बानामा जम्बो सल्लाहकार समिति त्यो पनि विधान विपरीत
बाल्टिमोर, मेरिल्याण्ड/ बाल्टिमोर एसोसिएसन अफ नेपालिज इन अमेरिका (बाना) ले आफ्नो सल्लाहकार समिति गठन गरेको छ।
अध्यक्ष जितेन्द्र गुरुङको अध्यक्षतामा नोभेम्बर १० तारिख बसेको कार्यसमिति बैठकले बानाको विधानको धारा ६ बमोजिम (२०२५-२०२८) कार्यकालका लागि सर्वसम्मतिको आधारमा सल्लाहकार पदमा नियुक्त गर्ने निर्णय गरेको जनाइएको छ।
बानाले नेपाली अमेरिकन कल्चरल सेन्टर अफ बाल्टिमोर (एनएसीसी) हिन्दु बुद्ध मन्दिरका सचिव तथा वरिष्ठ पत्रकार तरुण पौडेल, गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिका अन्तर्गत मेरिल्याण्ड च्याप्टरका पूर्व अध्यक्षहरू दुर्गा प्रसाद श्रेष्ठ, डोलनाथ घिमिरे र राजु पराजुलीलाई सल्लाहकार मनोनीत गरेको छ।
यस्तै बाना ट्रस्टी बोर्ड अध्यक्ष प्रभु थापा र निवर्तमान अध्यक्ष सुबोध विलास पन्त पनि सल्लाहकार मनोनीत भएका छन् । त्यो त ट्रस्टी अध्यक्ष र निवर्तमान अध्यक्ष पदेन सल्लाहकार सदस्य हुने व्यवस्था छ।
पर्वत समाज अमेरिकाका अध्यक्ष रबिन शर्मा पनि बाना सल्लाहकारमा मनोनीत भएका छन्। बाना सल्लाहकारमा मनोनीत हुने अन्य व्यक्तिहरूमा श्रीजन उपाध्यक्ष, किरण पन्त, गौतम दाहाल, जगत घिमिरे, मुना शर्मा लामिछाने, अनिल गोदार, विनोद उप्रेती र राजु रामदाम रहेका छन्।
बानाले विधानको धार ६ अनुसार सल्लाहकार समिति गठन गरेको भनेको छ। तर बानाको आधिकारिक वेब साइडमा उपलब्ध विधानमा नौ जनाको सल्लाहकार समिति गठन गर्ने भनिएको छ।

‘सल्लाहकार बोर्डमा इच्छुक पेशेवरहरू, वैज्ञानिकहरू, इतिहासकारहरू, सामाजिक कार्यकर्ताहरू र आवश्यकता अनुसार संस्थाको उद्देश्य र कार्यक्रमहरूलाई समर्थन गर्न अन्य व्यक्तिहरू मिलेर बनेको हुन्छ।‘ विधानको धारा ६ मा भनिएको छ, ‘तिनीहरूले संस्थाको प्रयासका प्रमुख क्षेत्रहरूको प्रतिनिधित्व गर्नेछन् र संस्थाको नीति र गतिविधिहरूको बारेमा सुझावहरू दिन आमन्त्रित र प्रोत्साहित गरिनेछ। बोर्डमा बढीमा नौ सदस्यहरू हुनेछन् जसमा कार्यकारी समितिको तत्काल पूर्व अध्यक्ष र ट्रस्टीको वर्तमान अध्यक्ष समावेश हुनुपर्छ।‘
विधानमा मेरिल्याण्ड राज्यको लागि नेपालको मानार्थ कन्सुलर जनरल समावेश हुनेछन् भनिएको छ। तर १५ सदस्यीय जम्बो समितिमा कन्सुलर जनरलको लागि कोटा छुट्टाइएको छैन्।
बाना अध्यक्ष जितेन्द्र गुरुङले आफूले कुनै गलत काम नगरेको दाबी गरे।
‘हिजो दुई हजार सदस्य हुँदा बनाइएको विधान हो, अहिले पाँच हजार पुगी सके, सदस्य बढे अनुसार हामीले सल्लाहकार समितिको संख्या थपेका हौ।’ समाज टाइम्स सँगको कुराकानीमा जितेन्द्रले भने।
उनले आवश्यकता अनुसार संस्थाकै हितका लागि यो काम गरिएको बताए।
‘हामीले जो जसलाई पदमा ल्याएका छौ उहाँहरू बाल्टिमोरमा चर्चित नाम हो, समाजमा राम्रो काम गरिरहनु भएको छ।’ जितेन्द्रले भने, ’बानालाई राम्रो हुन्छ भनेर नै उहाँहरूलाई ल्याइएको हो, संस्थाको हितका लागि काम गर्न कार्यसमितिलाई अधिकार छ।‘
बाना ट्रस्टीका बोर्डका अध्यक्ष प्रभु थापाले भने विधान विपरीत जानु शोभनिय नभएको बताए।
‘विधान विपरीत नगइदिए हुने भन्ने हो। विधानमा समस्या थियो भने पहिला संशोधन गरेको भए हुने थियो।‘ थापाले भने, ’विधानमा नौ जना भनेर संख्या तोक्दा तोक्दै १५ जनाको कमिटी गठन गरिनु खेदजनक छ।‘
थापाले यो विधान नमान्ने हो भने कुन विधान अनुसार कार्यसमिति चयन भएको हो भनेर प्रश्न समेत गरे।
बानाका वरिष्ठ उपाध्यक्ष जनक थापाले विधान संशोधन गर्ने गरी सल्लाहकार समितिमा संख्या थपिएको बताए।
‘विधान संशोधन गर्ने गरी हामीले सल्लाहकार समिति गठन गरेका हौ।‘ वरिष्ठ उपाध्यक्ष थापाले भने, ’अहिले तत्काल विधान संशोधन गर्ने कुर पनि भएन, हामीलाई सल्लाहकार गठनमा ढिलाइ भयो भन्ने पनि भयो त्यस कारण पछि विधान संशोधन गर्ने गरी कार्यसमितिले निर्णय गरेको हो।‘
बानाको सल्लाहकार समिति कार्यसमिति भन्दा ठूलो भएको छ। बानामा कार्यसमिति १४ सदस्यीय छ। तर सल्लाहकार समिति १५ सदस्यीय बनाइएको छ।
उनले बानामा सदस्य संख्या पनि थपिएको र सबै क्षेत्रलाई समेट्दा सल्लाहकार समिति ठूलो भएको बताए।
‘हामीले विभिन्न किसिमका र क्षेत्रका मान्छेलाई समेट्न पर्ने थियो, जातीय क्षेत्र, शैक्षिक दक्षता आधारमा पनि हामीले जोड्नु पर्ने भएका कारण समिति ठूलो भएको हो।‘
थापाले सल्लाहकार समिति गठन नहुँदा पनि प्रश्न उठेको बताए।
‘धेरै मान्छेले प्रश्न पनि उठायो अहिले सम्म किन चैँ सल्लाहकार नबनाएको भनेर।‘ थापाले भने। अनि विधान अनुसार नौ जना मात्रै किन बनाउन सक्नु भएन भन्ने प्रश्नमा थापाले भने
‘विधानलाई संशोधन गरेर हामी १५ बनाउँछौ त्यही हो हाम्रो निर्णय।‘















