एनवाइसी क्वीन्स कराते च्याम्पियनसिप : निहोनले घरमै राख्यो १० स्वर्ण
क्विन्स, न्यु योर्क / ‘एनवाइसी क्वीन्स कराते च्याम्पियनसिप’ मा आयोजक निहोन कराते डो न्यु योर्कले दश स्वर्ण पदक घरमा नै राखेको छ।
विभिन्न राज्यका २३ डोजो/ स्कुलका दुई सय बढी खेलाडीले प्रतिस्पर्धा गरेको न्यु योर्कको क्विन्समा आइतबार सम्पन्न च्याम्पियनसिपमा निहोनले १३ रजत र २० काश्य सहित कुल ४३ पदक जित्यो।

क्विन्सको नरदनबुलेभर्डस्थित एल्मकोर सेन्टरको हलमा पाँच रिङमा एकै पटक खेलाइएको च्याम्पियनसिपमा ड्रुक इन्टरनेश्नल सितोरियो कराते डो एसोसिएसन (डिस्का) ले ६ स्वर्ण, चार रजत र एक कास्य सहित ११ पदक जित्यो।
यस्तै इजीएन इन्टरनेश्नल कराते एण्ड फिट्नेस सेन्टरले पनि ६ स्वर्ण जित्यो। इजीएनले दुई रजत र चार कास्य सहित कुल १२ पदक जित्यो।
च्याम्पियन स्पोर्ट सेन्टरले पाँच स्वर्ण, नौ रजत र १४ कास्य जित्दा, लिनब्रुक अल्टिमेट मार्शल आर्ट्स पनि पाँच स्वर्ण, पाँच रजत र चार कास्य जित्यो।

च्याम्पियनसिपमा न्यु योर्क सहित न्यु जर्सी, पेन्सिल्भेनिया, ओहायो, मेरिल्याण्ड, अलाबामा, भर्मन र मासचुसेट लगायतका राज्यहरूका खेलाडीले भाग लिएका थिए।

विगिनर र एड्भान्डमा विभिन्न डिभिजनमा प्रतिस्पर्धा गराइएको थियो। च्याम्पियनसिपमा प्रतियोगितामा ५ वर्षदेखि ४५ वर्षसम्म उमेर समूहका खेलाडीहरूले ४७ स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए ।
विश्व कराते महासंघका रेफ्रि रमन हिराल्डोको नेतृत्वमा ४१ जना रेफ्रिले च्याम्पियनसिप खेलाएका थिए।

च्याम्पियनसिपको उद्घाटनका अवसरमा बोल्दै प्रमुख अतिथि न्यु योर्कस्थित नेपाली महावाणिज्यदूत दधिराम भण्डारीले कार्यक्रम आयोजना गरेर न्यु योर्क शहरमा नेपाली पहिचान प्रदर्शन गरेको बताए।
‘आज म खुसी छ, यो च्याम्पियनसिप आयोजना गर्नुभएकोमा शान्ता जीलाई धन्यवाद। म सबैलाई हार्दिक बधाई दिन्छु।‘ महावाणिज्यदूत भण्डारीले भने, ‘यो नेपाली समुदाय र यस च्याम्पियनसिपमा सहभागी सबैको लागि साँचो सम्मान हो। नयाँ संसारको शहरमा यो महान् कार्यक्रम आयोजना गर्नु।‘

उनले कराते सहित सबै खेलले समुदायलाई जोड्ने पनि बताए।
‘कराते र सबै खेलहरूले हामीलाई हामी जे भए पनि जोड्छन्। हाम्रो पहिचानको वास्तविक भावना र हिमालय देश नेपालको समुदाय सदस्यको रूपमा। शान्ता थोकर र उहाँको टोलीले यो कार्यक्रम आयोजना गरेर न्यु योर्क शहरमा नेपाली पहिचान प्रदर्शन गरेका छन्।‘ महावाणिज्यदूत भण्डारीले भने।
आयोजक निहोन कराते डोका संचालक तथा प्रमुख प्रशिक्षक सिहान शान्त थोकरले च्याम्पियनसिप शुरुवातको घोषणा गर्दै सहभागी खेलाडी, प्रशिक्षक, रेफ्रि, प्रायोजक तथा सहयोगी सबैलाई धन्यवाद दिएका थिए।
च्याम्पियनसिपमा एड्भान्स तर्फ स्वर्ण पदक विजेताहरूलाई कुल दुई हजार अमेरिकी डलर नगद दामासाहीका रुपमा पुरस्कार प्रदान गरिएको थियो।
च्याम्पियनसिपको अघिल्लो दिन शनिवार सेमिनार आयोजना गरिएको थियो। सिहान थोकरका अनुसार सेमिनारमा २० जनाको सहभागिता रहेको थियो।
विश्व कराते महासंघका रेफ्रि तथा युएस कराते रिजन फाइभका संयोजक रेफ्रि इस्टक्टर सेड्रिक बाक्सडेलले प्रशिक्षण दिएका थिए। उनले प्रशिक्षण दिनुका साथै लाइसेन्स नवीकरण नयाँ लाइसेन्स प्रदान गरे।
सिहाना थोकर अमेरिका कराते स्कुल स्थापना गर्ने पहिलो नेपाली हुन्। थोकरले कराते स्कुल स्थापना गरेको १७ वर्ष पछि गत वर्ष देखि च्याम्पियनसिप पनि आयोजना शुरु गरेका हुन्।
















