नेपाली भाषी भुटानीहरूको पहिचान: विगत, वर्तमान र भविष्यको यात्रा – एक प्रस्तावनाः
पृष्ठभूमिः
भाषा मानव समाजको मुख्य सञ्चार माध्यम हो जसले विचार, भावना र सांस्कृतिक पहिचानको आदानप्रदान गर्दछ । आवाज र प्रतीकहरूको व्यवस्थित प्रणालीका रूपमा भाषाले श्रव्य संकेतहरूमार्फत अर्थ सम्प्रेषण गर्दछ । भाषाको सम्बन्ध यादृच्छिक हुँदैन; सामाजिक रूढी र सहमतिका आधारमा शब्द र संरचना तय हुन्छन् । भाषा सृजनशीलता, परिवर्तनशीलता र ज्ञानको वाहाक हो — नयाँ शब्दहरू आउँछन् र पुराना लोप हुन्छन् । यो भाषा विज्ञानको पुर्वोत्तर सभ्यता नै हो । भाषाले शिक्षा, सामाजिक सम्बन्ध र सांस्कृतिक निरन्तरता सुनिश्चित गर्दछ । मानव जैविक अङ्ग तथा मस्तिष्कको विकासले भाषालाई सम्भव बनाएको देखिन्छ । अन्ततः भाषा व्यक्तिमा र समाजमा पहिचान र सहभागिता दुबैको मूल आधार हो ।
जनसङ्ख्याका आधारमा भुटानमा अहिले पनि सबैभन्दा धेरै नागरिकले बोल्ने र बुज्ने भाषा देवनागरी लिपिको नेपाली भाषा हो । जोङ्खा भुटानको राष्ट्रिय भाषा भए पनि नेपाली भाषाको तुलनामा कम नागरिकले बुज्ने भाषा हो । भुटानमा नेपाली भाषा सातौँ शताब्दीदेखि मौखिकरूपमा र १३औँ शताब्दीदेखि व्यापक रूपमा चलनमा रहेको बताइन्छ । सातौँ शताब्दीपछि नेपाली भाषा भुटानमा नेपाली भाषी भुटानीहरूको अलवा देशका अधिकांश नागरिकहरूको सञ्चारको मूल आधार नै थियो जुन भुटानको एक चौथाई जनसङ्ख्याको मातृभाषा हुनुका साथै नेपाली भाषा ९० प्रतिशत भुटानीहरूको अहिले पनि सञ्चारको भाषा हो । राजधानी थिम्पुमा करिब २ लाख बढी मानिस नेपाली बोल्न र बुझ्न सक्छन् । नेपाली भाषी भुटानीहरूले आफ्नो भाषा र संस्कृतिलाई सञ्चारको एक मात्र आधारका रूपमा भुटानभर भाषा र संस्कृति फैलाएका हुन् ।
भुटानमा नेपाली भाषाको उपस्थिति लामो समयदेखि रहेको छ, जसको इतिहास वाङचुक राजवंशभन्दा पनि धेरै पुरानो मानिन्छ । कालान्तरमा नेपाली भाषा सरकारी कामकाजको अनिवार्य माध्यम बन्न पुग्यो । दक्षिण भुटानमा चिठीपत्र र कासो नेपाली भाषामै लेखिन्थे । सन् १९६० को दशकदेखि विद्यालयहरूमा कक्षा ८ सम्म नेपाली भाषाको पठनपाठन अनिवार्य गरिएको थियो । सन् १९८९ को “एक देश, एक जनता” नीतिका कारण नेपाली भाषा र संस्कृतिलाई पाखा लगाइयो, जसले गर्दा धेरै नेपाली भाषी भुटानबाट विस्थापित हुन पुगे । विद्यालयहरूमा नेपाली भाषाको पठनपाठन बन्द भए पनि, पछिल्लो पुस्ताले पनि नेपाली भाषा बोल्न जानेको छ, तर लेख्न भने जान्दैन । भुटानको नेपाली भाषाका जरामा सन् १९९० को दशक यता पानी पुग्न छाडेको कुरा सर्वविदितै छ । हाल नेपाली भाषी भुटानीहरूको भाषाको स्थिति विभिन्न कारणले गर्दा जटिल बनेको छ । भुटानभित्र हेर्दा लाग्छ राष्ट्रिय नीति र सांस्कृतिक पहिचानका चुनौतीहरू प्रमुख छन् तर फर्केर नेपाली भाषी भुटानीहरूको डायसपोरामा जाने हो भने अरू नै कारणहरू देखिन सक्छन् ।
नेपाली साहित्यको विकासक्रमः
नेपाली भाषी भुटानीहरूले लेख्ने नेपाली साहित्य तीहरूको मातृभाषाको साहित्य हो । नेपाली भाषी भुटानीहरूको भाषाको स्तर ग्रामिण भएकाले यहाँको साहित्य पनि विश्वविद्यालय स्तरको नभर ग्रामिण स्तरको हुने गरेको बताइन्छ तथापि व्यकरण, पुर्वीय तथा पाश्चात्य साहित्य दर्शन, मौलिकता, प्रवृत्ति लगायतका विश्वव्यापि मुल्याङ्कन कसीहरूमा खार्ने हो भने नेपाली साहित्यको मुल प्रवाहमा लेखिने भन्दा कम पाइन्न नेपाली भाषी भुटानीहरूको साहित्यको स्तर । चामलमा अलिअलि कनिका र बियाँ त जहाँ पनि रहन्छ तर नेपाली साहित्यको नाङ्लोमा नेपाल, भारत, वा नेपाली भाषी भुटानी डायसपोरा समान राख्ने हो भने फरकपना प्राकृतिक पक्षमात्र रहन्छन्, विश्वास गर्न सकिन्छ । नेपाली भाषी भुटानीहरूको नेपाली साहित्यको विकासक्रमलाई तीन खण्डमा राखेर मुल्याङ्कन गर्दा सहज हुन मेरो बुजाइ छ । सन् १९६० को दशकदेखि भुटानमा नेपाली भाषा साहित्यको औपचारिक लेखन कार्य सुरु भएको मानिन्छ । शरणार्थी शिविरमा रहँदा नेपाली भाषी भुटानीहरूको नेपाली भाषा र साहित्य निकै धेरै कारणले पनि विशेष रह्यो । सन १९९३ देखि २०११ सम्मको अवस्थालाई एउटा छुट्टै खण्डमा अध्यायन गर्दा विशेष हुने मेरो ठहर छ । तेस्रो देश पुगेका नेपाली भाषी भुटानीहरूको भाषा साहित्यको स्तरको एउटा फरक मोड बनेको हुनाले फाल्टै खण्डका रूपमा अध्ययन हुन जरूरी छ म ठान्दछु ।
प्रारम्भिक चरण सान १९९३सम्म्
सन् १९३० मा प्रकाशित दक्षिण भुटानका प्रशासक गर्जमान गुरुङको वंशबारेको पुस्तिका भुटानको पहिलो नेपाली साहित्य कृति मानिन्छ । म यहाँ कसलाई पहिलो बनाउने भन्नेमा नरहेर कसरी उठान भएको थियो सन्दर्भ उठाइरहेको छु । सन् १९५० तिर गुरूङको उक्त नेपाली कविता राष्ट्रगानका रूपमा प्रयोग हुन्थ्यो ।
१९७० को दशकमा देवीभक्त लामिटारेको राजनीतिक लेख “दन्किँदो भुटान” (१९७०) र “कुम्भपर्व, हिमाचल दर्शन” जस्ता कृतिहरू प्रकाशित भए । दन्कदो भुटान भुटानी प्रजातन्त्रका लागि जागरूक गराउन र सरकारविरुद्ध लेखिएको पहिलो राजनीतिक ऐतिहासिक कृति थियो र भुटानभर आज पनि प्रतिबन्धित छ । यस दशकमा नेपाली साहित्य लेखनतर्फ केही तर निकै वजनिला कृतिहरू प्रकाशन भएका पाइन्छन् ।
१९८० को दशकमा नारायणप्रसाद लुइँटेलको “नारायणोपदेश”, गौरीशङ्कर अधिकारीको “हिमाल कविता सङ्ग्रह”, “शङ्कर महाकाव्य”, हरि अधिकारीको “सामाजिक चिन्तन र सांसारिक चिन्तन”, र घनश्याम रेग्मीको “कल्पत्रयी खण्डकाव्य” जस्ता पुस्तकहरू प्रकाशित भए । यस दशकमा पनि अझ परिष्कृत र खारिएका कृतिहरू आए ।
शरणार्थी शिविरको नेपाली साहित्य (१९९३देखि २०११सम्म)
भुटानबाट विस्थापित भएपछि नेपालीभाषी भुटानीहरूले शरणार्थी शिविरहरूमा पनि भाषा अध्ययन र साहित्य साधना तथा सिर्जनालाई निरन्तरता दिए । सन् १९९३ मा नेपाली भाषा परिषद्, भुटानको गठन गरियो र वार्षिक पत्रिका “भुटानी कोपिला” प्रकाशन शुरू भयो । साहित्य परिषद्ले शरणार्थी शिविरमा नेपाली भाषा अध्ययन र साहित्य साधना प्रवर्धनमा अभिभावकीय दायित्व बहन गरेको हो ।
पुनर्वासपछिको भुटानी नेपाली साहित्य (२०११ पछि)
पुनर्वास सुरु भएपछि नेपाली भाषी भुटानीहरूको जीवनमा नयाँ मोडमा पुगेको देखिन्छ । शरणार्थी शिविरमा जन्मिएर हुर्केको साहित्य परिषद् भुटान पनि डायस्पोरामा पुगेका नेपाली भाषी भुटानीहरूमाझ पुनः विस्तार भयो । अन्लाइन प्रकाशन मञ्चहरू स्थापनासँगै नेपाली भाषी भुटानीहरूको साहित्यको माहोल डायसपोरामय विस्तारमा गएको भान हुन्छ । इतिहास र विरासत बोकेको भए पनि युवापुस्ताप्रति साहित्य परिषद् भुटान निरपेक्ष देखिए पछि विश्व भुटानी साहित्यिक सङ्घको स्थापना हुन पुग्छ । २०२५ सम्म आइपुग्दा एकातिर विरासतसहितको ऐतिहासिक विगत र अर्कोतिर सम्भावनासहितको भविष्य भएकाले विभाजित छ नेपाली भाषी भुटानीहरूको साहित्यिक वर्कत । साहित्य परिषद भुटान र विश्व भुटानी साहित्यिक संघका अलवा पनि केही साना र केही क्षेत्रीय गरी आधा दर्जन जति संस्थागत साहित्यिक अस्तित्वहरू त देखिन्छन् तथापि पनि एउटा पृथक डायसपोरामा स्थापित भइसकेका नेपाली भाषी भुटानीहरूको नेपाली भाषा र साहित्य विस्तारै सामाजिक रूपमा बेवास्ता हुँदै गरेको हामीले जगजाहेर अनुभूत गरेकाछौँ । विज्ञ र दक्ष पिँढी साहित्य साधनामा निश्क्रिय छ, माहोल विभाजित छ, मर्यादाक्रम मर्दै छ, लेखिएका कृतिहरू बढीमा स्तरहीन र भ्रामक छन् र नवपिँढी नेपाली भाषा र साहित्यप्रति झुकाव राखिरहेको छैन । यो हो हाम्रो वर्तमान तर विगत यस्तो थिएन । अब सबैले एकसाथ भनौँ भविष्य कस्तो होला ?
अबको बाटो, स्वर्ग जाने बाटो होः
अप्राप्य कुराको चाह स्वर्ग हो भने पनि नेपाली भाषी भुटानीहरूले जीवन्त विरासत र सिङ्गो विगतको लगानी गरेको नेपाली भाषा र साहित्यको उन्नयनमा सगोल लाग्नु पर्छ । सहकार्यको अपेक्षा राखेर विलय भोगिरहेका २०० स्रष्टाहरूको माहोल चिरा चिरा पार्ने नेपाली भाषी भुटानीहरूको वर्तमान अधोगति र विसर्जन उन्मुख रहेको देखिन्छ । विरासत भविष्यतिर सगोल लक्ष लिएर जाने कुरा अहिले कल्पनामात्र गरिने गरेको छ । फलफुलको अपेक्षा गरी रूख, हाँगा वा माटोको दावी भन्दा माथि उठेर अहिले बोटमा पानी लगाउनु पर्ने छ । त्यस तर्फ ध्यानाकर्षण गराउँदै निम्ति कुराहरू भद्र, सौहार्द, र हृदयभाव सहित प्रस्तुत गर्दै मनन र चिन्तनको अपेक्षा गर्दछु ।
- भाषा साहित्यको सगोल माहोल निर्माण वर्तमानको जटिल आवश्यकता हो । स्वधर्मिता तथा विद्वानहरूको मिलेमतोको घेरावन्दीमा ३३ वर्ष देखि विद्यामान विरासत भएको साहित्य परिषद भुटान अहिले पनि नेपाली भाषी भुटानीहरूको श्रीपेच तथा साहित्यिक धरोहर ठान्दछ । अर्कातिर शुरूमा युवाहरूको जोसमा वौदिक नश्लबाटै हावादारीको खेति गरेको विश्व भुटानी साहित्यिक संघ विस्तारै नेपाली भाषी भुटानीहरूको भाषा साहित्यको अग्रगमनको परञ्जय त बन्दै छ । यी दुबैले आफ्नो परमाङ्गी विर्सिएर कहाँ पुग्लान त भन्ने विषयले घनचक्कर हानिरहन्छ । पलायनता र विश्वीकारणका भुलभुलैमा फसेर रणभुल्ल सहन विवश अरू केही साहित्यिक व्यक्ति तथा समुहहरूको धरातल जन्मा २०० स्रष्टा वरिपरि घुम्ने हो नेपाली भाषी भुटानीहरूको डायसपोरा । उभिनु पर्ने पहिचान सहित हो, प्रतिनिधित्व सहित हो, सगोल हो तर भइरहेका वैमनस्यता, र भाँडभैलो हेर्दा काम कुरो एकातिर कुम्लोबोकी ठिमीतिर भन्ने लाग्नु पर्ने तर्फ ध्यानाकर्षण ।
- नेपाली भाषी भुटानीहरूको विगत अस्तित्व थिएन तर हामीले आफ्नो भाषा र साहित्यका क्षेत्रमा भने अस्तित्व निर्माणका खातिर अनवरत लगानी र काम गरिरहेको हामीले स्वीकार्नै पर्छ । विगतबाट अनुभवमात्र लिन सकिन्छ । अनुभव र सिक्षाको श्रोत विगतसँग भएकाले विगतसँग साक्षाकार भएकाहरूसँग समकालिनता नखोजी ससम्मान सहकार्य गरी विगतका संस्थागत गतिविधिहरू, घटनाक्रमहरू र उपलब्धीहरूको उचित मूल्याङ्कन गरिनु पर्छ । कसैलार्इ देवत्वकरण र कसैलार्इ दुम्सीकरण गरिने परिपाटीले विरासत र भविष्य छायामा पर्ने छ र हामी त्यही गर्न हौसिरहेका छौं । विगतको मुल्याङ्कन नभएको वर्तमान एउटा खाडल हो । यस्तो खाडलको निवारण सगोल माहोलको भद्र उपस्थिति र प्रतिनिधित्वबाटमात्र सम्भव छ भन्ने तर्फ ध्यानाकर्षण ।
- त्याग, वलिदान, समर्पण, अध्यायन, सीर्जना, र साधनाले वर्तमानसम्म हामी सफल छौं । विगतमा मनसावाचाकर्मणा भाषा र साहित्यको हितमा समर्पित ठूलो जमात अहिले निश्क्रियप्राय छ । भोलि भविष्य समाउनु पर्ने पुस्ता नेपाली भाषी भुटानीहरूको भाषा र साहित्य तर्फ आकर्षितसम्म छैन । विगतलार्इ सशक्तिकरण गर्न र भविष्यलार्इ आकर्षित गर्न हामी सगोल माहोल निर्माणको विपक्षमा उभिने हैसियतमा छैनौं भन्ने तर्फ ध्यानाकर्षण ।
- सगोल माहोल निर्माण गरी सामर्थ्य, कमजोरी, अवसर, र चुनौतिहरूको पहिचान गरी तीहरूको मुल्याङ्कन, स्तरीकारण, व्यस्थापन, र कार्यान्वयनमा भुमिका, योगदान, मर्यादा, सार्थकता, व्यवहारिकता, र पारदर्सिताका मूल्य र मान्यताका आधारमा पहिचान मुखरित गरी सगोल माहोल स्थापना गरी समावेशी र बहुलता सहितको अग्रगमन तय गरिनु पर्छ भन्ने तर्फ ध्यानाकर्षण ।
- सगोल संस्थागत माहोल निर्माण अहिलेको अपरिहार्य अवस्था हो । यो नेपाली भाषी भुटानीहरूको विगत, वर्तमान, र भविष्यले समानन्तर अपेक्षा गरेको आवश्यकता हो । ३३ वर्ष लगाएर जोगाएको हाम्रो साझा पहिचानको रूखका जरामा पानी नपुगेको वर्तमानमा हामीले साहित्यको फलफुलको व्यापारको परिकल्पना भन्दा माथि उठेर समुहकरण, त्याग, र सगोल माहोल निर्माणका विषयमा सोच्नुको विकल्प छैन । त्यसको शुरूवात साहित्य परिषद भुटान र विश्वा भुटानी साहित्यिक संघ लगायतका संस्था र यिनका बाहालवालाहरूले त्यागौं, बाँचौं र बचाऔंको सिद्धान्त अनुरूप स्तर उन्नति र क्षेत्र विस्तार सहित विनासर्त एउटै सगोल संस्था निर्माण गरी उचित प्रतिनिधित्व सहितको माहोल निर्माण गर्न हामीलार्इ ढिलो भइसकेको छ । सगोल माहोलको प्रतिनिधित्व सहितको संस्था हासिल भएपछि यी निम्न कामहरू अबिलम्ब गर्न सकिन्छ ।
- सगोल माहोल नेपाली भाषी भुटानी डायसपोराको विगत, वर्तमान, र भविष्यको आवश्यकता हो पुष्ठी गर्न सकिन्छ ।
- घर घरमा वा समुह वा समाजमा जहाँ जहाँसम्भव हुन्छ, नेपाली भाषा पढाउने र सामुहिक अध्यायन गर्ने माहोलको विकास तथा प्रवर्धन गर्न सकिन्छ ।
- नेपाली भाषी भुटानी डायसपोराका २०० स्रष्टासँग भएको दक्षता, विज्ञता, समय, र मिलेमतो एउटा सगोल अस्तित्व उभिन्छ । त्यस पछि सामर्थ्य, कमजोरी, अवसर, र चुनौतिहरूको भाषा र साहित्य हितका निम्ति सगोल शक्तिका रूपमा प्रयोग गर्न सकिन्छ ।
- जम्मा २०० स्रष्टाहरूको एउटै कार्यक्षेत्र, लक्ष एकै, र सगोल माहोल तयार भए पछि भाषाको व्यपिकरण र साहित्यको स्तरीकरणमा कर्मठ भएर दीर्घकालिन काम गर्न सकिन्छ । सगोल माहोलका साखा हामी आवश्यकता अनुसार डायसपोराव्यपि बनाउन सक्छौं । प्रकाशनका कामहरू भाषिक गुणस्तर र साहित्यिक उचाइका बनाउन सक्छौं । अब त हामीले धेरै अगाडि परिकल्पना गरेको नेपाली भाषी भुटानीहरूको स्कलर्ली जर्नल बनाउन सक्छौं ।
- सगोल माहोल प्रतिनिधित्व, पहिचान, तथा दक्षता सहितको संस्था तयार भए पछि हामी भुटान र डायसपोरामा भएको नेपाली भाषी भुटानीहरूको भाषिक तथा साहित्यिक भविष्य पहिचान गरी यावत पक्षहरू उपर दीर्घकालिन र सार्थक कामहरू गर्न सक्छौं ।
- हामी जान्दछौं एक थुकी सुकी र सय थुकी नदी र फुटेर सकिन्छौ र जुटेर फैलन्छौं हामीलार्इ थाहा पनि छ । त्यसो भएको हुनाले पनि २०० स्रष्टाहरूको एउटा सिङ्गो डायसपोरा हाम्रो विगत, वर्तमान, र भविष्य हो ।
समापन
भुटानमा नेपाली साहित्यको औपचारिक लेखन १९६० को दशकबाट सुरु भयो । शरणार्थी शिविरहरूमा पनि नेपालीभाषी भुटानीहरूले आफ्नो भाषा र साहित्यको विकासलाई उर्बर निरन्तरता दिए । सन् १९९३ मा नेपाली भाषा परिषद् भुटानको गठन भयो । पुनर्वासपछि नेपालीभाषी भुटानीहरूको साहित्य डायसपोरामा विस्तार भयो, जहाँ अनलाइन प्रकाशन मञ्चहरूको स्थापना भयो ।
नेपाली भाषी भुटानीहरूको भाषा र साहित्यको अवस्था अहिले जटिल मोडमा छ, विशेषगरी पुनर्वासपछि । भुटानबाट निष्कासित भएर विश्वभर छरिएका नेपाली भाषी भुटानीहरूले आफ्नो भाषा र साहित्यको पहिचान जोगाउन निरन्तर संघर्ष गरिरहेका छन् । भुटानमा एक समय नेपाली भाषीको सङ्ख्या उल्लेख्य भए पनि सन् १९८९ को ‘एक देश, एक जनता’ नीतिका कारण नेपाली भाषा र संस्कृतिलाई पाखा लगाइयो ।
अनुभव र विज्ञताले खारिएको ठूलो जमात निश्क्रिय रहनु, नयाँ पुस्तामा नेपाली भाषा – साहित्यप्रति झुकाव कम हुँदै जानु, संस्थागत विभाजन र लेखिएका कृतिहरूको स्तरमा प्रश्न उठ्नु चिन्ताको विषय हो । भविष्यमा नेपाली भाषा र साहित्यको संरक्षणका लागि सबै स्रष्टा र संस्थाहरू एकजुट भई सगोल माहोलमा सहकार्य गर्नु अपरिहार्य छ ।
इति
पुरानाघरे
सिन्सिनाटी ओहायो
(अमेरिकाको पेन्सिल्भेनिया राज्यको ह्यारिसबर्ग नोभेम्बर ८ तारिख शनिवार सम्पन्न साहित्य परिषद् भुटानको ११ औ सम्मेलनका प्रस्तुत सं.)
र यो पनि…
हाम्रो आफ्नो नारायण गोपाल को हो? हाम्रो भक्तराज को हो? : आर पी सुब्बा















