जेनजी क्रान्तिले पुस्तान्तरणको आवाज उठाएको छ, यो राम्रो पक्ष हो : पूर्व प्रधानन्यायाधीश श्रेष्ठ
काठमाडौं । सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले जेनजी क्रान्तिले आफूले आफूसँग र आफ्नो पुस्तासँग मात्र होइन पुस्तान्तरणका बीचमा संवाद गर्नुपर्छ भन्ने आयाम थपेको बताएका छन् ।
शुक्रबार काठमाडौं नागरिक समूहद्वारा आयोजित ‘व्यवस्था, अवस्था र निकास’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले जेनजी आन्दोलनले पुस्तान्तरणका बीचमा संवाद गर्नुपर्छ भन्ने एउटा नयाँ दृष्टिकोण बनाएको बताएका हुन् ।
उनले भने,‘यो जेनजी क्रान्तिले एउटा नयाँ आयाम थपेको छ । हामीले संवाद गर्नुपर्छ भन्ने सिकाएको छ । आफूले आफूसँग र आफ्नो पुस्तासँग मात्र होइन पुस्तान्तरणका बीचमा संवाद गर्नुपर्छ । यो एउटा नयाँ दृष्टिकोण बनेको छ ।’
त्यस्तै उनले भदौ २३ र २४ गतेको घटनाले समाजमा विद्यमान रहेको शासनप्रतिको दृष्टिकोण, संविधान कार्यान्वयनको अवस्था र राजनीतिक पद्धतिको कार्यान्वयनको दृष्टिकोण जस्ता व्याप्त निराशालाई छोटो समयमा ट्रिटमेन्ट दिएको बताए । जेनजी आन्दोलनले छोटो समयमा प्रभावकारी रुपमा सन्देश पास गर्नु सकारात्मक पक्ष भएको बताए । छोटो समयमा भएको क्षतिलाई भने शिक्षाको रुपमा लिनुपर्ने उनको भनाई छ ।
उनले भने,‘भदौ २३ र २४ गतेको जुन घटना हो । त्यसले हाम्रो समाजमा विद्यमान रहेको शासनप्रतिको दृष्टिकोण, संविधान कार्यान्वयन र राजनीतिक पद्धतिको कार्यान्वयनको दृष्टिकोण जस्ता व्याप्त निराशाहरू थिए । ती निराशालाई एकैचोटी व्यक्त भए । नसुनिएका कुराहरू नसुनी नहुने रहेछ भन्ने देखायो । छोटो समयमा प्रभावकारी रुपमा सन्देश पास भयो । त्यो सकारात्मक पक्ष हो । छोटो समयमा भएको क्षतिलाई भने शिक्षाको रुपमा लिनुपर्छ ।’
उनले संविधानमा रहेका कमीकमजोरीहरू सच्याउन आवश्यक रहेको बताए ।
त्यस्तै सोही कार्यक्रममा बोल्दै जेनजी अभियन्ता मिराज ढुङ्गानाले कुनै पनि तरिकाले निकास नखोजी निर्वाचनमा जान नहुने धारणा राखे । जुन अवस्थाबाट हाम्रो देश गुज्रेको छ, निकास नखोजी निर्वचनमा जानु त्यसको लागि न्याय नहुने उनको भनाई छ ।














