‘जेरी अन टप’ ल्यानक्यास्टर र ह्यारिसबर्गमा शुक्रवार देखि
ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ अमेरिकाका अन्य शहरमा राम्रो व्यापार गर्दै आएको नेपाली कथानक चलचित्र ‘जेरी अन टप’ नोभेम्बर १४ तारिख शुक्रवार देखि पेन्सिल्भेनियाको ल्यानक्यास्टर र ह्यारिसबर्गमा प्रदर्शनमा आउने भएको छ।
‘जेरी अन टप’ चलचित्रका अमेरिकी विक्रेता माया डिजिटलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेश दर्पण पोखरेलका अनुसार रिगल सिनेमामा अन्य अंग्रेजी चलचित्र जस्तै नेपाली चलचित्र पनि हेर्न पाइने छ।
‘जेरी अन टप’ अमेरिकामा अक्टोबर तेस्रो साता देखि प्रदर्शनमा आएको हो। यो चलचित्रले नेपालमा पनि राम्रो व्यापार गरेको थियो।
‘जेरी अन टप’ अक्टोबर २३ तारिख देखि अमेरिकाभर एक सय स्क्रिनमा
‘हलको समस्याले हामी पेन्सिल्भेनियामा केही ढिला भयौ।’ समाज टाइम्स सँगको कुराकानीमा पोखरेलले भने।
पोखरेलका अनुसार दुवै हलमा दैनिक दुई शो लाग्ने छ। ‘त्यहाँका दर्शकले कसरी लिन्छन् त्यही अनुसार कति समय सम्म चलचित्र हलमा लाग्छ भन्ने हो।’ उनले भने, ‘दर्शकले आफूलाई अनुकूल पर्ने दिन र समयमा गएर हेर्न सक्ने छन् । दिन अनुसार समय फरक हुन्छ, त्यो त रेगुलर बक्स अफिसमा चल्ने हो।‘
‘अब एक हप्ता त कन्फर्म चल्छ। त्यसपछि राम्रो भयो भने अर्को हप्ता पनि चल्छ।‘ उनले भने, ‘जसरी अंग्रेजी फिल्महरू चल्छ त्यसरी नै चलन लागेको हो।‘
चलचित्रको टिकट मूल्य पनि दश अमेरिकी डलरको हाराहारीमा हुने पोखरेलले बताए। जेरी अन टपको टिकटका लागि यहाँ क्लिक गरि आउने लिङ्क प्रयोग गर्न सक्नु हुने छ।
पोखरेलका अनुसार ‘जेरी अन टप’ अमेरिकाका ४० शहरमा प्रदर्शनी भएको छ। ‘हाल सम्म एक लाख ५० हजार डलरको व्यापार गरेको छ। चलचित्र राम्रै चलेको छ।’ उनले भने, ‘अहिले चौथो हप्तामा हो, अजै पनि चलिरहेको छ।‘
अहिले पनि न्यु योर्क, बफेलो सहित अमेरिकाका रिगलको आठ हलमा ‘जेरी अन टप’ प्रदर्शन भइरहेको पोखरेलले बताए।
जेरी अन टपमा अनमोल केसी सँगै उनका पिता अभिनेता भुवन केसी, केदार घिमिरे, आँचल शर्मा, जसिता गुरुङ, उषा खड्गी लगायतका कलाकारले अभिनय गरेका छन् । सरोज न्यौपाने प्रस्तुत कर्ता रहेको चलचित्र ‘जेरी अन टप’को निर्देशन सुयोग गुरूङले गरेका हुन् ।
निर्देशक हेमराज विसीले कथा लेखन, विश्वास तिम्सिनाले पटकथा लेखन र दुलीप रेग्मीले छायाङ्कन गरेको उक्त चलचित्र प्रदर्शनका लागि रीच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गरेको हो ।















