औषधिभन्दा बढी प्रभावकारी प्राकृतिक हिँडाइ : डा. खेम अधिकारी
गोबिन्द लेक्स गुरुङ /
कार्लायल, पेन्सिल्भेनिया/ पछिल्लो समय हाइकिङ केवल मनोरञ्जनका लागि सीमित गतिविधि नभई शारीरिक र मानसिक स्वास्थ्य सुधारका लागि अत्यन्त प्रभावकारी व्यायामका रूपमा लोकप्रिय बन्दै गएको छ ।
स्वास्थ्य विज्ञहरूका अनुसार, हरेक हप्ता कम्तीमा एक घण्टाको हाइकिङले शरीर र दिमाग दुवैमा उल्लेखनीय परिवर्तन ल्याउने देखिएको छ । शारीरिक दृष्टिले, हाइकिङले रक्तचाप सन्तुलित राख्न तथा मांसपेशीहरूको बल बढाउन महत्त्वपूर्ण भूमिका खेल्दछ ।
असमान भूभागमा हिँड्नुपर्ने हुँदा शरीरका विभिन्न भाग सक्रिय हुने गर्छन् । बाहिरी वातावरणमा लामो समय बिताउँदा भिटामिन–डी को मात्रा पनि प्राकृतिक रूपमा बढ्ने हुँदा प्रतिरक्षा प्रणाली बलियो हुने विशेषज्ञहरूले बताउँदै आइरहेका छन् ।
मानसिक स्वास्थ्यतर्फ हाइकिङलाई ‘नेचुरल थेरापी’को रूपमा हेरिने गरिएको छ । हरियाली, पहाड, नदी र खुला वातावरणले दिमागमा तनाव कम गर्ने हार्मोन ‘कोर्टिसोल’को स्तर घटाउने अनुसन्धानहरूले पुष्टि गरेका छन् ।

मनोविज्ञहरूका अनुसार, प्रकृतिको नजिक हुँदा मनमा सकारात्मकता बढ्ने, एकाग्रता सुधारिने र चिन्ता तथा डिप्रेसनका लक्षणमा कमी आउने देखिएको छ । खासगरी मोबाइल, काम र दैनिकीको दबाबबाट टाढा भएर केही घण्टा प्रकृतिसँग बिताउन पाए अधिकांश व्यक्तिमा मानसिक स्पष्टता र आत्मविश्वास बढ्ने देखिएको छ ।

अमेरिकाका धेरै समुदायहरूले अहिले हाइकिङलाई सामुदायिक स्वास्थ्य सुधारको माध्यमका रूपमा उपयोग गर्न थालेका छन् । समूहगत हाइकिङहरू आयोजित गरिँदै छन्, जसले समाजमा आपसी सम्बन्ध मजबुत बनाउने, नयाँ साथी बनाउन मद्दत गर्ने र समुदायमा सक्रियता बढाउने कार्य गरिरहेको छ ।
आधुनिक जीवनशैलीले सिर्जना गरेको तनाव, प्रदूषण, शारीरिक निष्क्रियता र मानसिक थकानबिच हाइकिङ आज विश्वभर एक महत्त्वपूर्ण स्वास्थ्य–अभ्यासका रूपमा स्थापित हुँदै गएको छ । पछिल्लो दशकमा पश्चिमी देशहरूमा मात्र होइन, विश्वका विकसित र विकासशील राष्ट्रहरूमा पनि हाइकिङलाई ‘प्राकृतिक औषधि’को रूपमा पुनः मूल्याङ्कन गरिँदैछ ।
पेन्सिलभेनियाको ह्यारिसबर्ग स्थित पेन स्टेट अस्पतालमा फ्यामिली फिजिसियनका रूपमा कार्यरत डा. खेम अधिकारी भन्छन्, “हामीले सोचे भन्दा धेरै स्वास्थ्य समस्याको मूल कारण शरीरको निष्क्रियता र प्रकृतिबाट टाढा हुनु हो। हाइकिङ यसैको सरल तर अत्यन्त शक्तिशाली समाधान हो।”
उनका अनुसार, अस्पतालमा दैनिक जसो देखिने रोगहरूको मूल जरा तनाव, डिप्रेसन, कम हिँडडुल, अनियमित जीवनशैली र शारीरिक निष्क्रियता नै हो। “औषधि मात्र समाधान होइन,” अधिकारी थप्छन्, “प्रकृति, सन्तुलित शरीर र शान्त मन नै दीर्घकालीन समाधान हो।”

भूटानको चिराङमा जन्मिएका डा. अधिकारीले झापास्थित भूटानी शरणार्थी शिविरमा २० वर्ष बिताएका थिए । कठिन परिस्थितिबाट गुज्रिएर अमेरिकासम्म पुगेका उनी अहिले हजारौँ बिरामीका विश्वसनीय चिकित्सक मात्र होइन, प्रकृति प्रेमी र स्वास्थ्य–सचेतना अभियन्ताका रूपमा पनि चिनिन्छन् ।
उनका अनुसार हाइकिङ कुनै सामान्य व्यायाम मात्र होइन, बरु शारीरिक, मानसिक, सामाजिक र भावनात्मक चार वटै स्तरमा फाइदा पुर्याउने बहुआयामिक अभ्यास हो। “सहरिया जीवनका लागि हाइकिङ औषधि हो,”
डा.अधिकारी भन्छन्, “कारण, सहरले मानिसलाई बन्द कोठा, कङ्क्रिट जङ्गल र दिमागी तनावमा सीमित बनाइदिन्छ । प्रकृतिमा एक घण्टा बिताउँदा मस्तिष्क प्राकृतिक रूपमा रिसेट हुन्छ।”
शारीरिक स्वास्थ्यमा हाइकिङको प्रभाव

हाइकिङ गर्दा हृदय सक्रिय हुन्छ, रक्तसञ्चार सुदृढ बन्छ, क्यालोरी बर्न हुन्छ र शरीरका सुस्त मांसपेशी समूह सक्रिय बनाइन्छ । असमान बाटो, उकालो–ओरालो, ढुङ्गा–माटोले शरीरलाई प्राकृतिक जिमजस्तै काम गर्छ ।
डा.अधिकारी भन्छन्, “डायबेटीज, उच्च रक्तचाप, कोलेस्ट्रोल, मोटोपना—यीमध्ये धेरै रोग जीवनशैली सुधारले नै नियन्त्रणमा आउँछन् । हप्तामा दुई पटक एक घण्टा हाइकिङ गरेमा यी धेरै समस्यामा उल्लेखनीय सुधार देखिन्छ।”

हाइकिङले हड्डी र जोर्नी मजबुत बनाउने, क्यान्सरको जोखिम घटाउने र रोग प्रतिरोधात्मक क्षमता बढाउने वैज्ञानिक प्रमाणहरू छन् । विषाक्त वातावरण, धूलो र प्रदूषणमा बस्ने सहरवासीका लागि त झनै लाभदायक ।
मानसिक स्वास्थ्यमा हाइकिङको प्रभाव अझ गहिरो छ र प्रकृतिसँग प्रत्यक्ष सम्पर्कले दिमागमा तनाव हार्मोन ‘कोर्टिसोल’ घटाउँछ। हरियाली, चिसो हावा, पङ्खीको आवाज, सूर्यको प्रकाश र खुला वातावरणले दिमागलाई शान्त बनाउँछ ।

डा. अधिकारी भन्छन्, “हामीले बिरामीहरूमा देख्ने धेरै मानसिक समस्याहरू—चिन्ता, बेचैनी, निद्रानलीया र डिप्रेसन—जीवनशैलीका कारण पैदा भएका हुन्। प्रकृतिमा एक घण्टा हिँड्नु भनेको दिमागलाई पुनः सन्तुलनमा ल्याउने शक्तिशाली प्राकृतिक औषधि हो।”
कुनै उपकरण, मशीन वा विशेष तरिका नचाहिने भएकाले सबै उमेर समूहका मानिसका लागि हाइकिङ उपयुक्त मानिन्छ । चिकित्सकहरू यो अभ्यासलाई अब ‘मेडिकल रिकमेन्डेड आऊटडोर एक्टिभिटी’को रूपमा अगाडि सार्न थालेका छन्।
सामुदायिक जीवनमा हाइकिङको योगदान
अमेरिकामा हाइकिङलाई सामाजिक चिन्तनका रूपमा पनि हेर्न थालिएको छ । परिवार, साथीभाइ, छिमेकी वा समुदायका सदस्यहरूले समूहगत हाइकिङ गर्ने प्रवृत्ति बढेको छ । यसले सामाजिक सम्बन्ध बलियो बनाउने, जनस्वास्थ्य सुधार गर्ने र संस्कृतिको आदान–प्रदान बढाउने काम गरेको छ ।
डा. खेम अधिकारीले भन्छन्, “हामी प्रवासमा बसिरहेका मानिसहरूलाई हाइकिङले समुदायसँग जोडिन्छ। प्रकृतिमा चल्दा मानिस स्वाभाविक रूपमा खुलेर बोल्छ, सिक्छ, र नयाँ सम्बन्ध बनाउँछ। यसले मानसिक स्वास्थ्य र सामाजिक समावेशिता दुवैमा ठूलो योगदान दिन्छ।”
इन्स्पायर टु एक्स्प्लोरले हाइकिङ दिवसको अवसर पारेर आयोजना गरेको हाइकिङमा ४५ जना पैदलयात्रीहरु सहभागी थिए । विश्वका धेरै चिकित्सकहरू अहिले हाइकिङ वा प्रकृतिमा हिँडाइलाई ‘प्राकृतिक उपचार’को रूपमा पुनः अगाडि सारिरहेका छन् ।
औषधिको बढ्दो उपभोग, तनावपूर्ण जीवनशैली र मानसिक समस्या बिस्तारै महामारीजस्तै फैलँदै जाँदा प्राकृतिक जीवनशैलीतर्फ फर्किने प्रयासहरूप्रति स्वास्थ्य क्षेत्रको ध्यान बढ्दो छ ।
समग्रमा, हाइकिङ अब व्यक्तिगत स्वास्थ्य सुधार मात्र नभई सामुदायिक सम्बन्ध, मानसिक शान्ति र जीवनको गहिरो अर्थ खोज्ने मार्गका रूपमा विश्वभर पुनः स्थापित हुँदैछ। प्रकृतिले दिने निःशुल्क ऊर्जा र उपचारलाई स्वीकार गर्दै स्वस्थ र सकारात्मक समाज निर्माणमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
















