अमेरिकामा आज चुनावको दिन, तपाईँले भोट गर्नु भयो ?
ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ अमेरिकामा आज (४ नोभेम्बर) विभिन्न राज्य तथा स्थानीय तहका पदका लागि मतदान भइरहेको छ।
आजको चुनाव राष्ट्र-स्तरको कुनै राष्ट्रपति/कङ्ग्रेस निर्वाचन होइनन् तर “अफ-इयर” मा हुने राज्य तथा स्थानीय निर्वाचन हुन्।
केही राज्यमा गभर्नर, मेयर, सर्वोच्च अदालतका न्यायाधीश, काउन्टी र टाउनसिपका पदाधिकारी लागि चुनाव भइरहेको हो।
भर्जिनिया र न्यु जर्सीमा गभर्नरका लागि चुनाव हुँदै छ । न्यु योर्क राज्यको न्यु योर्क सिटीमा मेयरको लागि चुनाव हुँदैछ, जसले धेरै चर्चा पाएको छ।
पेन्सिल्भेनियामा राज्य उच्चतम अदालत (स्टेट सुप्रिम कोर्ट) को केही न्यायधीशहरुका लागि चुनाव हुँदै छ।
स्थानीय मेयर वा काउन्टी/सिटी पदका लागि चुनाव हुँदा समुदायका दृष्टिले आफ्नो आवाज सुनिन सक्ने अवसर हुन्छ — वहाँ जहाँ नेपाली/भुटानी समुदायको संख्या ठुलै छ, त्यहाँ मतदान महत्त्वपूर्ण हुन्छ।
पेन्सिल्भेनिया राज्यको डाउपीन काउन्टी अन्तर्गत स्वातारा टाउनसिप आयुक्त पदमा नेपाली भाषी भुटानी विनीता पुरी राई चुनावी मैदानमा छिन्।
न्यु योर्क सिटीको मेयरको चुनाव अहिले निकै चर्चामा छ। उम्मेदवारहरूमा जोहरान ममदानी (डेमोक्र्याट/सोशलिस्ट), एन्ड्रयू कुओमो (स्वतन्त्र) तथा कर्टिस स्लिवा (रिपब्लिकन) रहेका छन्। कुओमो पहिला न्यु योर्क राज्यको गभर्नर थिए।
भर्जिनियामा गभर्नरको चुनाव आज प्रमुख रुपमा छ। अबिगेल स्प्यानबर्गर डेमोक्र्याटबाट उम्मेदवार छन्। यस्तै विन्सम अर्ल सियर्स रिपब्लिकनबाट उम्मेदवार छन्।
धेरै ठाउँमा बिहान ७ बजेदेखि मतदान शुरु भएको छ । मतदान केन्द्रमा जाँदाका लागि फोटो आइडी वा मतदान परिचय पत्र लैजानु होला ।














