प्रधानमन्त्री कार्कीको केही दिनभित्र राजीनामा आउँछ : महेश बस्नेत
काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले सुशीला कार्की (सुशीला आमा) लाई राजनीतिक जीवनबाट ‘टाटा बाई–बाई’ गराएर पठाउनुपर्ने बताएका छन् ।
पार्टीको नेसनल युथ भोलेन्टियर फोर्स घोषणा सभालाई सम्बोधन गर्दै उनले सुशीला आमालाई राजनीतिक जीवनबाट टाटा बाई बाई गराउनुपर्ने भन्दै उनलाई छोरा–छोरीसँग बेलायत गएर आफ्नो बिरामी पति र आफ्नो समेत उपचार गरेर आरामदायी जीवन बिताउन पनि भनेका छन् ।
उनले भने, ‘भोली ११ बजे भृकुटीमण्डपमा हामी प्रस्तुत हुँदैछौं । विभिन्न उपत्यका आसपासका जिल्लाहरूबाट आएका एमालेका ६० हजारभन्दा बढी नेता कार्यकर्ता भृकुटीमण्डपमा जम्मा गर्दैछौ । सुशीला आमालाई राजनीतिक जीवनबाट टाटा बाई बाई गराएर छोराछोरीसँग बेलायत गएर आफ्नो बिरामी पति र आफ्नो समेत उपचार गरेर आरामदायी जीवन बिताए हुन्छ ।’
यस्तै, उनले रिटायर जीवन शानदार तरिकाले बेलायतमा गएर बिताउन सुझाव दिँदै उनले राजनीतिमा अचानो नबन्न प्रधानमन्त्रीलाई आग्रह गरेका हुन् ।
उनले भने, ‘राजनीतिले मलाई अचानो बनायो भनी रहनु भएको छ । बिचरा आमै अचानो नबन्नुहोला । रिटायर जीवन शानदार तरिकाले बेलायतमा गएर बिताउनु होला । उतै छोराछोरीको सेवा गर्नु । सरकार चलाउने काम राजनीति दलहरूले गर्ने हो । राजनीति नेताहरूले गर्ने हो, तपाई उतै जानुस् ।’
उनले प्रधानमन्त्री कार्कीले दुई तिन दिनभित्र राजीनामा दिने दाबी पनि गरे । उनले काठमाडौं महानगरका मेयर बालेन शाहले स्टाटस लेखेर देशलाई सङ्कटमा पुर्याउन खोजे पनि अब नेसनल युथ भोलेन्टियर फोर्सले रक्षा गर्ने बताए ।













