाला गर्न लागिएको जनाइएको छ। अधिकारीहरूले डिसेम्बर २, मंगलबार भुटान पठाउने योजना बनाएका छन्।
कार्की गत अप्रिल ६ तारिखमा पक्राउ गरेका थिए। उनलाई युवा अवस्थामा ट्रेस पासिंङ (अरूको सम्पत्तिमा अनुमति विना प्रवेस गरेको) अभियोग लगाइएको छ।
कार्कीले आफ्नी श्रीमती र उनकी ५ महिनाकी छोरीलाई भेट्न नपाएको बताइएको छ। उनी पक्राउ पर्दा उनकी श्रीमती गर्भवती थिइन्।
कार्की नेपाली भाषी भुटानी शरणार्थीको रुपमा अमेरिका आएका हुन्। उनलाई शुरुमा सिनसिनाटी बाहिरको बटलर काउन्टी जेल राखिएको र पछि मिशिगनको सेन्ट क्लेयर काउन्टी जेलमा सारिएको थियो ।
कार्की हिरासतमा पुगे पछि उनकी छोरी जन्मिएकी हुन्। कार्कीकी श्रीमती टिका बस्नेतका अनुसार उनले अहिले सम्म आफ्नी छोरीलाई भेट्न पाएका छैनन्।
कार्कीलाई भुटान पठाउने तयारी गरिरहेको जनाइएको छ। कार्की नेपाल स्थित शरणार्थी शिविरमा जन्मिएका हुन् । उनका मातापिता भुटानबाट निर्वासित भएका हुन्।
कार्कीलाई जुन १० मा एक न्यायाधीशले उनको डिपोर्टेशन अस्थायी रूपमा रोकिदिएका थिए। त्यसपछि धेरै कानुनी टोलीहरूले विभिन्न स्तरबाट लडाइँ जारी राखे।
म्याटर न्युजका अनुसार वकिल ब्रायन होफम्यानले कार्कीको डिपोर्टेशन रोक्ने कानुनी प्रयासको नेतृत्व गरिरहेका छन् । मुद्दा अहिले एघारौँ सर्किट पुनरावेदन अदालतमा छ।
वकिल डायना मारिनले म्याटर न्युजलाई बताए अनुसार कार्कीको लामो थुनाबारे बन्दी प्रत्यक्षीकरण मुद्दा लड्दै छ। जसअनुसार डिसेम्बर ३ मा कार्कीलाई अदालतमा प्रस्तुत गरिनुपर्ने थियो। मारिनका अनुसार यो मुद्दा निगरानी आदेश खारेजी र थुनामा कटेको समय दुवै कानुनी प्रक्रिया उल्लङ्घन भएको आधारमा दायर गरिएको हो।
“नोभेम्बर २६ मा सरकारी वकिलले भने, ‘हामी डिसेम्बर ३ को सुनुवाइमा कार्कीलाई भौतिक रूपमा उपस्थित गराउने आदेश हटाउन चाहन्छौँ, किनकि उनको डिपोर्टेशन आसन्न छ।’
त्यसपछि थाहा भयो—डिपोर्टेशनको अन्तिम आदेश तयार भइसकेको रहेछ, यात्रा दस्ताबेज मिलिसकेको रहेछ, र डिसेम्बर २ का लागि उडान बुक गरिसकिएको रहेछ।”
एसियन रिफ्युजीज युनाइटेड (एआरयु) का सह-कार्यकारी निर्देशक/सीईओ रविन गुरुङले अझै पनि कार्कीको डिपोर्ट रोक्नका लागि आफूहरूले हदै सम्मको प्रयास जारी राखेको बताए।
‘हामी अझै पनि प्रयासरत छौ, कार्कीले आफ्नो सन्तानलाई अँगालो हाल्न पाउन भन्ने छ।‘ समाज टाइम्स सँग गुरुङले भने।
कार्की रहेको जेलमा अभिभावक भेटघाट नै प्रतिबन्धित छ।
नागरिकता विहीन—कानुनी प्रणालीले सम्बोधन गर्नै गाह्रो मुद्दा
कार्की जन्मदेखि नै राज्यविहीन हुन्। उनी नेपालमा जन्मिए तर नेपालले नागरिकता दिएन। भुटानले नागरिक स्विकार्दैन।
कार्कीका वकिलहरूका अनुसार सुरुका अदालतिक कागजातमै उनलाई “नेपालका नागरिक” भनेर लेखिएको छ—जुन सत्य होइन।
भूटानी–नेपाली समुदायमा डर
यस घटनाले अमेरिकी भूटानी–नेपाली समुदायमा भय र अविश्वास फैल्याएको छ। मे महिनामा दुई दर्जन शरणार्थीहरू भूटान डिपोर्ट भएको थियो, जसमध्ये केहीलाई भुटानले अस्वीकार गरी भारत पठाइदियो र केही आजसम्म हराइरहेका छन्। केही नेपालमा रहेको शरणार्थी शिविरमा पुगेको खबर सार्वजनिक भएका थिए।











