अनुभवी पत्रकार गुरुङ समाज टाइम्स सम्पादक नियुक्त
ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ पत्रकार गोबिन्द गुरुङ समाज टाइम्सको सम्पादकका रुपमा नियुक्त भएका छन् ।
अमेरिकाको पेन्सिलभेनिया राज्यमा नेपाली भाषाको पहिलो अनलाइन पत्रिका समाज टाइम्स पाँचौ वर्षमा प्रवेस गरेको दिन डिसेम्वर १ तारिखबाट अनुभवी पत्रकार गुरुङ सम्पादक नियुक्त भएका हुन्।
गुरुङको प्रवेस सगै समाज टाइम्सले प्रवासी नेपाली समुदायमा विश्वसनीय, निरन्तर र समुदायमुखी पत्रकारिताको स्तरलाई अझ उचाइमा पुर्याउने लक्ष्य प्रस्तुत गरेको छ ।
गुरुङको पत्रकारिता डेढ दशक भन्दा लामो समय देखिका अनुभवी हुन्। उनले विविध सञ्चार माध्यममा गरेको योगदान र प्रवासी समुदायसँगको निकटताको कारण उनलाई सम्पादकीय नेतृत्व सुम्पिएको समाज टाइम्सले जनाएको छ ।
वि.सं. २०६५ सालदेखि पत्रकारितामा प्रवेश गरेका गुरुङले नेपाल र हाल अमेरिकामा रहेर निरन्तर सक्रिय पत्रकारिता गर्दै आइरहेका छन् ।
करियरको शुरुवाती चरणमा उनले नेपाली टिभी युकेमा रिपोर्टर तथा कार्यक्रम सञ्चालकका रुपमा काम गरेका थिए । त्यस्तै, गुरुङले नेपालको पहिलो न्युज टेलिभिजनका रूपमा स्थापित सगरमाथा टेलिभिजनमा पाँच वर्षसम्म काम गरे ।
सगरमाथा टेलिभिजनमा उनले खेलकुद संवाददाता , कार्यक्रम प्रस्तोता र कार्यक्रम निर्माताका जिम्मेवारी सम्हालेका थिए । यस अवधिमा उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद कार्यक्रमहरूको नियमित रिपोर्टिङ गरेका थिए ।
देशमा खेलकुद पत्रकारिता विस्तारित हुँदै जाँदा गुरुङको प्रस्तुति शैली, सूचनाको गहिरो विश्लेषण तथा तथ्यमा आधारित रिपोर्टिङले उनलाई टेलिभिजन दर्शकमाझ स्थापित गराएको थियो ।
सगरमाथा टेलिभिजनपछि उनी डिस होम स्पोट्र्समा समाचार वाचक, कार्यक्रम प्रस्तोता तथा संयोजकका रूपमा कार्यरत रहे । खेलकुद केन्द्रित प्रसारण माध्यममा पेशागत दक्षता, स्पष्ट प्रस्तुति र तथ्यमा आधारित सामग्री निर्माणका कारण गुरुङले प्रसारण क्षेत्रमै फरक पहिचान बनाएका थिए ।
अनलाइन पत्रकारिताको प्रसार तीव्र हुँदै गएको समयमा गुरुङ लोकपथ डट कम मा खेलकुद समाचार विभाग प्रमुखका रूपमा नियुक्त भए ।
डिजिटल समाचार माध्यममा उनी नेतृत्व भूमिकामा उभिएर खेलकुद रिपोर्टिङ, विशेष विश्लेषण, स्वतन्त्र लेख र डिजिटल सामग्री उत्पादनमा सक्रिय रहे। ।
स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका गुरुङ पछिल्ला ६ वर्षदेखि परिवारसहित अमेरिकामा बस्दै आएका आइरहेका छन् ।
अमेरिका बसाइका क्रममा पनि उनले पत्रकारितालाई निरन्तरता दिँदै आइरहेका छन् । उनले प्रवासी नेपाली तथा भुटानी–नेपाली भाषी समुदायका मुद्दा, सांस्कृतिक गतिविधि, सामाजिक उत्थान तथा आप्रवासीहरूका चुनौतीका विषयमा कलम चलाइ राखेका छन् ।
सम्पादकका रूपमा नियुक्त भएपछि गुरुङले नेपाली तथा नेपाल भाषी समुदायका लागि विश्वसनीय, द्रुत र जिम्मेवार पत्रकारिता गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले भने, “पत्रकारिता केवल समाचार सम्प्रेषण होइन, समुदायलाई सशक्त बनाउने माध्यम पनि हो, साथै अमेरिकामा बसोबास गर्ने नेपाली र भुटानी नेपाली भाषी समुदायलाई मातृभाषामा विश्वसनीय सूचना उपलब्ध गराउनु हाम्रो मुख्य दायित्व हुनेछ।”
व्यवसाय र पत्रकारिता दुवैलाई समान रूपले अघि बढाइरहेका गुरुङले अब समाज टाइम्सलाई प्रवासी पत्रकारिताको भरपर्दो केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्य लिएका छन्।
उनका अनुसार प्रवासी नेपालीको आवाज, पहिचान र हितका विषयलाई प्राथमिकतामा राख्दै तथ्यपूर्ण र अनुसन्धान मूलक पत्रकारिता गर्ने उनीहरूको योजना रहेको छ।











