अध्यक्षत्वको मोह : अमेरिकी नेपाली समाजको विडम्बना
त्रिविक्रम नेउपाने
अमेरिकाको विशाल भूमिमा फैलिएका नेपाली समुदायहरू अब संख्यामा मात्र होइन, गतिविधिमा पनि सक्रिय भएका छन्। देशदेखि टाढा बसेर पनि आफ्नो संस्कार, भाषा, पहिचान, र आपसी सम्बन्धलाई जोगाउन हामीले अनेकौँ संस्था र सङ्गठनहरू गठन गरेका छौँ। सुरुमा ती संस्था माया, चाहना, र सेवा भावले जन्मिएका थिए ।
कुनैले नेपाली चाडपर्व मनाउने, कुनैले नयाँ पुस्तालाई मातृभाषा सिकाउने, त कुनैले आपत् पर्नेलाई सहयोग गर्ने उद्देश्य बोकेका थिए। तर बिस्तारै त्यो सेवा भावको ठाउँमा अर्को रोग पलायो ‘अध्यक्ष बन्ने’ चाहनाको। अहिले हाम्रो अमेरिकी नेपाली समाजमा यस्तो मानसिकता गहिरिँदै गएको छ, जहाँ अध्यक्षको पद गयो भने नयाँ संस्था खोल्नु स्वाभाविक ठानिन्छ। मानौँ, अध्यक्षत्व भनेको कुनै सामाजिक जिम्मेवारी होइन, बरु व्यक्तिगत अस्तित्व र आत्मसन्तुष्टिको श्रोत हो।
कति विडम्बना हो, एउटै शहरमा यति धेरै संस्था छन् कि कुन संस्थाले के गर्छ भनेर बुझ्न पनि गाह्रो हुन्छ। सबैको नाममा “समाजसेवा” लेखिएको हुन्छ, तर उद्देश्यमा “स्वयंसंवर्धन” लुकेको हुन्छ। कसैले नयाँ अध्यक्ष बनेपछि पुरानालाई बिर्सिन्छ; अनि पुरानालाई आफ्नो अस्तित्व हराएको महसुस हुन्छ। त्यसको परिणामस्वरूप अर्को संस्था जन्मिन्छ पुरानै अनुहार, पुरानै उद्देश्य, तर नयाँ ब्यानर र नयाँ कुर्सी। यो क्रम यस्तो बनेको छ कि अब संस्था खोल्नु सेवा होइन, प्रतिस्पर्धा बनेको छ; र प्रतिस्पर्धा पनि विकासको होइन, ‘पद’ को।
कसैले संस्थामा नयाँ नेतृत्व आयो भने पुरानो अध्यक्षले सोच्दैन कि “अब म सल्लाहकार भएर नयाँ पुस्तालाई मार्गदर्शन गर्छु।” बरु उसले सोच्छ “अब त म अध्यक्ष होइन, मेरो नाम हरायो।” अनि सुरु हुन्छ अर्को अध्याय असन्तुष्टि, विभाजन, र नयाँ संस्थाको दाबी। यस्तो लाग्छ, ‘अध्यक्ष’ शब्दले कुनै जादुई प्रभाव पार्दो रहेछ, जसले मानिसलाई सेवा होइन, स्वामित्वको नशा दिन्छ। पद गुम्दा मानौँ आत्मा नै हराएझैँ पीडा हुन्छ, र त्यो पीडालाई शान्त पार्न मानिसले नयाँ संस्था खोलेर आफूलाई फेरि ‘अध्यक्ष’ भनेर सम्बोधन गराउने उपाय निकाल्छ।
तर के त्यही संस्थाले समाजलाई फाइदा पुर्याएको छ? के त्यहाँ सेवा छ, कि केवल फोटो सेसन र सोशल मिडियाको प्रदर्शन? कार्यक्रम अघि ब्यानर टाँसिन्छ, कार्यक्रममा केही तस्बिर खिचिन्छ, अनि फेसबुकमा लेखिन्छ —“सफल कार्यक्रम सम्पन्न।” तर त्यही कार्यक्रममा साँचो योगदान कसले गर्यो भन्ने कुरा कहिल्यै चर्चा हुँदैन। अब संस्था ‘सामाजिक उत्थान’ भन्दा पनि ‘सामाजिक पहिचान’ को माध्यम बनेका छन्। जोसुकै पनि समाजमा देखिन चाहन्छ, तर योगदान गर्न होइन, देखिनका लागि।
अमेरिकी नेपाली समाजको यो रोग केवल पद मोह होइन, यो आत्म परिचयको सङ्कट हो। नेतृत्वको मापन अब कामले होइन, कुर्सीले हुन्छ। जो कुर्सीमा छ, ऊ ठूलो; जो छैन, ऊ विस्मृत। यही सोचले गर्दा समाजमा ‘सहकार्य’ होइन, ‘विभाजन’ बढेको छ। एउटै उद्देश्यका सय वटा संस्था, तर एउटै उद्देश्यमा सय वटा मन विभाजित। यो दृश्य दुखद मात्र होइन, लाजमर्दो पनि हो। हामीले आफ्नो देशमा देखेका विभाजित राजनीतिक प्रवृत्तिहरू अहिले विदेशको समाजमा पनि जरा गाडिरहेका छन् । पदका लागि लडाइँ, नेताका लागि आक्रोश, र उद्देश्यको बिर्साइ।
तर नेतृत्व भनेको कुर्सी होइन, चेतना हो। अध्यक्ष हुनु जिम्मेवारी हो, प्रदर्शन होइन। नेतृत्व त्यो हो जसले अरूलाई अघि बढ्न प्रेरित गर्छ, जसले नयाँ पुस्तामा आत्मबल जगाउँछ, जसले आफ्नो नाम होइन, आफ्नो योगदान अमर पार्छ। तर यहाँ त नेतृत्वको परिभाषा उल्टिएको छ ।जसले सबैभन्दा ठूलो आवाज निकाल्छ, जसले सबैभन्दा धेरै ‘कार्यक्रम’ गर्छ, र जसले आफ्नो नाम सबैभन्दा ठूलो अक्षरमा लेख्छ, ऊ ‘सक्रिय’ ठानिन्छ।
अमेरिकामा रहेका हाम्रा नेपाली समुदायले अब यो बुझ्न जरुरी छ कि समाज सेवा पदले होइन, उद्देश्यले हुन्छ। संस्था धेरै भएर होइन, उद्देश्य ठूलो भएर समाज बलियो बन्छ। पद गुम्दा सेवा गुम्दैन; तर सेवा हराएपछि पदको अर्थ रहँदैन। आज हामीले यो मानसिकता फेर्न सकेनौँ भने, हाम्रो समाज अरूको आँखामा हाँसोको विषय बन्नेछ।
अन्ततः साँचो कुरा यो हो कि पद क्षणिक हो, तर काम स्थायी। ‘अध्यक्ष’ बन्नु महान् होइन, ‘अध्यक्षजस्तो सोच राख्ने’ बन्नु महान् हो। समाजमा सम्मान पदले होइन, कर्मले आउँछ। त्यसैले अब हामीले आफ्नो चेतना भित्र परिवर्तन ल्याउन जरुरी छ पदको होइन, उद्देश्यको लत बसोस्।
कुनै दिन हामी सबै गर्वका साथ भन्न सकौँ “हामी पदका होइनौँ, उद्देश्यका मान्छे हौँ। हामी टुक्रिएका होइनौँ, एउटै समुदायका सन्तान हौँ।” जब यो सोच हाम्रा मनमा स्थायी हुन्छ, तब मात्र अमेरिकी भूमिमा नेपाली समाजले साँच्चिकै आफ्नो गौरव पुनर्जीवित गर्न सक्छ।
(लेखक नेउपाने पेन्सिल्भेनियाको ल्यानक्यास्टर निवासी हुन्। उनी गजलकार हुन्।सं.)















