कमल गौतमको आकस्मिक निधनपछि उठेको प्रश्न : के कोरोना खोपको असर हो ?
प्रवीण भट्टराई
बिहीबार नेकपा एमाले निकट मजदुर संगठन जनफन्टका केन्द्रीय उपाध्यक्ष कमल गौतम भैरहवामा भएको एक कार्यक्रममा बोल्दा बोल्दै एक्कासि भुईँमा लडे । त्यस लगत्तै उनलाई मणिग्रामस्थित क्रिमसन अस्पताल लगिए पनि डाक्टरले उनलाई मृत घोषित गरे ।
भैरहवास्थित विद्युत् प्राधिकरणको कार्यालय अगाडि ट्रंकलाइन विवादमा उद्योगहरूमा विद्युत् लाइन काटिएको विरोध कार्यक्रममा उद्योगी र मजदुरले गरेको विरोध प्रदर्शनमा उनी भाषण गर्दा गदै बेहोस भएर ढलेका थिए । अचानक मुटु चल्न बन्द हुँदा अर्थात् हर्ट अरेस्ट भएर उनको मृत्यु भएको डाक्टरहरूले बताएका छन् ।
नेपालमा पछिल्ला वर्षहरूमा युवादेखि वृद्धसम्म अचानक मृत्यु, विशेष गरी हृदयाघात वा निद्रामा नै मृत्यु हुने घटनाबारे जनचासो बढ्दो छ । यस्ता घटनाहरूपछि धेरैले कोरोना भाइरसविरुद्ध लगाइने निःशुल्क खोपसँग यसको सम्बन्ध हुन सक्छ कि भन्ने प्रश्न उठाएका छन् ।
तर, गौतमको मृत्युमा भने कोरोनाकै खोपको असर हो वा होइन यस विषयमा भने अहिले यसै भन्न सकिन्न । उनले कोरोना खोप लगाएका थिए कि थिएनन् । यदि लगाएकै थिए भने पनि उनको मृत्यु पछाडि त्यही कारण थियो कि थिएन यस विषयमा लामो अध्ययन जरुरी होला ।
तर, विश्वव्यापी अध्ययनहरूका आधारमा हेर्दा, कोभिड सङ्क्रमणले हृदयसम्बन्धी समस्याहरू जस्तै मायोकार्डाइटिस, पेरिकार्डाइटिस, हार्ट फेल्योर र अतलता बढाउन सक्छ भन्ने प्रमाण पाइन्छ । यद्यपि, खोप लगाइसकेपछि पनि केही दुर्लभ घटनामा, विशेष गरी युवा पुरुषहरूमा, मायोकार्डाइटिस वा पेरिकार्डाइटिस जस्ता समस्या देखिएको छ । तर ती घटनाहरू अत्यन्तै कम र प्रायः अस्थायी हुने गरेका छन् ।
नेपालमा भएका केही अध्ययनहरूले खोपपछिका सामान्य असरहरू (जस्तै थकान, टाउको दुख्ने, ज्वरो आदि) मात्र देखाएका छन् । तर गम्भीर वा जीवन–जोखिम हुने असरका प्रमाणहरू अहिलेसम्म भेटिएका छैनन् ।
तर जस्तै, बुटवल वा नेपालका अन्य ठाउँमा युवा उमेरमै बोल्दै–खेल्दै गर्दा अचानक ढल्ने वा निद्रामा नै मृत्यु हुने घटनाहरू ,नेपालमा स्थानीय तहमा यस्ता घटनाहरूको वैज्ञानिक अध्ययन र पोस्ट–मोर्टम विश्लेषण गर्न जरुरी देखिन्छ । जसले गर्दा युवा मृत्युदर र सम्भावित कारणहरूबारे यथार्थ जानकारी दिन सक्छ ।
कोभिड १९ विरुद्ध विश्वका विभिन्न मुलुकहरूमा लगाइएको खोप विश्व स्वास्थ्य संगठन बाट प्रमाणित तथा अनुमति प्राप्त भएको बताइएको छ । हालसम्म विश्व स्वास्थ्य संगठन वा स्वास्थ्यकर्मीहरुले उक्त खोपद्वारा मानव स्वास्थ्यमा जटिल समस्याहरू निम्त्याएको बारेमा कुनै रिपोर्टहरू सार्वजनिक गरेका भने छैनन् ।
तर, नेपालमै पनि अधिकांश मानिसहरूले उक्त खोप लगाए पश्चात् आफ्नो स्वास्थ्यमा विभिन्न खालका समस्याहरू उत्पन्न भएको बताएका छन् । कोभिड विरुद्धको दुई डोज खोप लगाएका एक व्यक्तिले यो आलेख तयार पार्ने क्रममा आफ्नो अनुभव सुनाएका थिए । उनले भने अुसार खोप लगाएको केही समय भित्रै उनको स्वास्थ्यमा अनेक किसिमका समस्याहरू उत्पन्न भएको रहेछन् ।
लामो समय हिँड्न समस्या हुने, जिउ दुख्ने, शरीरमा ह्वाइट बल्डको मात्रामा कमीहुने र रक्तचाप अनियन्त्रित हुने खालको समस्या उत्पन्न भएको उनको अनुभव छ । यस्तो समस्याहरू धेरै जनाले भोग्दै आएका छन् । यस विषयमा विभिन्न स्वास्थ्य सम्बन्धी संघसंस्थाहरुले अध्ययन अनुसन्धानहरू गरिरहेका छन् । तर, हाल सम्म रिर्पोटहरु भने सार्वजनिक भइसकेका छैनन् ।
यदि स्थानीय समुदायमा यस्ता घटना बारम्बार देखिँदैछन भने, जिल्ला स्वास्थ्य कार्यालय वा नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) लाई जानकारी गराई अनुसन्धानको माग गर्नु उपयुक्त हुन्छ ।
साथै, व्यक्तिगत रूपमा पनि स्वास्थ्य परीक्षण गराउँदै हृदयसम्बन्धी जोखिमहरू (जस्तै मुटुको धड्कनमा अनियमितता, छाती दुख्ने, थकान) देखिए तुरुन्त चिकित्सकको सल्लाह लिनु जरुरी छ । नेपालका युवामाझ यस्ता घटनाहरूको ढाँचा बुझ्न दीर्घकालीन अध्ययन र स्वास्थ्य अभिलेखको सूक्ष्म विश्लेषण अत्यावश्यक भएको स्पष्ट देखिन्छ ।
लेखक भट्टराईले क्लिनिकल मनोविज्ञान विषयमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका छन् ।














