एनआरएनएलाई राजनीतिबाट अलग्गै राख्नुपर्छ : सञ्चारमन्त्री खरेल
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले गैर आवासीय नेपाली संघको पछिल्लो समय गरिमा खस्किँदै गएको भन्दै एनआरएनएलाई राजनीतिबाट अलग्गै राख्न आग्रह गरेका छन् ।
आइतबार गैर आवासीय नेपाली संघको बृहत् एकता सम्बन्धी कार्यक्रममा बोल्दै उनले एनआरएनए अधिकांश नेता र गुटहरू राजनीतिक दलका गुट र नेता भएको भन्दै पार्टीको एनआरएनए नबनाइदिन आग्रह गरेका हुन् ।
उनले भने, ‘२२ वर्षको अवधिमा पाएको गरिमा, सम्मान पछिल्ला वर्षहरूमा खस्किँदै गयो ।त्यो किन खस्कियो भने एनआरएनए अधिकांश नेता र गुटहरू राजनीतिक दलका गुट र नेता भए । तपाईँहरू चोइटिनुभयो । तपाईँहरूको गरिमा नै स्खलित हुँदै गयो । एउटा ठुलो अवसर आएको छ पार्टीको एनआरएनए नबनाइदिनु होला ।’
उनले संघको बृहत् एकता ठुलो अवसर दिएको भन्दै एनआरएनएलाई समग्र गैर आवासीय नेपाली जनताको र राष्ट्रको समग्र हितमा राख्नुपर्ने बताए ।
मन्त्री खरेलले आजको एकताबाट एनआरएनए कहिल्यै नफुट्ने, राजनीतिक भन्दा माथि रहने पनि बताए ।
‘आजको एकता समारोहमा मैले पटक पटक भन्थे राजनीतिकबाट माथि राखौँ । अनि सम्मान बढ्छ । अब एनआरएनए कहिल्यै भुट्दैन । अब एनआरएनए राजनीतिक भन्दा माथि रहन्छ । अब एनआरएनए जन्मभूमिको लागि अरबौँ लगानी ल्याउनको लागि तपाईँहरू नै हाम्रो साथी बन्नुहुन्छ । नागरिक सरकारले निर्वाचन अधिकारका लागि काम गर्नेछ,’ उनले भने ।

















