नौ वर्षमा पहिलो पटक ह्यारिसबर्गमा ‘स्टेट’ चढे गायक सशीत केसी
ह्यारिसबर्ग,पेन्सिल्भेनिया/ पछिल्लो नौ वर्ष देखि पेन्सिल्भेनियाको ह्यारिसबर्गमा बसोबास गर्दै आएका गायक सशीत केसी पहिलो पटक साङ्गीतिक प्रस्तुतिका लागि स्टेट चढेका छन्।
आइतबार साँझ आयोजित दुर्गेश थापाको लाइभ अगाडि सशीतले प्रस्तुति दिएका हुन्। सशीत ‘इथोस ब्यान्ड’ को गायक हुन र उनले एकल गीत पनि गाएका छन् ।
उनको ‘टोलाइ बस्छु’ ‘गल्ती मेरो छैन’ लगायतका चर्चित गीत छन्।
सशीत सन् २०१६ देखि ह्यारिसबर्गमा बस्दै आएको भए पनि पहिलो पटक आइतबार स्टेटबाट लाइभ प्रस्तुति दिएका हुन्।
व्यवसायमा व्यस्त रहेका सशीत गत महिना देखि स्टेटमा देखिन थालेका हुन्।
झन्डै एक दशक पछि अघिल्लो महिना भर्जिनियामा भएको दशै तिहार महोत्सवमा सशीत र सञ्जय चौधरीले एक साथ स्टेजमा लाइभ प्रस्तुति दिएका थिए।
त्यस पछि आइतबार ह्यारिसबर्गमा दुर्गेश थापा अगाडि उनले सशितले प्रस्तुति दिएका हुन्।
केटीएम इभेन्टको सिइओ समेत रहेका सशीत ह्यारिसबर्गको डेरी स्ट्रिटमा रहको केटीएम बाइट्सका संचालक पनि हुन्।
‘अमेरिका आए पछि शुरु शुरुमा खै किन हो गाउनै मन लागेन तर अब म फर्किए भन्दा मिल्छ।’ आइतबारको प्रस्तुति पछि सशीतले समाज टाइम्स सँग भने,’विवाह पछि शुरुमा घर व्यवहारले पनि अलिक व्यस्त बनायो।’
उनले यो बीचमा आफ्नो परिचय गोप्यै राखेको बताए। ‘मलाई चिन्ने साथीहरूले म अमेरिका आए देखि नै स्टेटमा प्रस्तुति दिनका लागि बोलाउनु हुन्थ्यो तर खै किन किन माहौल नै बनेन, मैले यो बीचमा गायक भन्दा पनि व्यवसायीकै रुपमा आफूलाई चिनाए।’ सशीतले भने ।
सशीतले सात वर्षको अन्तराल पछि सन् २०२२ मा ‘भनेर त हेर’ गीत ल्याएका थिए। सशीत पप र रक शैलीको सङ्गीतको लागि परिचित छन्।












