बाल्टिमोर हिन्दु बौद्ध मन्दिरमा पहिलो पटक छठ पूजा
बाल्टिमोर, मेरिल्याण्ड/ अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा अवस्थित हिन्दु बौद्ध मन्दिरमा सोमवार छठ पूजा आयोजना गरिएको छ।
बाल्टिमोरको हिन्दु बौद्ध मन्दिरमा छठ पूजा आयोजना गरिएको यो पहिलो पटक हो। मन्दिर परिषरमा रहेको पोखरी र वरपर सजावट सहित पूजा स्थल बनाइएको हो।
छठ पर्व सूर्य देव र छठी मैयाको उपासना गर्ने एक हिन्दु चाड हो, जुन कार्तिक शुक्ल चतुर्थीदेखि सुरु भई षष्ठीको दिन समापन हुन्छ।
यस पर्वमा व्रतालुहरूले सूर्य देवलाई अर्घ्य दिएर परिवारको कल्याणको कामना गर्छन्। यसको विधिहरूमा नहाय-खाय (स्नान र भोजन), खरना (एक छाक सात्विक भोजन), अस्ताउँदो सूर्यलाई अर्घ्य (साँझ) र उदाउँदो सूर्यलाई अर्घ्य (बिहान) पर्छन्।
केही दशक अगाडि सम्म छठ पर्व नेपालको तराई मधेशमा धूमधाम सँग मनाउँदै आइएकोमा पछिल्ला वर्षहरूमा काठमाडौँ उपत्यका र देशका अन्य भागमा पनि मनाइँदै आइएको छ। यसै गरी अमेरिकामा सहित विभिन्न देशमा रहेका नेपालीले पनि छठ पर्व मनाउँदै आएका छन्।
बाल्टिमोर मन्दिरमा भएको छठ पूजामा नेपालमा तराई मधेश बाहेक अन्य क्षेत्रमा बसोबास गर्ने नेपालीहरूको पनि उलेख्य उपस्थिति थियो।
बाल्टिमोर एसोसिएसन अफ नेप्लीज इन अमेरिका (बाना) वरिष्ठ उपाध्यक्ष जनक थापाले आफूले जीवनमै पहिलो पटक छठ पूजामा सहभागी भएको र रमाइलो लागेको बताए।
यस्तै हिन्दु बुद्ध मन्दिर सञ्चालन गर्दै आएको नेपाली अमेरिकी सांस्कृतिक केन्द्र बाल्टिमोर (एनएसीसी) का सचिव तरुण पौडेलले संस्थाको उद्देश्य अनुसार नै मन्दिरमा छठ पूजाको आयोजना गरिएको बताए।
‘हामीले नेपालमा मनाइने सबै चाड पर्व मन्दिरमा नै मनाउन पर्छ भनेर त्यही अनुसार कार्यक्रम गर्दै आएका छौ र यो पटक देखि छठ पूजा पनि समावेस गरिएको हो।’ समाज टाइम्स सँगको कुराकानीमा पौडेलले भने।












