अमेरिकी राजनीतिमा विनिता पुरी राईले रचिन इतिहास
ह्यारिसबर्ग,पेन्सिल्भेनिया/ नोभेम्बर ४ तारिख, रातको साँढे ११ बजेको थियो। ह्यारिसबर्ग स्थित स्वातारा टाउनसिपमा रहेको इन्डियन करी रेस्टुरेन्टको हलमा आफ्ना समर्थ र शुवेच्छुकहरुलाई सम्बोधन गर्न विनिता पुरी राई मन्च चढिन्।
स्वातारा टाउनसिप आयुक्त पदका लागि मंगलवार सम्पन्न चुनावको मतगणनाको अन्तिम नजिता आइसकेको थिएन। यद्यपि विनिता सहित डेमोक्रयाटिक पार्टीका अर्का उम्मेदवार बेन डगलस निर्वाचित हुने लगभग निश्चित भइरहेको थियो।
‘अघि विनय जीले भनी सक्नु भएको छ, म अलिकति भावुक भएको छु, सबै कुरा मेरा तर्फ आइरहेको छ, सर्वप्रथम सबैलाई धन्यवाद दिन चाहन्छु मेरो मन देखि, आज हाम्रो विजय भएको दिन।‘ विनिताले त्यति भन्दा नभन्दै उनको पछाडि रहेको ठूलो पर्दामा अन्तिम नजिता अद्यावधिक भयो।
‘दशमा दश’ दर्शक दीर्घामा रहेका कसैको आवाज आयो।
‘यहाँ हेर्नुस्, मेरो नाम आउना साथ’, पछाडि रहेको ठूलो पर्दातिर फर्कँदै विनिताले भनिन् ‘टेन अप दि टेन, दिसइज दि विनर।‘ (दशमा दश यो विजय हो)
‘ओके आइएम सो ह्याप्पी’ (म धेरै खुसी छु) त्यस पछि विनिताको गला बस्यो। उनी एकाएक भक्कानिइन।
‘हामीले गर्यौ, हामीले गर्यौ’ केही समय रोकिए पछि उनी बोलिन्।
फेरि पनि उनलाई बोल्न कठिन भयो। हलमा उपस्थितहरूले उनलाई प्रोत्साहन गरिनै रहे।
केही समय पछि उनी फेरि बोल्न थालिन।
हुन पनि त्यो हलको माहौल, स्तब्ध तर उल्लासपूर्ण थियो।
हलमा रहेका विनिताका पिता देउराज पुरी आफै पनि यो सपना हो किन भन्दै थिए।
नहोस् पनि किन्। उनीकी प्यारी कान्छी छोरी तेक्वान्दो प्रशिक्षक विनिता पुरी राई अव स्वातारा टाउनसिपको नवनिर्वाचित आयुक्त भइन।
विनिता जति बेला ६ वर्षकी थिइन। देउराजले डोहोर्याउदै विनितालाई तेक्वान्दो खेल्ने ठाउँमा पुर्याएका थिए।
अमेरिकामा तेक्वान्दोको अर्को “इनिङ्ग”शुरु गर्दै बिनिता
तिनै विनिता आज विश्वको सर्वशक्तिमान् मुलुक अमेरिकाको जन निर्वाचित प्रतिनिधि । अझ त्यो भन्दा गौरवको कुरा विनिता अमेरिकामा नेपाली भाषी भुटानी समुदायबाट पहिलो महिला जनप्रतिनिधि।
उनको यो यात्रा सजिलो थिएन। पेन्सिल्भेनिया ‘स्विङ स्टेट’ । गत वर्षको चुनावमा राष्ट्रपति डोनाल्ड ट्रम्पले बाजी मारेको। स्वातारा टाउनसिपमा पनि विनिताका प्रतिद्वन्द्वी रिपब्लिकन पार्टीका थिए। दुवै जना बहालवाला आयुक्त । दुई पदका लागि चार जनाको भिडन्त।
आगामी चार वर्षको कार्यकालका लागि सत्ता पक्ष र प्रतिपक्षको भिडन्त । कुल १२ हजार आठ सय ५२ मत खस्दा, डेमोक्रेटिम पार्टीका बेन डगलस २७ दशमलव ६५ प्रतिशत अर्थात ३५ सय ५४ मत पाएर पहिलो भए । विनिता राई २६ दशमलव ८७ प्रतिशत अर्थात ३४ सय ५३ मत सहित दोस्रो हुँदै विजयी भइन्।
प्रतिद्वन्द्वी रिपब्लिकन पार्टीका माइकल टकी २९ सय ३६ मत । २२ दशमलव ८४ प्रतिशत र क्रिस्टिन जुबेक २८ सय ९४ मत । २२ दशमलव ५२ प्रतिशत ल्याए।
यस अगाडि विनिताको परिचय । भुटान हुँदै नेपालको शरणार्थी क्याप्पमा संघर्ष गरेको। उनी तेक्वान्दो खेलाडी । अमेरिका आए पछि तेक्वान्दोले उनको जीवन फेरिदिएको थियो।
अमेरिकामा तेक्वान्दोले फेरिदिएको बिनिताको जीवन (भिडियो)
दुई सन्तानकी आमा । श्रीमती। बुहारी । यी सबै जिम्मेवारीलाई कुशलता पूर्वक पुरा गर्दै उनले तेक्वान्दो स्कुल खोल्ने आँट दुई वर्ष अगाडि गरेकी थिइन।
विनिताको आट अमेरिकामा खोलिन तेक्वान्दो स्कुल
विनिताको भाग्य ? उनको हिम्मत र मेहनत । जहाँ उनले आट गरिन त्यो पुरा भएकै छ। उनी भुट्नीज कम्युनिटी अफ ह्यारिसबर्ग (बीसीएच) को उपाध्यक्ष पनि निर्वाचित भइन।
भुट्नीज कम्युनिटी ह्यारिसबर्गको बोर्ड बैठक :विनिता पुरी राई उपाध्यक्षमा निर्वाचित
विनिताले वर्षको शुरुमा स्वतारा टाउनसिपको आयुक्त पदमा उम्मेदवारी घोषणा गरिन।
विनिता पुरी राईद्वारा स्वातारा टाउनशिप कमिश्नरमा उम्मेदवारी घोषणा
त्यो बेला धेरै ले जिब्रो टोकेका थिए। समाजका केही अगुवाहरूले होच्याए पनि। उनकै नजिक रहेका केही पदाधिकारीले त्यो पदमा आफ्नो दाबेदारी रहने भन्दै कुदेको पनि सुनियो।
आयुक्त टोम कोलनी जसले विनितालाई यो यात्राको बाटो देखाएका थिए। अलि पछि भुट्नीज कम्युनिटी अफ ह्यारिसबर्ग (बीसीएच) पूर्व अध्यक्ष विनय लुइँटेल विनिताको चुनावी मोर्चाका कमान्डरको रुपमा देखिए।
तेक्वान्दो प्रशिक्षक बिनिता अमेरिकी स्थानीय सरकारका लागि चुनावी मैदानमा
समाज सेवी तथा व्यवसायी विश्व क्षेत्रीले हस्तेमा हैँसे गरे। विनिताका केही साथीहरू चुनावी घरदैलोमा निरन्तर खटे। ह्यारिसबर्गमा नेपाली भाषी भुटानी समुदायको बाक्लो उपस्थिति छ। तर जनपरीक्षण गर्ने हिम्मत भने बिनिताले गरिन। सायद उनलाई लागेको थियो, एउटा अगाडि बढ्नु पर्छ, समाजले साथ दिन्छ।
तर विनिताले जे सोचेकी थिइन सायद त्यो पाइनन्।
वाच पार्टीमा (अमेरिकामा उम्मेदवार/ समर्थकहरूले चुनावी नतिजा कुर्ने पार्टी गर्नुलाई वाच पार्टी भनिन्छ।) विजयी घोषित भए पछि उनी साथीहरूलाई अँगालो हाल्दै धेरै बेर रोइन। उनका आँखाबाट आँसु बरबर झरेका थिए।
बिनिताले आफ्नो पिडा त्यो आँसुमा झारेकी थिइन्। आँसुमा मात्र होइन उनले शब्दमा पनि व्यक्त गरिन्।
‘आज म यहाँ मेरा सबै समर्थकहरू, मेरा सबै स्वयंसेवकहरूको कारणले छु जसले पहिलो दिनदेखि नै समर्थन गरिएको छ। मलाई थाहा छ म धेरै भावुक छु। म मेरो हृदयदेखि धन्यवाद दिन चाहन्छु र आज तपाईँहरू सबैबाट आभारी छु।‘ विनिताले भनिन्।
उनले धन्यवाद सँग सँगै अलिकति आक्रोश पनि पोखिन्।
‘तर जसरी आज मैले साथ पाए तर यो भन्दा धेरैको साथ मलाई आशा थियो है तर जो जति जना यहाँ हुनुहुन्छ जो जति जना बिहाइन्ड द सिन हुनुहुन्थ्यो र हिजो सम्म म साँच्चै सोचिरहेको थिएँ कि मसँग कुनै स्वयंसेवक छैनन् तर विनय जी मसँग तपाईँको लागि कुनै शब्द छैन।‘ विनिताले भनिन्।
‘किनभने जहाँ आफ्नो परिवार छैन जहाँ आफ्नो साथीभाइ छैन छैन त्यहाँ र जहाँ आफ्नो धन सम्पत्ति छैन त्यहाँ केही हुँदैन रहेछ।‘ उनले महिनौँ लामो चुनावी अभियानको दुख एकै खेपमा पोखिन, ’ आज मैले यो ठाउँमा उभिएर भन्दै छु मेरो कोही छैन मेरो कोही छैन म धनी मान्छे होइन तर अब म स्वातारा टाउनसिपको कमिश्नर बनेको छु त्यसैले विनय जी आज मेरो कोही छैन तर तपाईँ सधैँ मेरो हृदयमा रहनुहुनेछ।‘
‘एउटा आज इतिहास रचेको छ यो यस्तो अमेरिका जस्तो ठाउँमा आएर पनि एउटा छोरी मान्छेले विजय हासिल गरेको दिन हो यो।‘ विनिता बिस्तारै सम्हालिँदै थिइन्।
हुन पनि, जे भयो भयो, अब उनी जनप्रतिनिधि हुन्। अब उनले मलाई कसले भोट दियो, कसले दिएन, कसले सहयोग गर्यो कसले गरेन भन्ने छुट छैन्।
लामो समय नेपालको शरणार्थी शिविरमा शिक्षक पेशामा रहेका विनिताका पिता देउराज पुरीलाई जत्तिको खास कुरा अरू कसलाई थाहा होला।
‘मलाई आसा छ छोरीले एक्लै नभर टिमबाट निर्णय गरेर काम गरेर देखाउने छ।’ देउराज पुरीले छोरीलाई फेरि डोहोर्याए । जसरी तीस वर्ष अगाडि विनितालाई डोहोर्याउदै क्याप्प नजिकै लगेका थिए तेक्वान्दो खेलाउन।
विनितालाई अहिलेको यो ठाउँमा पुर्याउन तेक्वान्दोले धेरै मद्दत गरेको छ।
‘छोरीले नजित्दा पनि इतिहास रचेकै थियो,यो छोरीको मात्र जीत होइन, यो टिमको जित हो।‘ देउराजले कुरा प्रष्ट पारिदिए।
विनिता अलमलमा ढाडस दिएका बीसीएच पूर्व अध्यक्ष विनय लुइँटेलले पनि भनिदिए ‘यो दौड बिनिताको लागि थियो, तर यस्तो लाग्छ कि म दौड जित्दै छु र म यो कोठामा भएका प्रत्येक व्यक्तिलाई यो कुरा प्रतिध्वनित गर्न सक्छु।‘
‘हाम्रो समुदायले गर्वका साथ भन्न सक्छ कि यो केवल विनिताको जित मात्र होइन, यो हाम्रो सबैभन्दा ठूलो जित हो।‘ विनयले अगाडि थपे, ’त्यसैले म अहिले बोल्दै गर्दा म धेरै भावुक छु र म मेरा केही साथीहरूसँग कुरा गरिरहेको थिएँ कि यस्तो चुनावमा हामी हाम्रो २५% मात्र दिन्छौँ। कल्पना गर्नुहोस्, यदि हामी सबैले हाम्रो ऊर्जा र समर्पणको १००% दिन सक्छौँ भने हामीले के हासिल गर्न सक्छौँ।‘
विनितालाई अमेरिकी मूलधारको राजनीतिमा ल्याउने स्वातारा टाउनसिपका आयुक्त टम कोलनीले उनको जित अविश्वसनीय, ऐतिहासिक भएको बताए।
‘यो अविश्वसनीय छ। नेपाली समुदायमा आजको मैदानी खेल एकदमै अविश्वसनीय थियो। मानिसहरूले यसलाई आउने वर्षौँसम्म नक्कल गर्नेछन्।‘ टमले भने, ‘नगरपालिकाको चुनावमा सामान्यतया मतदान नगर्ने समुदाय आज सयौँको संख्यामा अविश्वसनीय उम्मेदवारहरूलाई समर्थन गर्न बाहिर निस्कियो।‘
टम स्वातारा टाउनसिपको राजनीतिमा एक सफल राजनीतिज्ञ बनेका छन्।
‘म सन् २०१५ मा चुनाव जित्दा दश जनाको बोर्डमा म एक्लो डेमोक्रयाट थिए, अहिले पाँच जनाको बोर्ड छ र हामी सबै जना डेमोक्रयाट भएका छौ।’ टमले भने।
उनकी छोरी शैला एलिस टाउनसिपको अध्यक्ष छिन्।
‘आज राति निर्वाचित दुई नयाँ डेमोक्र्याटहरूसँग आयुक्त बोर्डमा सेवा गर्न पाउँदा म गर्व गर्नेछु। र म यहाँ स्वातारा टाउनशिपमा नेपाली भुटानी समुदायलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु।‘ टमले थपे, ‘तपाईँले सबैका लागि अनुसरण गर्न उदाहरण स्थापित गर्नुभएको छ। यो एक ऐतिहासिक रात थियो र हामी यहाँबाट अगाडि बढ्छौँ।‘
वाच पार्टीमा सहभागी भएका अर्का आयुक्त शेन स्टीलले विनिताको जित टाउनशिपको समृद्ध इतिहासको सबैभन्दा ऐतिहासिक घटना भएको बताए।
‘डेमोक्र्याटिक पार्टीको इतिहासमा यो पहिलो पटक हो कि सुपर बहुमत भएको छ। तर अझ महत्त्वपूर्ण कुरा भनेको एक अफ्रिकी-अमेरिकी र एक भुटानी नेपालीको टाउनशिप बोर्ड अफ कमिश्नरमा उन्नति हो।‘शेन स्टीलले भने ।













